‘नातिनीले हजुरआमा भनेर बोलाउँछे झैं लाउँछ’

दीपक परियार

पोखरा,१६ जेठ– ‘सम्झनाहरु सँगै लिएर मर्ने लक्ष्य छ, सपनाहरू होइन…(द गोल इज टु डाई विथ मेमोरिज, नट ड्रिम्स…) ।  एक वर्षअघि गोसाइँकुण्ड पुग्दाको फोटो फेसबुकमा राखेर यी हरफ लेखेकी एयर होस्टेस किस्मी थापा आइतबार मुस्ताङमा अस्ताइन् । थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परिवारको एक भरोसा ढल्यो ।

उमासरा किस्मीकी सबैथोक थिइन् । उमासरा रणपाल (परियार), किस्मीकी हजुरआमा । स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोटकी विष्णुदेवी रणपालले गाउँमै अन्तरजातीय विवाह गरिन् । थापा मगर थरका श्रीमानको परिवारले उनलाई दलित भन्दै स्वीकारेको थिएन । छोरी जन्मिएपछि श्रीमानले पनि हेलाहोँचो गर्न थाले । विष्णुदेवी किस्मीलाई च्यापेर माइत फर्किइन् । छोरी र नातिनी पाल्ने जिम्मा उमासराको काँधमा आयो ।

नातिनी नजन्मिँदै उमासराले भारतीय सेनामा कार्यरत श्रीमान् गुमाइएकी थिइन् । पेन्सन बुझेर जीविका चलाइन् । छोरी र नातिनीलाई आफ्नै भरमा राखिन् । किस्मी पढाईमा सानैबाट तेज थिइन् । पेन्सन बुझेको पैसाले उमासराले नातिनी पढाइन् । विष्णुदेवीले अर्को बिहे गरेपछि झन् नातिनीभन्दा बढी छोरीकै रूपमा किस्मीलाई उनले अपनाइन् ।

किस्मीले गाउँकै विद्यालयबाट एसईई र वालिङबाट १२ कक्षा उत्तीर्ण गरिन् । विद्यालय हुँदैदेखि उनको लक्ष्य थियो, एयर होस्टेस बन्ने । उनका मामाका छोरा अमर परियारका अनुसार हजुरआमा र मामाहरूले उनलाई एयर होस्टेस नबन्न भनेका थिए । किस्मीले मानिनन् । आफ्नो ‘सपना’ पूरा गरेरै छाडिन् । पोखरामा एयर होस्टेसको कक्षा लिइन् । ‘उहाँको पहिलेदेखि यही बन्छु भन्ने सपना थियो,’ पोखरा विमानस्थलमा सोमबार उनले भने, ‘पछि पनि सबैले सकेसम्म यो काम छोडिदिए हुन्थ्यो भन्नुभएको थियो ।’

उमासरा हक्की स्वभावकी थिइन् । अनुभव र व्यवहारले खारिएर अनेक दु:ख अड्चनलाई पार लगाउँदै आएकी उनी समाजसेवामा पनि सक्रिय थिइन् । गाउँ, टोल, छरछिमेकले उनको कुरा खान्थे । किस्मीमा ठयाक्कै उनकै गुण सरेको अमर बताउँछन् । ‘हजुरआमा कसैसँग नडराउने, आँटिलो, मिहिनेती हुनुहुन्छ,’ उनले भने, ‘दिदीको स्वभाव पनि त्यस्तै थियो ।’ किस्मीको प्रेरणाको स्रोत नै उनको हजुरआमा थिइन् ।

२७ वर्षीया किस्मी घुम्न खुब रुचि राख्थिन् । नयाँ ठाउँ घुम्ने, साहसिक गतिविधिमा रमाउने साेख थियो । गत साता काठमाडौंमा बलात्कार तथा यौन हिंसाविरुद्धको प्रदर्शनमा उनी सहभागी भएकी थिइन् । टिकटकमा भिडियो राख्दै उनले महिला सशक्तीकरणका लागि आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएकी छन् । बुबाले आफ्नो नामबाट नागरिकता बनाइदिन नमान्दा उनले लडेरै लिएकी थिइन् । सबैले मनीषा भनेर बोलाउने उनले किस्मी थापाको नामबाट नागरिकताको प्रमाणपत्र बनाइन् ।

पाँच वर्षअघि उनले यती एयरलाइन्समा जागिर सुरु गरिन् । यतीले उनलाई भगिनी संस्था तारा एयरमा पठायो । उनले एयर होस्टेसका रूपमा काठमाडौं–लुक्ला, पोखरा–जोमसोम, नेपालगञ्ज–रारालगायत रुटमा धेरै उडान भरिन् । केही समयअघि उनले आमा र हजुरआमालाई डोल्पा घुमाउन लगेकी थिइन् ।

मावली घरमा हुर्किएर पढेकाले मामाको छोराछोरीलाई पढाउने जिम्मा आफ्नो पनि भएको उनले महसुस गरिन् । बहिनी शर्मिला र भाइहरू आरजु र दिवसको पढाइ खर्च बेहोरिन् । शर्मिलाले पोखराबाटै १२ कक्षा उत्तीर्ण गरिन् । दिवसले काठमाडौंमा १२ को परीक्षा दिएर बसेका थिए भने आरजुले १२ को परीक्षा दिइरहेका छन् । किस्मीले कमाइरहेकी थिइन् । उनकी आमा गएको चुनावमा दलित महिला वडा सदस्यमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । सबैतिर राम्रो भइरहेको थियो । आइतबार जहाज दुर्घटनाको खबर सञ्चारमाध्यमबाट सुन्दा मल्याङकोटमा सन्नाटा छायो । सबै खुसी क्षणभरमै ढल्यो ।

जहाज दुर्घटनाको खबरपछि आइतबार दिनभर किस्मीका आफन्त र साथी पोखरा विमानस्थलमा जम्मा भए । केही खबर आइहाल्ने आशमा साँझसम्म विमानस्थल छाडेनन् । ‘विमानमा रहेका २२ जना सकुशल’ भन्ने खबर कतैबाट आइहाल्छ कि भन्ने पर्खाइमा थिइन्, शर्मिला । उनका आँखा ओभानो थिएनन् । त्यस दिन मौसमको खराबीले जहाजको खोजी कार्य रोकियो । सोमबार स्याङ्जाबाट हजुरआमा, आमा, मामा, आफन्त, छिमेकीको टोली पोखरा विमानस्थल आइपुग्यो । उनका बुबा आएनन् ।

बिहान साढे सात बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर आयो । २२ जनाकै शव संकलन गर्दा दिउँसोको ३ बजिसकेको थियो । विमानस्थलमा भने आफन्तको रुवाबासीको कारुणिक दृश्य देखिन्थ्यो । ‘तिम्रो हातको खाना खान आउँछु, पकाएर राख भन्नुभएको थियो,’ डाँको छाड्दै शर्मिलाले भनिन्, ‘आउनु न दिदी । मेरो प्राणभन्दा प्यारो दिदीलाई कसरी बिर्सिम् ?’

किस्मीकी आमा विष्णुदेवी अचेत थिइन् । जब बिउँझिन्थिन्, छोरीको खोजी गरिहाल्थिन् । ‘मेरो छोरी भएको ठाउँमा लैदेऊ’ भन्थिन् । उनलाई उमासराले सम्हालिरहेकी थिइन् । बालखैबाट पालेकी नातिनी गुमाएकी छन्, छोरी अर्धचेत छिन्, उनको बोलीमा भने उस्तै हक्कीपन थियो । सबैलाई नरुन सम्झाइरहन्थिन् । सबै शव काठमाडौं लैजाने भएकोले यती एयरले परिवारलाई जहाजमा पठाउने व्यवस्था गरेको थियो । विष्णुदेवीले ‘त्यही जहाजमा छोरीको त्यस्तो भयो, म जान्नँ’ भनिन्।

उमासराले छोरीलाई सम्झाइन् । ‘अहिलेसम्म आँखाले देखेको छैन,’ लौरो टेकेर विमानस्थलको टर्मिनल भवनभित्र पाइला बढाउँदै उनले भनिन्, ‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ ।’ स्रोतः कान्तिपुर

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal