रोजाइमा सरसफाइ केन्द्र

तोलाकान्त बगाले

वालिङ,८ फागुन– आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाइ केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन यही ठाउँमा गर्दै आइरहेको छ ।

सुन्दा नि अचम्म लाग्न सक्छ । देशका कतिपय ठाउँमा फोहरमैला व्यवस्थापन समस्या र चुनौतीका रुपमा आइरहँदा वालिङमा भने फोहरमैला व्यवस्थापन गरिएकै ठाउँमा पिकनिक खाने तथा घुम्न जानेको घुइँचो हुने गरेको छ । फोहरमैला व्यवस्थापन गर्नका लागि बस्ती आसपासमा जग्गा नदिने र विवाद भइरहँदा यहाँ भने फोहरमैला व्यवस्थापन गर्ने स्थानमा नै पिकनिक र घुम्नका लागि मानिसहरु जाने गरेका हुन् ।

दिनहुँ बजारबाट सङ्कलन गरिएको फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा पिकनिक खाने तथा घुम्न आउनेको लर्को लाग्ने गरेको छ । जो कोहीलाई पत्यार पनि नलाग्न सक्छ बजारको कुहिने नकुहिने फोहर लगेर फाल्ने ठाउँमा जान त नाक, मुख छोप्नुपर्छ । अझ पिकनिक भन्ने प्रश्न उब्जिन्छ । तर यही पत्यार नलाग्ने कुरालाई गर्न सकिन्छ भन्ने उदाहरण वालिङमा छ ।

फोहरमैला व्यवस्थापन कतिपय सहरमा चुनौतीकारुपमा देखिइरहेका बेला वालिङमा भने सरसफाइ केन्द्रमै पिकनिक खाने र घुम्न जाने बढ्दै गएका छन् । सरसफाइ केन्द्रमै गएर पकाएर खाने वा घरमै पकाएका खानेकुरा त्यहाँ लगेर खाने बढ्दै गएका हुन् । विभिन्न क्लब, आमा समूह, सामुदायिक तथा संस्थागत विद्यालयले यस ठाउँमा देखाउन वा पिकनिक खान लैजाने गरेका छन् ।

सरसफाइ केन्द्रमा पिकनिक गएकामध्ये तमु समाज मिर्दी खरिबोट समूहका सहभागी भोजराज गुरुङले सरसफाइ केन्द्रमा गन्हाउँछ, दुर्गन्धित हुन्छ भन्ने भ्रमलाई चिर्दै पिकनिक खान गएको बताउनुभयो ।

“देशका कतिपय सहरमा फोहर मैलाको उचित व्यवस्थापन नहुँदा समस्या बनिरहेको छ”, उहाँले भन्नुभयो, “फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा पनि के को पिकनिक खाने हो ? गन्ध आउँछ होला भनेर हाम्रै समूहमा पनि केही प्रश्न उठेका थिए, त्यस्तो होइन सफा छ भन्ने सन्देश अन्यत्र दिन पनि पिकनिक गरेका हौँ ।”

वालिङ–८ बिपीचोकस्थित प्रभात आमा समूहकी सहसचिव विष्णु बगालेले पनि फोहरमैला व्यवस्थापन गरेको ठाउँमा नपुग्दासम्म गन्ध आउने, प्रदूषित होला भन्ने सोंचाइमा हुनुहुन्थ्यो । जब त्यहाँ पुग्नुभयो फरक पाएको बताउनुभयो ।

“आँधीखोलाको किनारमा रहेको समथर भूभाग र त्यसमा निर्माण गरिएको सरसफाइ केन्द्रमा पुग्दा राम्रो लाग्यो”, उहाँले भन्नुभयो, “फोहरमैला व्यवस्थापन गर्नका लागि बनाइएको ठाउँ यति राम्रो र घुम्न लायक होला भन्ने लागेको थिएन जब गए तब फरक पाएँ ।”

सरसफाइ केन्द्र परिसरभित्र पक्की सडक र दायाँबायाँ हरियो दुबो तथा फूलहरु रोपिएको छ । यो ठाउँ वालिङ नगरवासीको आकर्षक ठाउँ भएको र यहाँ वालिङसहित अन्यत्रबाट पनि पिकनिक खान, वर्थडे मनाउन, फोटो खिच्न, टिकटक बनाउन आउने गरेका उहाँले बताउनुभयो ।

कुहिने, नकुहिने, सिसाजन्य तथा दिसाजन्य लेदो व्यवस्थापन गर्दै आएको उक्त ठाउँको अध्ययन अवलोकनका लागि वालिङको सरसफाइ सिकाइ केन्द्रकारुपमा विकसित भइसकेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

फोहरमैला व्यवस्थापनसँगै सोही ठाउँलाई ‘पिकनिक स्पट’ कारुपमा अगाडि बढाउने योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो । कुहिने फोहरबाट कम्पोष्ट मल, नकुहिने फोहरलाई वर्गीकरण गरी बिक्री गर्ने र पुनःप्रयोग गर्ने तथा सिसाजन्य फोहरलाई बिक्री गरी नगरपालिकाले आम्दानी गर्दै आइरहेको छ । दिसाजन्य लेदो व्यवस्थापनको प्लान्ट सञ्चालन गरी कम्पोष्ट मल तथा बायोग्यास उत्पादनका लागि काम भइरहेको छ ।

“बजारबाट सङ्कलन गरिएको फोहरमैला व्यवस्थापनका लागि कतिपय ठाउँमा जग्गा नै उपलब्ध नहुने अवस्था छ”, उहाँले भन्नुभयो, “दुर्गन्धित हुन्छ, गन्हाउँछ भन्ने भएर होला तर हाम्रोमा फोहरमैला व्यवस्थापन गर्ने ठाउँमा नै पिकनिक खान सकिने गरी ठाउँ बनाएका छौँ, अझै केही पूर्वाधार थप गर्दै जाने तयारीमा छौँ ।”

सरसफाइ केन्द्रमा देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकनका लागि विभिन्न कार्यालय, सङ्घसंस्था तथा समूह आउने गरेका छन् । सरसफाइ केन्द्रमा दैनिक डेढ देखि दुईसय जना घुम्न तथा पिकनिक खान आउने गरेका उहाँले बताउनुभयो ।

श्रवण कुमारका अन्धाअन्धी बुवाआमाको आँसुबाट बहेको ‘आँधीखोला’ को किनारमा वालिङ–१ मजुवामा निर्माण भएको सरसफाइ केन्द्रमा वालिङ नगरपालिकाले दैनिक कुहिने, नकुहिने फोहरमैला सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ । सोही केन्द्रमा सिसाजन्य फोहरलाई बिक्री गर्दै आएको छ । दिशाजन्य लेदोको प्लान्ट सञ्चालन गरी बायोग्यास तथा कम्पोष्ट मल निकाल्ने काम अगाडि बढेको छ ।

नगरपालिकाले फोहरमैला व्यवस्थापन गरी रु २४ लाख आम्दानी गर्न सफल भएको छ । व्यवस्थापन गर्न नजाने फोहर हो भने व्यवस्थापन गर्न जाने आम्दानीको स्रोत हो भन्ने कुरा वालिङ नगरपालिकाबाट सिक्न सकिन्छ ।

“यहाँका घरघरमै कुहिने र नकुहिने फोहरलाई घरधनीले छुट्टाछुट्टै भाँडोमा राख्नुहुन्छ”, उहाँले भन्नुभयो, “कुहिने फोहरलाई कुहिने गाडीमा र नकुहिने फोहरलाई नकुहिने गाडीमा सङ्कलन गरी सरसफाइ केन्द्रमा लगेर थप वर्गीकरण गरिन्छ ।” कुहिनेलाई कम्पोष्ट मल र नकुहिने तथा सिसाजन्य फोहरलाई वर्गीकरण गरेर बिक्री गरिन्छ ।

ताजा

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो

२०८० चैत्र ३० गते, शुक्रबार

जंगलमा लागेको आगो गाउँमा पसेपछि ढिकिडाँडामा १ घर सहित ४ गोठ जल्याे

२०८० चैत्र २७ गते, मंगलवार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार

निशुल्क शिक्षाको प्रावधान भित्रका केहि लुप्त चुनौतिहरु

२०८० चैत्र २५ गते, आईतवार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे

२०८० चैत्र २५ गते, आईतवार

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको सपथ

२०८० चैत्र २५ गते, आईतवार

गल्याङ महाेत्सव चैत ३० देखि हुने

२०८० चैत्र २४ गते, शनिबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal