फुजिमोरीलाई हराउने वामपन्थी कास्टिलो : जो खेत जोत्दाजोत्दै राष्ट्रपति भए
विराट अनुपम
इटहरी,१४ साउन– ल्याटिन अमेरिकी देश पेरुमा स्थानीय समयअनुसार बुधबार मध्यान्ह वापमन्थी नेता पेद्रो कास्टिलो (स्पेनिस उच्चारणमा कास्टियो) ले राष्ट्रपतिको सपथ लिए । पेरुको स्वतन्त्रता भएको ठीक २ सयौं वर्षगाँठमा राष्ट्रपति भएका कास्टिलो देशको सर्वोच्च पदमा पुग्ने पेरुकै पहिलो किसान हुन् । उनी प्राथमिक विद्यालयमा पढाउँथे पनि ।
राष्ट्रपतिको चुनाव सकिएपछि पनि उनी आफ्नै खेतबारीको काममा केही समय व्यस्त बने । राष्ट्रपतिको सपथ खाएपछि मात्रै उनी राजधानी लिमामा स्थायी बसोबास गर्न आए । काखामार्का क्षेत्रबाट उनी बुधबारमात्रै शिक्षिका श्रीमती लिलिया पारेदेश र दुई सन्तानसँगै राजधानी बसाईं सरेका हुन् । लिमाको पावर सेन्टरसँग कुनै साइनो नभएका फरक भूगोलका पहिलो राष्ट्रपति भनेर उनको चित्रण हुँदै आएको छ ।
१९ वर्षअगाडि मेयरमा पराजित
स्पेनिस अखबार एल पाइसका अनुसार सन् २००२ मा कास्टिलोले मेयर पदमा चुनाव लडे । आन्गुइआको मेयरमा पेरु पोसिबल पार्टीबाट चुनाव लडेका उनी पराजित भएका थिए । तर, १९ बर्षपछि उनी अर्को पार्टी फ्रि पेरु पार्टीबाट राष्ट्रपति बन्न सफल भएका छन् ।
दि गार्जियनका अनुसार उनले आफ्ना प्रतिद्वन्द्वीलाई ४४,२६३ भोटले पराजित गरे । एक करोड ८८ लाख बढी मतदाताले भोट हालेको पेरुमा यो ठूलो अन्तर भने हैन ।
कास्टिलोले चुनाव अवधिभरि आफ्नो क्षेत्रको मौलिक छाते टोपी लाए । त्यही टोपीमै उनले सपथग्रहण गरे । उनका चुनावी मुद्दाहरूमा देशका तमाम खानीको विदेशी लगानीलाई कम गर्ने, राष्ट्रियकरण गर्ने, नयाँ संविधानसभाबाट संविधान बनाउने र पेरुको गरिबी अनि असमानता घटाउने थियो ।
उनको सबैभन्दा लोकप्रिय चुनावी नारा हो- ‘धनी मुलुकमा अब पनि गरिब नागरिक हुनुहुन्न ।’ यो नाराले धेरैलाई तान्यो । स्पेनिस अखबार एल पाइसका अनुसार उनी चुनावी दौडमा देशभरि खटिए । उनको लोकप्रियता देशका दूरदराजमा पुग्यो । उनका बारेमा एकै महिनामा ३२ गीतहरू बने । उनलाई धेरैको साथ रह्यो ।
बुधबार राष्ट्रपतिको सपथ खाएका कास्टिलोको राष्ट्रिय पहिचान भने ट्रेड युनियन आन्दोलनबाट कायम भएको हो । सन् २०१७ मा भएको राष्ट्रिय शिक्षक आन्दोलनको अग्र मोर्चामा उनी खटिए । शिक्षकको तलब बढाउनुपर्नेदेखि शैक्षिक सुधारका मागहरू राखेर उनीहरुले आन्दोलन चर्काएका थिए । आन्दोलनकारीको तर्फबाट सत्तासँग वार्ता गर्न उनी सक्रिय भएका थिए । २५ वर्ष गाउँमा शिक्षक भएका उनलाई यही आन्दोलनले राष्ट्रपतिसम्म पुर्यायो । राष्ट्रपति चुनावमा शिक्षकहरुको धेरै सहयोग उनले पाए ।
शिक्षण पेशासँग उनी कति धेरै लगाव राख्छन् भन्ने बुझ्न उनको सपथ अगाडिको सार्वजनिक मन्तव्य काफी छ । उनले आफू ‘पैसा कमाउन राष्ट्रपति’ नभएको बताएका छन् र, आफूले शिक्षक हुँदा पाउनेजति मात्रै तलब लिने घोषणा गरेको टेलेसुरइङ्लिस डट नेटले उल्लेख गरेको छ ।
नतिजामा ढिलाइ
गत जुन ६ (जेठ १३) मा पेरुको राष्ट्रपतिका लागि दोश्रो चरणको चुनाव भएको थियो । अप्रिल ११ (चैत २९ )मा भएको पहिलो चुनावमा कसैले ५० प्रतिशत नकटाएपछि १८ उमेद्वारको चुनाव दुई उमेद्वारमा खुम्चिएर दोश्रो चरणमा पुग्यो । उम्मेदवार वामपन्थी पेद्रो कास्टिलो र दक्षिणपन्थी केइको फुजिमोरी (स्पेनी भाषामा फुखिमेरी) को प्रतिष्पर्धा भयो ।
पेरुका मध्यमार्गीहरूले त ‘दुई अतिवादी’ बीचको चुनाव भनेर व्याख्या गरेको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् । चुनावलाई ‘लेसर अफ टू इभिल’ अर्थात ‘दुई खत्तममध्येको एक उत्तम’ छान्नुपर्ने बाध्यताको रूपमा व्याख्या गरियो । ‘खत्तममध्येको उत्तम’ शब्दावली लोकप्रिय पार्ने पेरुका नोबेल पुरस्कारप्राप्त लेखक मारियो भर्गास ल्होसाले हुन् । उनले स्पेनको एक अखबारमा लेख लेख्दै केइको फुजिमोरीलाई खत्तममध्येको उत्तम भन्ने तर्क दिएका थिए । उनको यो तर्कको गार्जियन लगायतका विभिन्न विश्व मिडियामा व्यापक चर्चा भयो ।
चर्चाको अर्को कारण हो सन्, १९९० मा केइको फुजिमोरीका पिता अल्बर्टो फुजिमोरीसँग उनले चुनाव हारोका थिए । आफैंलाई हराउने उम्मेदवारकी छोरीलाई सहयोग गरेको भनेर व्यापक चर्चा पायो ।
पेरुका तानाशाह अल्बर्टो (स्पेनिस उच्चारणमा आल्बेर्तो) फुजिमोरीकी छोरी हुन् केइको । अल्बर्टो ती हुन् जसले ‘साइनिङ पाथ’ नामक पेरुको माओवादी आन्दोलन ध्वस्त पारेका थिए । जसका मुख्य नेता गोन्जालो सन् १९९२ सेप्टेबरमा पक्राउ परेर अहिलेसम्म जेलमा छन् । रोचक कुरा भ्रष्टाचारको सजायमा जापानी मुलका अल्बर्टो पनि सन् २०१७ डिसेम्बरबाट जेलमा छन् ।
उनै अल्बर्टोकी छोरी कइकोसँग कास्टियोले चुनाव लडे । ४६ बर्षे केइको सन् २०११ र २०१६ मा भएको राष्ट्रपति चुनावमा उपविजेता भएकी थिइन् भने ५१ बर्षे कास्टियो राजनीतिमा नयाँ थिए । पपुलर फोर्स पार्टीकी उम्मेदवार केइको फुजिमोरीले धेरै लफडा गरिन् । चुनावमा धाँधली भएको, नक्कली मतदान भएको जस्ता आरोप लगाइन् । २ लाख मत बदर हुनुपर्ने उनले पटकपटक माग गरिन् । कम्युनिष्टले पेरु कब्जा गर्न लागेको भन्दै पत्रकार सम्मेलन नै गरिन् । कम्युनिष्टलाई सेनाले सत्तामा आउन नदिने जस्ता हल्ला उनका समर्थकहरूले लाए ।
यूरोप तथा अमेरिकी पर्यवेक्षकहरूले भने धाँधली नभएको बताए । पेरुको सेनाले विज्ञप्ति निकालेर जो निर्वाचित भएर आए पनि सहयोग हुने धारण सार्वजनिक गर्यो । निर्वाचनमा धाँधली भएको दावी गरेकी फुजिमोरीको दावीमा प्रमाण पुगेन । अन्ततः चुनाव भएको करिब झन्डै दुई महिनापछि जुलाई २० (सावन ५) मा कास्टियो विजयी भएको घोषणा भयो । विजयी भएको आठौँ दिनमा बुधबार उनको सपथ भयो । अन्तिम आधिकारिक नतिजाअनुसार कास्टियोले ५०.१२६ प्रतिशत मत ल्याएर ४९.८७४ प्रतिशत ल्याएका फुजिमोरीलाई हराए । मतान्तर ४४,२६३ भएको बेलायती अखबार दि गार्जियनले उल्लेख गरेको छ ।
सबैभन्दा लामो समयपछि भएको चुनावी नजितामात्रै हैन, कोभिड-१९ को कारण पनि पेरुको यो वर्षको राष्ट्रपतीय चुनाव धेरै चर्चामा आयो । पेरु विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति कोभिड-१९ मृत्युदर भएको देश भएको अलजजिराले उल्लेख गरेको छ । ३ करोड २० लाख हाराहारी जनसंख्या भएको पेरुमा कोभिड-१९ बाट विहीबार बिहानसम्म १ लाख ९६ हजार बढीको ज्यान गएको तथ्यांक संकलन गर्ने पोर्टल वल्डोमिटर्स डट इन्फोले लेखेको छ ।
कास्टिलोका चुनौतीः सदनको अल्पमतदेखि वैदेशिक लगानीसम्म
थोरै मतान्तरले बहुमत ल्याएर राष्ट्रपति हुने मौका पाएका कास्टियो पेरुको सदनमा भने अल्पमतमा छन् । बुधबार सपथग्रहणपछि उनको मुख्य चुनौती सदनको अल्पमत नै भएको विभिन्न विश्व मिडियाहरूले लेखेका छन् ।
सदनमा अल्पमत भएपछि उनले चुनावी मुद्दामा उठाएका संविधानसभाको चुनावदेखि विभिन्न ऐन-कानून बनाउन धेरै गाह्रो हुनेछ । दि गार्जियनका अनुसार १३० सदस्य पेरुको सदनमा कास्टियोको दलको ३७ सदस्य मात्रै छन् । सदनमा बहुमत पुर्याउन उनले गठबन्धन बनाउन अनिवार्य भएको दि गार्जियनले लेखेको छ ।
सदनमामात्रै हैन पार्टीका हार्डलाइरलाई मिलाउन पनि कास्टियोलाई उत्तिकै जोखिम भएको जर्मनीको सरकारी समाचार पोर्टल डिडब्लुले लेखेको छ । डिडब्लुका अनुसार उनको मार्क्सवादी लेनिनवादी फ्रि पेरु पार्टीका उग्रवामपन्थी नेता न्यूरोसर्जन भ्यादिमिर सेरोनलाई मनाउन गाह्रो हुनेछ । वापमन्थी उमेद्वार भए पनि कतिपय कन्जरभेटिभ मुद्दामा कास्टियो समर्थक छन् । गर्भपतनदेखि तेस्रो लिंगीमा मुद्दामा उनी अनुदार भएको अन्तराष्ट्रिय मिडियाहरूले लेखेका छन् । यस्तै उनी पेरुमा मृत्युदण्डको कानून बनाउनुपर्ने पक्षमा छन । देशका अन्य कम्युनिष्ट पार्टीले भेनेजवेलाका निकोलस मदुरोलाई समर्थन नगरे पनि उनले भने गर्दै आएका छन् ।
विदेशी लगानीका तामाखानीलाई राष्ट्रियकरणको मुद्दा पनि फलामको चिउराजस्तै छ उनलाई । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार पेरु विश्वको दोश्रो ठूलो तामा उत्पादक हो । पेरुको कुल ग्राहस्थ उत्पादनको १० तथा निर्यातको ६० प्रतिशत हिस्सा तामाले ओगटेको एपीले उल्लेख गरेको छ ।
वैदेशिक लगानी र निजीकरणको तामाखानी क्षेत्रलाई राष्ट्रियकरण गर्न कास्टियोलाई धेरै जोखिम छ । यस्तै कोभिड-१९ ले गर्दा पेरुले पछिल्लो दशकमा पाएका सामाजिक उपलब्धीहरू जोखिममा भएकोले त्यसलाई व्यवस्थापन गर्नसमेत उनलाई चुनौती छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार



























