तालिबानको भूराजनीतिक प्रभाव

प्रदिप्नराज पन्त
इतिहास सधैँ दोहोरिँदैन भनिए पनि इतिहासको प्रभाव पटक–पटक प्रकट हुन्छ भन्ने चाहिँ हालैको अफगानिस्तानको घटनाले पुष्टि गरेको छ । तालिबानले दोस्रो पटक भव्य र प्रभावशाली तरिकाले अफगानिस्तानको अधिग्रहण गरेको छ र यस्तै प्रकारको तालिबानको विजय यात्रा १९९० को दशकमा पनि देखिएको थियो । इराननजिकैको हेरात प्रान्तलाई सन् १९९५ मा पहिलोचोटि तालिबानले कब्जा गरेको थियो । त्यसपछि एक वर्षको अन्तरालमा सम्पूर्ण भूभाग कब्जा गरी १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक इमिरेटको स्थापना गरेर शासन गरेको थियो ।

दक्षिणी अफगानिस्तानको पुस्तुन समुदायका मुल्लाह मोहम्मद ओमारले सन् १९८९ मा तत्कालीन सोभियत सङ्घको हस्तक्षेपलाई असफल बनाउन र उनीहरूको सैनिकलाई पराजित गरेर देशबाट निकाल्न तालिबानको स्थापना गरेका हुन् । सोभियत सङ्घ देशबाट पलायन भएपछि तालिबानले उद्देश्य परिवर्तन ग-यो र सन् १९९४ मा कान्दाहारमा जम्मा ५० जना सहयोगीका साथमा अफगानिस्तानमा भएको भ्रष्टाचार, राजनीतिक अस्थिरता र अपराध हटाउने कसम खाएर राजनीतिमा होमियो । तालिबानको शाब्दिक अर्थ हुन्छ, विद्यार्थी र विद्यार्थीको बाहुल्य रहेको समूहको क्रियाकलापप्रति मानिस आकृष्ट भएर १९९६ मा यो समूहले नै राजधानी काबुललगायत देशका सम्पूर्ण भूभाग कब्जा ग-यो र इस्लामिक शरीया कानुनको सूत्रपात ग-यो । फलस्वरूप टेलिभिजन र सङ्गीतका कार्यक्रम बन्द भए र महिलालाई स्कुल पढ्न जान बन्देज लगाइयो तथा उनीहरूलाई बुर्का लगाउन बाध्य पारियो ।

सबैभन्दा महìवपूर्ण त उनीहरूले अल काइदालाई आश्रय दिए र ओसामा बिन लादेनलगायत यसका नाइकेलाई सुरक्षा दिएर अमेरिकाको बिन लादेनलाई सुपुर्दगी गर्ने पटक–पटक गरेको अनुरोध अस्वीकार मात्र गरेनन्, ज्यादै निकृष्ट भाषामा अमेरिकीको निन्दासमेत गरे । तालिबानको असहिष्णुता यति प्रबल भयो कि सन् २००१ को मध्यमा अफगानिस्तानको प्रसिद्ध वामीयान बुद्ध प्रतिमालाई नष्ट ग-यो, जसलाई संयुक्त राष्ट्रसङ्घद्वारा संरक्षित सार्वभौम विरासतका रूपमा सूचीकृत गरिएको थियो । संसारले यो आततायी घटनाको घोर विरोध ग¥यो र त्यसलगत्तै सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्ककारी आक्रमण भयो । बिन लादेनका सबै गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न अफगानिस्तानबाट दिइयो । त्यसको परिणाम, एक महिनापछि अर्थात् अक्टोबरमा अमेरिकी फौजले अफगानिस्तानमा आक्रमण ग¥यो र मुल्लाहा ओमारको सरकारलाई अपदस्थ ग-यो । २० वर्षसम्म अमेरिकी सैनिकको आडमा अफगानिस्तानका राजनीतिक दलले राज्य सञ्चालन गरे । यसैबीच सन् २०१८ मा अमेरिका र तालिबानको बीचमा दोहामा वार्ता भयो र सन् २०२० को फेबु्रअरीमा ऐतिहासिक शान्ति सम्झौता भयो । जसअनुसार १४ महिनापछि अफगानिस्तानबाट सबै अमेरिकी सैनिक हट्ने प्रतिबद्धता जनाइयो । यसका साथै सम्झौतामा अन्य बाह्य हस्तक्षेप हुँदासमेत अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने वचन दियो । हालै अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्ना केही आवश्यक सुरक्षाकर्मीबाहेक सैनिक अफगानिस्तानबाट हटाउनुभयो । औपचारिक रूपमा सैनिक हटेको १० दिनपछि तालिबानले लगभग सम्पूर्ण अफगानिस्तान कब्जा ग¥यो र फेरि इस्लामिक इमिरेट पुनर्बहाली गर्ने उद्घोष गरेको छ ।

यस पटक इस्लामिक इमिरेट स्थापना हुनुको प्रमुख कारण अमेरिकी सेना अफगानिस्तानबाट हट्नु नै हो । हुन त इमिरेट्स स्थापना हुनु अफगानीको विषय हो तर यसले समग्र भूराजनीतिमा विशेष गरेर एसियाको राजनीतिमा गहिरो प्रभाव ल्याउने सङ्केत देखाएको छ । तालिबानले अफगानिस्तानमा इस्लामिक इमिरेट्सको प्रवद्र्धन गर्नका लागि नै युद्ध गरेको भनेको थियो र शरीया कानुन नै लागू गर्ने भनेको छ तर २० वर्षअघिको तालिबानको शासनभन्दा फरक हुने जनाएको छ । यस पटक उनीहरूले महिला अधिकार, आममाफी, दूतावास तथा विदेशी सङ्गठनका लागि सुरक्षा, लागूपदार्थको नियन्त्रण र अफगानी भूमिलाई अन्य देशविरुद्ध प्रयोग गर्न नदिने प्रतिज्ञा गरेका छन् । तालिबानका संस्थापक मुल्लाह ओमारको मृत्युपछि मुल्लाह अख्तर मोहम्मद मुन्सर तालिबानका प्रमुख भए र उनको पनि ड्रोन आक्रमणमा मृत्यु भयो । त्यसपछि मवालावी हैवातुल्लाह अखुनजादा प्रमुख भए । पाकिस्तानमा तालिबान पहिलेदेखि नै सक्रिय छन् र पाकिस्तानले नै २० वर्षसम्म केही तालिबानका नेतालाई आश्रय दिएको थियो ।

भूराजनीतिक प्रभाव
अमेरिकी सेनाले छोडेको मात्र १० दिनपछि तालिबानले अफगानिस्तान कब्जा गरेको घटनाले संसारभरका सुरक्षा र कूटनीतिक विशेषज्ञहरूलाई स्तब्ध बनाएको छ । काबुलको पतनपछि सम्भवतः अमेरिकाको दुई दशक लामो प्रभाव समाप्त भएको छ भने भारतका लागि तालिबानको उदय अत्यन्त चुनौतीपूर्ण मात्र नभई भारतको वैदेशिक नीतिको असली परीक्षणसमेत हुने निश्चितप्रायः छ । भारतको पाकिस्तानसँग ऐतिहासिक रूपमा तनावपूर्ण सम्बन्ध र चीन तथा पाकिस्तान दुवैसँग सीमा विवादको कारण भारतले अफगानिस्तानसँग कुनै पनि हालतमा सम्बन्ध विस्तार गर्नुपर्ने दबाब छ । पाकिस्तान र अफगानिस्तानको बीच एक साझा सीमा छ र अफगानिस्तानको सन्दर्भमा पाकिस्तान सधैँ सक्रिय खेलाडीका रूपमा परिचित छ । अहिले चीनले पनि अफगानिस्तानमा सक्रिय भूमिका निर्वाह गर्न खोजेको देखिन्छ । गत महिना तालिबानका वरिष्ठ नेताको साथ चीनको विदेशमन्त्री वाङ्ग यी साथ भएको बैठकको स्पष्ट सन्देश के हो भने विश्व राजनीतिमा अब चीन मूकदर्शक भएर रहन चाहँदैन । हुन त चीनको संलग्नताको दुइटा कारण छ भन्ने गरिएको छ । एक अफगानिस्तानको व्यापार विशेष गरेर खनिज प्रशोधन, दोस्रो र सबैभन्दा महìवपूर्ण तर उद्धरण नगरिएको ‘इस्ट टर्किस्तान इस्लामिक मुभमेन्ट’, जसको क्रियाकलापले चीनको सियानजिङ प्रान्तमा अशान्ति मच्चाएको भन्ने चीनलाई लागेको छ र यसलाई पूर्ण रूपले प्रतिबन्ध लगाउनलाई तालिबानको भूमिका हुने स्पष्ट नै छ । विगतमा तालिबानले नै यसलाई सहयोग गरेको भन्ने आकलन चीनले गरेको घटनाक्रमले पुष्टि गर्छ । यसका साथै कैयौँ प्रतिबन्धित र आतङ्ककारी बिल्ला लागेका सङ्गठनहरूसँग सहयोग र सहकार्यमा तालिबान रहेको भन्ने बुझाइ नै अहिले तमाम विश्लेषकहरूको छ । विशेषगरेर भारतमा सक्रिय प्रतिबन्धित सङ्गठनहरूसँग गहिरो सम्बन्ध भएका कारणले तालिबानको उदयले अफगानिस्तान फेरि पनि त्यस्ता आतङ्ककारी गतिविधि सञ्चालन गर्ने सङ्गठनको आश्रय स्थल बन्ने त होइन भन्ने आशङ्का पनि उब्जिएको छ ।स्रोतः गोरखापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal