कार्की दम्पतीलाई छोएन चुनावले
काठमाडौं,४ मङ्सिर– बर्दिया ठाकुरद्वार–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनु भएकाे छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ ।
देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएको छैन । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै हुनुहुन्छ उहाँहरु मुलुक चलाउने सिंहदरबार नजिकै । “भरपेट खाएर आनन्दको निद्रा सुत्नु छ”, कार्की दम्पतीले एकै स्वरमा सुनाउनुभयो ।
निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रम व्यस्त हुनुहुन्छ । उहाँहरुलाई हामीले सोध्यौँ, “भोट हाल्न किन नजानुभएको ?”
“मतदाता नामावली गाउँतिरै छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेनन् । कसैले खबर गरेको भए जाने थियौँ ।”
बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आउनुभएको छ । भोट हाल्न गाउँ नगइ राजधानीमा सङ्घर्षरत कार्की दम्पतीले दैनिक रु. एक हजार आठ सयदेखि रु. दुई हजारसम्म आम्दानी गर्नुहुन्छ ।
“छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्”, कार्कीले भन्नुभयो, “हामी बुढाबुढीलाई पेट पाल्न मजदुरी गर्नुपरेको छ ।” कार्कीलाई यसपटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन । तर मेसो नमिलेको उहाँको भनाइ छ ।
कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मुलुकभर मतदान चलिरहेका बेला उहाँ भने काठमाडौंको रामशाहपथमा पिठ्यूँमा गह्रौ झोला बोकेर हिँडिरहनुभएको छ । उहाँलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो । तर आफ्नै समस्याका कारण गाउँ जान सक्नुभएन ।
“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिनँ, घर जान धेरै पैसा लाग्छ,” उहाँले भन्नुभयो, “कसैले जाउँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।”
धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्दै आउनुभएको रहेछ । चुनावका दिन गाडी नचल्ने भएपछि उहाँ ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाउनुभयो ।
“आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्यो होला”, उहाँले भन्नुभयो, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”
धामी जस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैदलै हिँड्नुभएको छ । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आउनुभएको रहेछ । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गर्नुभएका उहाँहरु बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताउनुभयो ।
निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ । सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरुलाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट वञ्चित भएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामती कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका वृद्धाश्रमलाई समेटेको भए पनि पेशा व्यवसाय गरेका सर्वसाधारणलाई समेट्न सकेको छैन ।
अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रुपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ । तर हाम्रोमा निर्वाचन कानुनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ ।रासस
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















