बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

गलेश्वर,१९ साउन– म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । 

करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।

घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा वर्षे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो बेनीको प्रसिद्ध नाच हो ।

बेनीका नेवार समुदायले लाखे बन्ने व्यक्ति समय समयमा परिवर्तन गरिरहन्छन् तर, लाखे बन्न लगाइने मुखौटो भने दुई  सय ५० वर्षअघिकै प्रयोग गर्दै आएका छन् । “समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा उतारचढाव र परिवर्तन आएको छ । कैयौँ पुस्ता बिते । अनेकौँ मौलिक संस्कृति लोप भए तर लाखे नाचका लागि प्रयोग गरिने मुखौटो ९मुकुण्डो० परिवर्तन गरिएको छैन । नौ पुस्तादेखि एउटै मुकुण्डो प्रयोग हुँदै आएको छ”, नेवार समुदायका अगुवा सुविन श्रेष्ठले भन्नुभयो ।

लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । बेनी बजारमा मानव बस्तीको विस्तारसँगै नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच देखाउँदै आएका छन् । पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौँ पुस्ताका सदस्यले प्रयोग गर्दै आएका छन् । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठ बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको बताउनुहुन्छ । 

बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा छ । पहिले तोरीको तेलले सफा गरिने मुखौटोलाई आकर्षक देखाउन अहिले इनामेल प्रयोग गर्ने गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । बर्खे नाचको सुरुआत लाखेको पतिअर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।

हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइन्छ । राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवा बताउँछन् ।रासस

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal