कृषिमा स्थानीय सरकारको अनुदान ः सिंहदरवार साच्चिकै गाउँमा
सिंहदरबारको अधिकार गाउँमा भन्ने नारा प्रचारमा सिमित भइरहेका बेला स्याङ्जाको फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकाले कृषिमा अनुदान दिएर कृषकलाई सिंहदरवार साच्चिकै गाउँमा आएको अनुभूती दिलाएका छन् ।
हिमलाल पराजुली
स्याङ्जा,२३ मङ्सिर– देशमा रोजगारीको अवसर नभएको भन्दै दिनहुँजसो हजार भन्दा बढी युवा विदेश गइरहेका छन् । यही बेला स्याङ्जाका केही युवा भने आफ्नै गाउँठाउँमा स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् । आफ्नै लगानीमा केही गर्ने भन्दा पनि अर्कैको काम गरेर आयआर्जन गर्ने भावना युवाहरुमा बढिरहेका बेला यहाँका तन्नेरीहरु आफ्नै मेहनत र पसिनामा आफ्नो भविष्य खोज्दै स्वरोजगार बन्ने अभियानमा छन् ।
स्थानीय सरकार (पालिकाहरु) ले किसानलाई लक्षीत गरेर नीति तथा कार्यक्रम ल्याएपछि त्यस्ता युवाहरुको आकर्षण कृषि पेशामा बढेको हो । फेदीखोला गाउँपालिका ३ का अनिल पौडेल अहिले आफ्नै गाउँघरमा महालक्ष्मी कृषि तथा पशुफर्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष कतारमा बिताएका २७ वर्षीय पौडेल स्वदेश फर्किएर २ वर्षदेखि गाउँमै कृषिमा रमाइरहनुभएको छ ।
पाँच वटा भैंसीबाट आफ्नो ब्यावसाय सुरु गर्नुभएका पौडेलले यस बाहेक २५ रोपनी जमीनमा टनेल निर्माण गरेर तरकारी खेती गरिरहनुभएको छ । अहिले पौडेलको फर्ममा साना ठुला गरेर १३ वटा भैंसी छन् । दैनिक ४० लिटर दुध पोखरा लगेर १ सय देखि १२० रुपैँयासम्म लिटरमा बिक्रि गर्दै आउनुभएको छ । टनेलमा गोलभेडा, काउली, बन्दागोपी, भिन्डी, साग लगायतका तरकारी लगाउदै आउनुभएका पौडेलले भन्नुभयो, “गाउँघरको आफ्नै जमीन सदुपयोग गरेर वार्षीक ४ लाख रुपैँयासम्म आम्दानी गर्न पाएकोमा खुसि लागेको छ ।”
फेदीखोला गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर आएका युवालाई स्वरोजगार बनाउने योजना अनुसार कृषि तथा पशुपालनको लागि अनुदान दिने नीति बनाएसंगै यी युवाहरुको कृषिमा आकर्षण बढेको हो ।
गाउँघरमै युवाहरुलाई कृषिका माध्यमबाट रोजगारी दिने योजना अनुसार गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत अनुदान दिने र २६ वटा तरकारीमा न्युनतम समर्थन मूल्य निधारण गरेर किसानहरुलाई अनुदान उपलब्ध गराउदै आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
अध्यक्ष सुवेदीले भन्नुभयो, “पालिकाले अधिकतम युवा तथा कृषकहरुलाई कृषिमा व्यावसायीक रुपमा लाग्न हौसला प्रदान गर्ने योजना अनुसार उत्पादनमा आधारमा अनुदान दिने नीति लिएको छ ।” पालिकाले गाउँठाउँमा रहेको बाँझो जमीनमा खेती गर्ने किसानलाई पनि अनुदान दिदै आएको छ । अध्यक्ष सुवेदीको भनाइ अनुसार बाँझो भएको आफ्नै जमीनमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार रुपैँया र जमीन भाडामा लिएर खेती गर्ने किसानलाई प्रति रोपनी २५ सय रुपैँयाका दरले अनुदान दिदै आएको छ ।
यसरी गाउँपालिकाले बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान दिन थाले संगै २५ सय रोपनी बाँझो जमीनमा खेती हुन थालेको र १० करोड रुपैयाँ बराबरको थप खाद्यान्न उत्पादन भएको अध्यक्ष सुवेदीले बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “बाँझो जमीनमा खेती गर्ने किसानलाई अनुदान दिन सुरु गरेसंगै खाद्यान्न उत्पादनमा बृद्धि भएको छ, यसले रोजगारी सिर्जना गर्नुका साथै खाद्यान्न उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग पु¥याएको छ ।”
गाउँपालिकाका कृषि शाखा प्रमुख शिसिर पंण्डितले ५ सय २६ किसानले बाँझो जमीनमा खेती गर्न सुरु गरेको र ४० देखि ५० हजार रुपैँयासम्म अनुदान पाएको जानकारी दिनुभयो । पंण्डित भन्नुहुन्छ, “एक मुरी धान समेत उत्पादन नगर्ने किसानले अहिले बाँझो जमीनमा खेती गरेर २५÷३० मुरीसम्म धान फलाएका छन्, यो अभियानले पालिका भित्र जमीन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै खेतीपातीमा लाग्न किसानहरुलाई उत्साहित बनाएको छ ।”
संयुक्त अरव इमिरेटस् (युएइ) मा ८ वर्ष विताएर नेपाल फर्किएका फेदीखोला गाउँपालिका २ का ४६ वर्षीय गंगाधर पौडेल फेरि विदेश जाने योजनामा हुनुहन्थ्यो । तर गाउँपालिकाको अनुदान नीति थाहा पाएपछि उहा आफनो योजना बदल्दै आफ्नै ५ रोपनी जमीनमा तरकारी खेती गरेर वार्षीक ३ लाख रुपैँया आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले आफ्नो खेत बारीमा हरियो तरकारी साग, काउली, बन्दा साथै गोलभेडा र आलु खेती गर्दै आउनुभएको छ । गाउँपालिकाको सहयोग पाएपछि आफु वैदेशिक रोजगारीलाई छाडेर गाउँघरमै तरकारी खेतीमा लागेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा परिवारसंगै बसेर वार्षीक ३÷४ लाख रुपैँया कमाउन सकिने भएपछि केलाई विदेश जानु ? मलाई यही खेतीपाती गर्नुमा खुसी लागेको छ ।” खेती गर्न चाहनेलाई गाउँपालिकाले अनुदान दिने अनि उत्पादन गरेको वस्तु समेत घर–घरमै पुगेर खरिद गर्ने गरेपछि किसानलाई काम गर्न उत्साहित बनाएको पौडेलको भनाइ थियो । गाउँपालिकाले प्लाष्टिक टनेल, हाते ट्याक्टर, थोपा सिंचाई परियोजनाका लागि पनि सहयोग गर्ने गरेको छ ।
गाउँपालिकाले वैदेशिक रोजगारीमा गएर कोभिड १९ का कारण रोजगारी गुमाएका युवाहरुलाई प्रति व्याक्ति रु २ लाख ५० हजार रुपैँयाका दरले सहयोग गरेको छ । यसरी सहयोग पाउने ११ जना युवा छन् । गाउँपालिकाले पालिका भित्रका कृषकहरुले उत्पादन गरेका वस्तु ढुवानीको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानहरुले उत्पादन गरेका तरकारी लगायतका वस्तुहरु पालिकाले किसानको घरमै पुगेर हातहातमै पैशा बुझाएर बजार मूल्य अनुसार खरिद गरेर सहकारी मार्फत बिक्रि गर्ने गरेको छ ।
पालिकाभित्र रहेका ५ वटै वडामा संकलन केन्द्रको व्यवस्था छ । किसानले उत्पादन गरेको तरकारी न्युन मूल्यमा बेच्नुपर्ने अवस्था आएमा न्यूनतम मूल्यमा अपुग रकम गाउँपालिकाले नै थपेर किसानलाई उपलब्ध गराउने गर्दछ ।
गल्याङ नगरपालिका ः सेतो सहर
यसैगरि स्याङजाकै गल्याङ नगरपालिका २ इलुङ्गाकी टीकाकुमारी राना दुध बिक्रीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । हर्सिका गाई फर्म सञ्चालन गर्दै आएकी ३० वर्षीया रानाले दुध बिक्रि गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।
दैनिक ८० देखि १ सय २९ लिटरसम्म दुध बिक्रि गरेर महिनामा एक लाख ५० हजार रुपैँयासम्म आम्दानी गर्ने गरेको रानाको भनाइछ । आफ्नै घरमा गाई फर्म सञ्चालन गर्दै आएकी रानाको गाई फर्ममा अहिले ५ वटा जर्सी गाई छन् । उहाँले नगरपालिकाले दिने प्रति लिटर १५ रुपैँयाको दरले वार्षीक ३ लाख रुपैया भन्दा बढी थप अनुदान पाउँनुभएको छ । यस बाहेक पनि रानाले गाई खरिदको लागि नगरपालिकाबाट ४० हजार रुपैया अनुदान पाउनुभएको थियो ।
श्रीमान् नारायण राना रोजगारीको लागि साउदी गएपछि घरमा यत्तिकै बस्नुभन्दा केही गरौ भनेर गाई फर्म सञ्चालन गरेको रानाको भनाइछ । राना बिहान उठेदेखि साँझसम्म गोठमा रहेका गाईको स्याहारमा व्यस्त हुनुहुन्छ । दुई छोराछोरी र आमाको साथमा बस्दै आएकी टीकाले आफ्नो फर्ममा एक जना महिलालाई रोजगारी समेत दिनुभएको छ । नगरपालिकालाई सेतो सहरका रुपमा विकास गर्ने योजना अनुसार प्रति लिटर दुधमा १५ रुपैँयाका दरले अनुदान दिदै आएको गल्याङ नगरपालिकाले जनाएको छ । पहाडी जिल्लाको नगरपालिका भएकोले नगरबासीलाई कृषि र पशुपालनका माध्यामबाट आयआर्जनको स्रोत बढाउने उदेश्यले दुधमा अनुदान दिने नीति लिएको नगरप्रमुख भुपराज अधिकारी बताउनुहुन्छ ।
नगरप्रमुख अधिकारीले भन्न्भयो, “यहाँका किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा प्रोत्साहान गर्ने योजना अनुसार नगपालिकाले निर्णय गरेर प्रति लिटर दुधमा १५ रुपैँया अनुदान दिदै आएको छ । यसले किसानलाई दुध उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ ।” नगरपालिकाले गाई भैंसी खरिदमा समेत अनुदान दिने गरेको छ । यहाँको पशुसेवा शाखाबाट कृषकले भनेको समयमा प्राविधिक सहयोग समेत पाउने भएकाले गल्याङ नगरपालिकामा पशुपालन गर्ने कृषकको संख्यामा बृद्धि हुदै गएको छ ।
पहिला पहिला घरमा भएको दुध समेत बेच्न आनाकानी गर्ने किसानहरु अहिले उत्साहित भएर दुध बिक्रि गर्ने गरेको पशुसेवा शाखाका प्रमुख शुसिल अर्याल बताउँनुहुन्छ । जति धेरै दुध बिक्रि गर्न सक्यो उति धेरै अनुदान पाउने भएपछि किसानले उत्साहित भएर व्यावसायीक रुपमा गाई भैंसी पालेर दुध बिक्रि गर्न थालेको अर्यालको भनाइ छ ।
यसरी अनुदानमा मात्र आर्थिक वर्ष ०७७÷०७८ मा ७८ लाख ९९ हजार ९ सय २० रुपैँया वितरण गरिएको अर्यालले जानकारी दिनुभयो । उनको भनाइ अनुसार किसानले यस आथिक वर्षमा ५ लाख २६ हजार ६ सय ६१ लिटर दुध बिक्रि गरेका छन् । यसरी दुध बिक्रि गर्ने किसानको संख्या बढ्दै जान थालेपछि नगरपालिकाले सञ्चालन गरेको दुधमा अनुदान दिने कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । दुध बेचेर मात्रै महिनामा ९० हजार रुपैयासम्म अनुदान प्राप्त गर्ने किसान समेत छन् ।
गल्याङ ११ का अगुवा कृषक रुमलाल कंडेलले लामो समयदेखि कृषिलाई नै आफ्नो मुख्य पेशा बनाउदै आउनुभएको छ । ६६ सालदेखि कृषि पेशामा लागेका कंडेलले यहि पेशाबाट वार्षिक १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले आफ्नै घर गल्याङ ११ जिम्मुवामा ६५ रोपनी जग्गामा व्यावसाय सञ्चालन गर्नुभएको छ । भगवती भैंसी पालन तथा कृषि विउ उत्पादन फर्म मार्फत कंडेलले राम्रो आम्दानी गर्नुभएको हो । उहाँको फर्ममा अहिले १४ वटा गाई भैंसी छन् । उहाँले आफ्नै फर्मबाट नस्ल सुधार गरेर गाईका बाच्छाबाच्छी समेत उत्पादन गर्दै आउनुभएको छ ।
दैनिक ६० लिटर दुध बिक्रि गर्दै आएको बताउदै कंडेलले भन्नुभयो, ‘काम गर्न चाहने किसानलाई नगरपालिकाले सहयोग गरेको छ, यो सहयोगले हामीलाई काम गर्न थप हौसला मिलेको छ ।’ हुन पनि नगरपालिकाले दुध उत्पादन गर्ने किसानलाई प्रति लिटरमा दिने अनुदानले गाई भैंसी पालेर दुध बिक्रि गर्ने किसानलाई प्रोत्साहित गरेको देखिन्छ । यसले कृषि पेशामा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको कंडेल बताउँनुहुन्छ । उहाँले करिब ४५ रोपनी जमीनमा आलुको विउ, धान र मकैको विउ उत्पादन गर्दै आउनुभएको छ । यस वाहेक १५ रोपनी जमीनमा गाई वस्तुको लागि आवश्यक घाँस खेती समेत गर्नुभएको छ । कडेलले जनक देव, एम एस ४२ जातको आलुको बिउ, अनि अरुण २ मकै र राम धान, सावित्री धानको विउ समेत उत्पादन गर्ने गरेको बताउनुभयो ।
आफ्नो उत्पादन गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनँहु, लम्जुङ र गोरखाका साथै लुम्बीनी प्रदेशको पाल्पा, गुल्मी अर्धाखाँचि लगायतका जिल्लामा बिक्रि गर्दै आएको उहाँले बताउनुभयो । यो वर्ष २५ टन आलु बिक्रि गरेको र १ टन मकै, ७ टन धानको विउ बिक्रि गर्ने तयारीमा रहेको उहाँको भनाइछ । नगरपालिकाले ऋण लिएर कृषि पेशा गर्नेहरुको लागि कृषि ऋणमा ४ प्रतिशत अनुदान दिदै आएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा नगरपालिकाले कृषि ऋणमा व्याज अनुदान अन्तरगत १५ लाख रुपैँया वितरण गरेको छ । यसबाट २ सय ८१ कृषक लाभाम्वित भएको नगरपालिकाले जनाएको छ ।
यसरी देश संघियतामा गए संगै सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा भनाइमा मात्रै सिमित भइरहेका बेला स्याङ्जाका फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकाले सिंहदरबार साच्चिकै गाउँमा आएको अनुभूती दिलाएका छन् ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार























