सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’
कृष्ण न्यौपाने
दमौली,२८ जेठ- पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धसिं मार्ग कालोपत्र गर्न लागिएको हो । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अधिकृत दधिराज पौडेलले उक्त सडकखण्डमा कालोपत्रका लागि टेण्डर निकालिएको जानकारी दिनुभयो । प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले यस वर्ष उक्त सडकका लागि रु ४६ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
“प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेको छ, नीति तथा कार्यक्रममा पनि समावेश भएको छ,” विश्वकर्माले भन्नुभयो, “पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने यो बाटो स्तरोन्नतिमा प्रदेश सरकार प्रतिबद्ध छ ।” चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारी साधन पार गर्न मिल्दैन । “घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिएको छैन,” उहाँले भन्नुभयो ।
विसं २०७५ माघमा सम्झौता भएको पुल विसं २०७८ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा थियो । पुलको काम ३० प्रतिशत मात्रै सकिएको छ । हेटौँडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको दाबी गर्दै आएको थियो ।
एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्नेछ । पुलको लागत रु आठ करोड २६ लाख रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान २५ किलोमिटर छोटो दूरी पर्छ ।
पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माणपछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।
तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।
धेरै वर्ष पहिला यो सडकको ट्र्याक खोलिए पनि बजेट अभावमा काम अगाडि बढ्न सकेको छैन । पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने साराङघाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । सडकको ट्र्याक खुलेसँगै यो मार्गमा अहिले व्यापारिक चहलपहलसमेत बढेको छ ।
बुद्धसिं मार्गमा यातायात सञ्चालन सुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्तीहरु अहिले बजार बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङघाट हो । बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक ६÷७ वटा बस र उत्तिकै सङ्ख्यामा जीपहरु चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरनी गाउँपालिका–६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।रासस
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















