माल पाएर चाल नपाएको अवस्थामा दुर्लभ शालिग्राम

गण्डकी, २२ असोज– आध्यात्मिक, जैविक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा पाइने विश्वकै बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदी दोहनका कारण गिटीमा परिणत हुँदै गएको छ । 

नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनले कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको र मानव जाति एवं प्रकृतिमाथि सङ्कट निम्ताइरहेको संरक्षणकर्मी बताउँछन् । 

नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थिक महत्वलेयुक्त शालिग्राम शिला गिटीमा परिणत हुँदै गएका शालिग्रामका अध्येता रङ्गराज आचार्यले बताउनुभयो ।

शालिग्रामको धार्मिक महत्व
आचार्यका अनुसार भगवान विष्णु पतिब्रता वृन्दाको श्रापका कारण शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहनुभएकाले शालिग्रामलाई भगवान् विष्णुको अंश मानेर हिन्दूधर्मावलम्वीले पूजा गर्ने गर्दछन् । 

त्यसका साथै पञ्चतत्वले बनेको मानव शरीर संरक्षण र सम्वद्र्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा गर्ने गरिन्छ । मृत्युशैयामा रहँदा शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा त्यस व्यक्तिलाई मोक्ष प्राप्त हुने विष्णु पुराणमा उल्लेख छ । 

ब्रह्मपुराणमा पनि शालिग्रामबारे चर्चा गरिएको छ । सो पुराणमा शालिग्रामको आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ । त्यसमा उल्लेख भएअनुसार शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन् । 

शालिग्राममा प्राकृतिकरुपमा नै शङ्ख, चक्र, गदा, पद्म आकार कुँदिएको पाइन्छ । यस्ता चिन्ह अङ्कित शिला अत्यन्त कम मात्रामा भेटिने र ती बहुमूल्य हुने आचार्यले जानकारी दिनुभयो । स्कन्दपुराणमा उल्लेख भएअनुसार यस्ता शिलाबाट सर्पभय, अग्निभय, दुःख, दारिद्रय नास हुन्छ । केवल पद्म आकारको शिला पनि शुभदायक हुन्छ । कुनै शिलालाई वराह शिला भनिन्छ । शूल र कमलको चिहृन अङ्कित शिलालाई ‘वैनतेय’ शिला भनिन्छ ।

धार्मिक ग्रन्थमा टुक्रिएको, टुटेफुटेको शालिग्राम पूजा गर्नु हुँदैन भनिएको छ । दाम्पत्यजीवन सफल र सौभाग्यशाली बनाउन चाहनेले तुलसीदल विना शालिग्राम पूजन गर्नु हुँदैन भनिएको छ । ब्रह्मपुराणले जलमा रहेको शालिग्राम नरम र जमिनमा रहेको कडा तथा सुख्खा हुन्छ भनेको छ । दुवै शिला पुजनीय छन् । घरमा पूजा गर्ने शालिग्राम कालो चिल्लो हुनुपर्छ भनिएको छ । शालिग्रामको नित्य उपासना गर्ने व्यक्ति निरोगी र पूर्ण आयुको हुने र उसका ब्रहृमहत्यादि ठूला पाप भए पनि सबै पखालिने कुरा स्कन्दपुराण हिमवत्खण्डमा बताइएको छ ।

म्याग्दीका पं नीलकण्ठ आचार्यका अनुसार मृत्युपछि वैकुण्ठबास चाहनेले हरदम शालिग्रामको उपासना गर्नुपर्ने विषयको चर्चा पुराणमा छ । पितृश्राद्धमा शालिग्रामको जल, विष्णुपादुका अनिवार्य मानिन्छ । 

आर्थिक महत्व
शालिग्राम धार्मिक महत्वले मात्रै नभई आर्थिक दृष्टिकोणलेसमेत अत्यन्त महत्वपूर्ण मानिन्छ । शालिग्रामभित्र सुनलगायतका बहुमूल्य धातु हुने भएकाले दामोदरकुण्डदेखि गुल्मीको रिडीसम्मको कालीगण्डकी क्षेत्रबाट व्यापकरुपमा शालिग्रामको चोरी निकासी भइरहेका गुनासा आए पनि त्यसको नियन्त्रण हुन सकेको छैन ।

कालीगण्डकीको शालिग्राम पछिल्लो समय भारतहुँदै तेस्रो मुलुक ९युरोप, अमेरिका० तिर निर्यात भइरहेको भन्ने व्यापक गुनासो सुनिन थालेको भारतको इब्राइमपुरस्थित रंगवेंकटेश मन्दिरका आचार्य टीकादत्त सिग्देलले जानकारी दिनुभयो ।

तेस्रो मुलुकमा शालिग्राम महँगो मूल्यमा बिक्री हुने गरेको बताइएको छ । त्यहाँ संगमरमरको बीचबीचमा शालिग्राम शिला विछ्याइने गरिएको, शालिग्रामलाई फोडेर धातु निकाल्ने गरिएको जानकार बताउँछन् । नेपाल र भारतमै पनि चिल्लो कालो एउटै शालिग्राम लाखौँको मूल्यमा बिक्री हुने गरेको शालिग्रामको महत्वलाई बुझ्नुभएका म्याग्दीका पं भीमनाथ पराजुलीले बताउनुभयो । शालिग्राममा देखिने विभिन्न प्रकारका रेखा तथा चक्र कुनै व्यक्ति विशेषले बनाएको नभई गङ्गामा पाइने एक प्रकारको कीराले बनाउने उहाँले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले शालिग्रामको महत्व धेरै भए पनि त्यसको अवैध चोरी निकासी बढ्दै गएको बताउनुभयो । कालीगण्डकीमा मात्र पाइने शालिग्राम विभिन्न माध्यम हुँदै छिमेकी मुलुक भारतका ठूलाठूला धार्मिकस्थलसम्म पुग्ने गरेका उहाँको भनाइ छ ।

कागबेनी क्षेत्रमा शालिग्राम प्रशस्तमात्रामा पाइने बताइएको छ । उक्त क्षेत्रमा तुलनात्मकरूपले धेरै शालिग्राम पाइने विश्वास गरिन्छ । काली र गण्डकी दुई नदीकाबीचमा रहेको पर्वतबाट हिउँसँग पग्लेर शालिग्राम गण्डकीमा आउने पुजारी सुवेदीको भनाइ छ । 

स्वास्थ्यका लागि अमृत जस्तै हो शालिग्राम
धार्मिक र आर्थिक दृष्टिकोणबाट मात्रै नभई शालिग्राम मानव स्वास्थ्यका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ ।

शालिग्राम छोइएको पानी पिउँदा शरीरलाई समेत फाइदा पु¥याउने पण्डित पराजुलीको भनाइ छ । “यसमा विभिन्न धातु मिसिएका हुन्छन्, त्यसैले वैज्ञानिकले पनि शालिग्राममा भिजाएको पानी पिउनयोग्य हुने प्रमाणित गरेका छन्”, पराजुलीले भन्नुभयो ।

आयुर्वेदिक चिकित्सकले पनि पानीमा शालिग्राम डुबाएर राख्ने र आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने अम्लपित्त, कफ, पेटका विकार, चर्मरोगलगायत रोग निको हुने बताउँछन् । आयुर्वेदक चिकित्सक विष्णु सापकोटाका अनुसार नियमितरुपमा एक महिनासम्म शालिग्राममा तुलसीको पात राखेर एक लिटर पानीमा डुबाएर आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने पेटका विकारसम्बन्धी सम्पूर्ण रोगबाट छुटकारा पाउन सकिन्छ ।  

खल्बलिँदै कालीगण्डकीको जलचक्र प्रणाली
डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्का कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वातावरणविद्ले बताउँदै आएका छन् । 

सर्वोच्च अदालतलेसमेत गत साउनमा नदी उत्खनन्, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ तर चोरी निकासी भने रोकिएको छैन । पछिल्लो समय मानवीय अतिक्रमणका कारण सङ्कुचित हुँदै गएको पवित्र कालीगण्डकी बचाउनका लागि युवा अभियानकर्मीले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियानसमेत सुरु गरेका छन् । यति हुँदाहुँदै पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन्, अतिक्रमण र नदीजन्य पदार्थ र बहुमूल्य दुर्लभ शिला शालिग्रामको चोरी निकासी भने रोकिएको छैन ।

नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिराका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । पछिल्ला वर्षमा कालीगण्डकी नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्चरुपमा बढ्दै गएको छ ।

सर्वोच्चको अन्तरिम आदेश
कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको हो ।

‘कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी ‘रिजभ्र्वायर’ बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्राम निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी विपक्षीका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ ९२० बमोजिम अन्तरिम आदेश जारी गरिएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

कालीगण्डकी बचाउन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान
कालीगण्डकी नदीको सौन्दर्यलाई क्षयीकरण हुन नदिन युवाको समूहले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’ का रुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएको छ ।

अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध लक्षित छ । राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताउनुभयो । यस कविता शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश हुने अभियानले जनाएको छ । 

कालीगण्डकी नदीमा भइरहेको अतिक्रमण रोक्न र नदीको महिमालाई उजागर गर्न   साहित्यको सहारा लिनुपरेको अभियन्ता बताउँछन् । यहाँका नदी र पर्यावरणप्रेमी स्वयंसेवी युवाको पहलमा अभियान अगाडि बढिरहेको छ । अभियानले बालुवा, गिटी उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको दोहनको चक्र सबै मिलेर तोड्नुपर्ने बताउँदै आएको छ । यथाशक्य चाँडो नदीलाई प्राकृतिक लयमा नफर्काउने हो भने कालीगण्डकीको अस्तित्व नै नामेट हुने अभियानकर्मीको भनाइ छ । 

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal