दस महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
अशोक घिमिरे
काठमाडौँ,२७ जेठ- चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।
कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।
भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।
समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।
चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल) को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।
नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।
चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा रु दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२।१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना, अष्टे«लिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा टर्कीबाट प्रमुखरुपमा वस्तु आयात हुने गरेको छ ।
चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्यरुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ । रासस
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















