विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

गण्डकी,२८ भदौ– लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे ।

कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ । फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ । परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन ।

यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो । पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो ।

खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खिरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताउनुभयो ।

“पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ ।” 

पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ । विभिन्न रोग प्रतिरोधात्मक कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन् ।

मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ । विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताउनुभयो ।

कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ । नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ । नेपालका विभिन्न स्थानमा प्राचीनकालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालका कणाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषक बताउँछन् । पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नका रूपमा समेत लिने गरिन्थ्यो । असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकाले यसलाई अनिकालको अन्न भन्ने गरिएको हो । कागुनोको भात, खिर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सीसमेत बनाउन सकिने यो बाली बाँझिएका जग्गामा लगाउन सके स्थानीयको आयआर्जन बढाउन सकिन्छ ।

कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताउनुभयो । “हाम्रा बाँझिएका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउनुहुने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो ।

लीला आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घर–घरमा सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  शिक्षक प्रितम देवकोटाले बाँझिएका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा राख्नुभयो ।रासस

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal