‘समाजले अनुसन्धान अधिकृतलाई विश्वास गर्नुपर्छ’

मिडिया र नागरिक समाज अनुसन्धान अधिकृत बन्नुभएन

उत्तम सुवेदी डीआईजी

कुनै घटनाको छानबिनमा अनुसन्धानका दुई पक्ष हुन्छन्– प्रारम्भिक र विस्तृत । जघन्य अपराध भइसकेपछि त्यहाँ पीडित र समाजका मान्छे नतिजा तुरुन्तै चाहियो भन्न थाल्छन् । घटना भएको छ, नतिजा चाहिहाल्छ । प्रहरीलाई घटना भएको छ, अनुसन्धान गर्ने चुनौती हुन्छ ।

संसारभरि अनुसन्धान दुई तरिकाले गरिन्छ– एउटा प्राविधिक र अर्को ‘म्यानुअल’ । प्राविधिक भनेको घटनास्थल वरिपरि देखिएका सीसी टीभी फुटेज, पीडित वा पीडकसँग भएका मोबाइलका विवरण विश्लेषण लगायत हो । त्यससँगै नजिकको बीटीएस टावरमा भएका मोबाइलका नम्बर, घटनास्थलमा भेटिएका सबूद प्रमाणहरूको वैज्ञानिक परीक्षण लगायत पनि प्राविधिक अनुसन्धानमा पर्छन् ।

घटना हुने वित्तिकै तत्काल प्रत्यक्षदर्शी हुन्छन्, अथवा घटनास्थलमा गाइँगुइँ हुन्छ– यो मान्छेको फलानोसँग विवाद भएको थियो, फलानोले मार्छु भनेको थियो, यस्तो हुलियाको मान्छे हिंडेको थियो । यी तत्काल प्राप्त हुने सूचना हुन् ।

‘म्यानुअल’ अनुसन्धानको न्यूनतम विषय के हो भने अपराध समाजमै घट्छ । अपराधी पनि समाजमै हुन्छन् । जस्तो नेपालको परिप्रेक्ष्यमा एउटा समाजको मान्छेले अर्को समाजमा गएर अपराध गराएको घटना ज्यादै न्यून छ । अपराध समाजमै हुन्छ, अपराधी पनि समाजमै हुन्छ । र, अपराध र अपराधीको सूचना पनि समाजमै हुन्छ भन्ने मान्यता ‘म्यानुअल’ अनुसन्धान हो ।

अब प्रहरीले अपराधीभन्दा पहिले कोसँग सूचना छ, त्यो पत्ता लगाउन सक्नुपर्‍यो । नागरिकको कर्तव्य पनि के हो भने प्रहरीलाई सूचना दिनुपर्‍यो । अपराध अनुसन्धानको विश्वभरिको अभ्यास यही हो ।

अपराध भएबाटै प्रहरी दबाबमा

घटनापछि प्रहरी आफैंलाई स्वाभाविक रूपमा नैतिक दबाब हुन्छ । पीडितको तारन्तार ताकेता हुन्छ, त्यो दबाब स्वाभाविक पनि हो । सर्वसाधारणबाट चाँडो अनुसन्धान होस् सकारात्मक दबाब होइन कि नारा, जुलुस, चक्काजाम, हड्तालबाट आन्दोलन शुरू भइहाल्छ । यो परिस्थितिमा प्रहरीले अनुसन्धान गर्नुपर्छ ।

अनुसन्धान अधिकृतले अनुसन्धान गर्नुपर्‍यो, मिडियाले घटनालाई उजागर गर्नुपर्‍यो । मिडिया र नागरिक समाज अनुसन्धान अधिकृत बन्नुभएन । सबैले आ–आफ्नो काम गर्नुपर्ने हो ।

अधिकांश घटना जुन अनुसन्धानमा समय लागेको हुन्छ, त्यसमा प्रविधिको प्रयोग गर्ने स्थान हुँदैन । यसको उदाहरण निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरण हो । चुनौतीका बीच प्रहरीले अनुसन्धान थालेको हुन्छ तर शुरूमै आन्दोलन हुँदा ठूलो जनशक्ति भीड व्यवस्थापनमा खटिनुपर्छ । भीड तोडफोड, आगजनीतिर उत्रिन्छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ । अर्कोतिर पीडितलाई ‘कन्भिन्स’ पनि गर्नुपर्‍यो र अनुसन्धान पनि अघि बढाउनुपर्‍यो । यो समस्याको रूपमा देखा पर्छ ।

म निर्मला र भागरथी हत्या प्रकरणको तुलना गर्छु । निर्मलाको घटनामा प्रहरीले शुरुआतमै लापरबाही गर्‍यो भन्ने भएपछि नाराजुलूस शुरू भयो । अनेक अड्कलवाजी हुन थाले । स्थानीयको प्रहरीसँग अविश्वास बढ्दै गयो । प्रहरीलाई कसैले सूचना दिएन । प्रहरीले पनि भीडभाडको कारणले समाजमा गएर सूचना लिन पाएन ।

स्थिति यति धेरै बिग्रियो कि लाठी चार्ज र गोली चलाउने चरणसम्म पुग्यो । समाज र प्रहरीको दूरी बढ्यो । समाजमा भएको सूचना लिएर अनुसन्धान गर्नुपर्ने त्यही पाटो चाहिं टुट्यो । अर्को गल्ती के भयो भने जुन निजामती नेतृत्वको समितिले सिफारिश गर्‍यो, त्यसले जनतासँग भिजेको स्थानीय प्रहरीलाई अनुसन्धानबाट बाहिर निकाल्यो । उनीहरूलाई कारबाही गरेर काठमाडौं निकालियो, नेतृत्वदेखि अनुसन्धानमा सबै नयाँ प्रहरी गए । उनीहरूलाई समाजले चिन्दै चिनेन ।

प्रहरी समाजमा बसेको हुन्छ, कुनै न कुनै रूपमा स्थानीयसँग चिनजान भइरहेको हुन्छ । राम्रा मान्छे, नराम्रा मान्छे । प्राध्यापक, वकिल, पत्रकार, व्यवसायी, किसान सबैसँग प्रहरी जोडिएको हुन्छ । त्यसमध्ये काहीं न काहींबाट सूचना प्रहरीले पाउन सक्छ । तर त्यहाँ विल्कुल नयाँ प्रहरी गइसकेपछि स्थानीय र प्रहरीबीचको खाडल झन् गहिरिंदै गयो ।

भागरथी प्रकरणमा म बैतडी पुग्दा त्यहाँ पनि नाराजुलूस शुरू भइसकेको थियो । तर मैले यिनै कुराहरू ब्रिफिङ गरें । तपाईंहरू यो घटना निर्मला पन्त प्रकरण होस् भन्ने चाहनुहुन्छ कि अनुसन्धान होस् भन्ने चाहनुहुन्छ भनेर प्रश्न गरें । अनुसन्धान होस् भन्ने चाहनुहुन्छ भने मेरो टिमलाई अनुसन्धान गर्ने मौका दिनुस् भनेर आग्रह गरें । खराब परिस्थितिमा अनुसन्धान हुँदैन भनें ।

सर्वदलीय, सर्वसाधारण, पीडित राखेर छलफल गरेपछि उहाँहरूले घटनास्थल वरपर कुनै पनि किसिमका आन्दोलन नगर्न सहमत हुनुभयो । हामीले अर्को शर्त पनि राखिहाल्यौं, ‘तपाईंहरूसँग भएका हरेक सूचना झूटो होस्, साँचो होस्– सबै प्रहरीलाई उपलब्ध गराउनुपर्छ ।’

स्रोत र परिचयलाई गोप्य राखिन्छ भनेपछि क्रमशः सूचना आउन थाल्यो । प्रहरीलाई सहयोग प्राप्त भयो । अनुसन्धान पनि सफल भयो । सूचना नदिएको भए त्यहाँ पनि अनुसन्धान गाह्रो हुनेथियो । किनकि, निर्मला पन्त र भागरथी दुवै प्रकरणमा प्रविधिले साथ दिएको अवस्था थिएन ।

हरेक पक्ष अनुसन्धान अधिकृत बन्नुभएन

प्रविधि नहुनु, सर्वसाधारणको असहयोग र नतिजा चाँडो खोजिनु नै अहिले अनुसन्धानको समस्या हो ।

नतिजा चाँडो होस् भन्ने सबैको चाहना हुन्छ । तर अरू किसिमले दबाब दिनुपर्नेमा नाराजुलूस, चक्काजाम, आगजनी गरेपछि त्यो अनुसन्धान ढिलो हुँदै जान्छ । किनभने, प्रहरीको पहिलो दायित्व ‘ल एण्ड अर्डर’ कायम गर्नेतिर जान्छ । त्यो स्थितिमा त्यहाँ बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, अर्को घटना हुनसक्छ अनि अनुसन्धान गिजोलिन्छ ।

चितवनको केसमा पनि नाराजुलूस नभएको भए, तीन/चार दिनमा पत्ता लाग्थ्यो होला । तर अहिले ‘खोदा पहाड, निकला चुहा’ भने जस्तै भयो । पछिल्ला दिनमा अपराधका घटनामा व्यावसायिक अपराधी देखिएको छैन । खाली सामाजिक विकृतिका कारणले सिर्जित अपराध बढेका छन् ।

अर्को चुनौतीको रूपमा सामाजिक सञ्जालको दुरुपयोग देखिएको छ । सबैले आ–आफ्नो काम गर्नुपर्ने हो । अनुसन्धान अधिकृतले अनुसन्धान गर्नुपर्‍यो, मिडियाले घटनालाई उजागर गर्नुपर्‍यो । मिडिया र नागरिक समाज अनुसन्धान अधिकृत बन्नुभएन । एउटा निश्चित समय अनुसन्धानको जिम्मा प्रहरीलाई छाडिदिनुपर्छ ।

एउटा कल डिटेल अथवा लोकेशन लिनुपर्‍यो र बेलुका ५ बजेपछि घटना भएको छ भने भोलिपल्टसम्म आउँदैन । अझ शुक्रबार बेलुकाको घटना छ भने त आइतबारसम्म कुर्नुपर्छ

प्राविधिक कठिनाइ

अहिले मुद्दा चलाउने युनिटमा प्रायः सबैतिर ‘सिन अफ क्राइम (सोको)’ अफिसर (अपराधस्थलमा खटिने प्रहरी) खटाइएको छ । जुन निर्मलाको घटनामा भिडियो सार्वजनिक भयो, त्यसमा घटनास्थलमा प्रहरीले उठाउनुपर्ने प्रमाण सबै संकलन गरेको छ ।

एउटा महिलाको जुन विषय छ, त्यसमा उनको नियत गलत होइन, सिर्फ नांगो शरीरलाई ढाक्न खोजेको हो । त्योभन्दा अगाडि प्रहरीले प्रमाण संकलन गरेको भिडियो आएन, पछाडिको आएन । बीचमा उसले छोपिदिएको मात्र आयो ।

समग्रमा अहिलेको परिस्थितिमा अपराधी पनि बाठा भएका छन् । घटनास्थलमा खटिने प्रहरीलाई अझै धेरै व्यावसायिक बनाउनुपर्छ । संख्या बढाउनुपर्छ । तर घटनास्थलको सर्च राम्रो नभएर मुद्दा फेल भएका घटना कम छन् । बरु परीक्षण गर्ने कुरामा समस्या छ ।

हाम्रो प्रयोगशालाको क्षमतामा पनि प्रश्न उठ्ने गरेको छ । जस्तो, एउटा जिल्लाले पठाएको भिसेराको रिपोर्ट आउन ६ महीनासम्म लागेको छ । पहिलो पटक आउने नमूनालाई क्रमशः जाँच्ने हो भने पनि त्यति लाग्छ । अहिले त विशेष प्रकृतिको घटनामा चाँडै गर्ने गरिन्छ ।

तर ‘पब्लिक इन्ट्रेस्ट’ हुँदैमा मात्र चाँडो हुने त गर्नुहुने होइन । त्यसका लागि प्रयोगशालाको क्षमता विकेन्द्रित गर्नुपर्छ । स्रोत, साधन र प्राविधिकको संख्या बढाउनुपर्छ ।

घटनास्थलमा खटिनेको पनि क्षमता त बढाउनुपर्छ । त्योभन्दा महत्वपूर्ण प्रयोगशालाको क्षमता बढाउनुपर्छ । प्राविधिक अनुसन्धानमा डाटा लिनै समस्या छ । एउटा कल डिटेल अथवा लोकेशन लिनुपर्‍यो र बेलुका ५ बजेपछि घटना भएको छ भने भोलिपल्टसम्म आउँदैन ।

अझ शुक्रबार बेलुकाको घटना छ भने त आइतबारसम्म कुर्नुपर्छ । त्यतिञ्जेल अपराधी कहाँ पुगिसक्छ । यो प्रणालीमा अनुसन्धान अधिकृतलाई विश्वास गर्नुपर्छ । अनुसन्धान अधिकृतलाई त्यो सुविधा नहोस्, तर ‘चेन अफ कमाण्ड’मा एउटा निकायलाई सुविधा हुनुपर्छ । राति अपरेशन गर्नुपर्ने स्थिति भए, स्ट्याण्ड बाई बसेर सूचना दिने स्थिति तयार गर्नुपर्छ ।

अर्को समस्या भनेको फेसबुक, भाइबर, इमो लगायतका सञ्जाल प्रयोग भएको छ भने डाटा हात पार्न समस्या छ । त्यसका लागि कानूनी आधार छैन । डाटा लिन सिंगापुर, भारतमा चिठी लेख्नुपर्छ, जहाँ उनीहरूको कार्यालय छ । त्यसमा उनीहरूलाई कानूनी बाध्यता छैन कि सूचना हामीलाई देओस् ।

प्रहरीको समस्या पनि बुझ्नुपर्छ

हरेक प्रहरीलाई भर्ना हुँदा शपथ खुवाएको हुन्छ कि देश र जनताको सेवाका लागि ज्यानको पनि पर्वाह गर्दिनँ । प्रहरी पनि यही समाजबाट आउने हुन् र कतिपय अवस्थामा गलत नियत भएका व्यक्ति पनि संगठनमा आउँछन् । यति भनेर मात्र, सुख पाउने अवस्था त छैन ।

तर पछिल्लो समय नेपाल प्रहरीले जनतासँग सम्बन्ध सुमधुर बनाउन विभिन्न खाले कार्यक्रम ल्याएर प्रयास गरिरहेको छ । प्रहरीबाट कुनै कमजोरी भएछ भने तुरुन्त कारबाही गर्ने र त्यस्तो कमजोरी दोहोरिन नदिनका लागि ‘सुपरभाइजरी मेकानिज्म’ हुन्छ । त्यसलाई अझ बलियो बनाउनुपर्छ ।

प्रहरीमा किन समस्या भइरहेको छ भनेर अर्को पाटोबाट पनि हेर्नुपर्छ । उनीहरूको सुविधा, बस्ने ठाउँ हेर्नुपर्छ । सबैले प्रहरीमा सेवाग्राहीमैत्री वातावरण होस् भनिरहेका छन्, हाम्रो पनि चाहना त्यही हो । तर हामी सेवा प्रवाह गर्नेको चाहना चाहिं हामीलाई कामप्रति प्रेरित गर्न के गर्न सकिन्छ भन्नेतिर पनि सम्बन्धित क्षेत्रले सोच्नुपर्छ ।अनलाइनखबर

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal