नेपाल-तालिवान कनेक्सन : त्यो जहाज अपहरण काण्ड

विराट अनुपम

इटहरी,२३ भदौ– हाल तालिवानले नियन्त्रण कायम गरेको दक्षिण एसियाली राष्ट्र अफगानिस्तानसँग नेपालको सम्बन्धको आयाम धेरै फराकिलो छैन । नेपाल-अफगानिस्तान कनेक्सन मुलतः ‘युद्ध’ को सेरोफेरोमा नै अघि बढेको पाइन्छ ।

दुई सय वर्ष अगाडिको बेलायत-अफगान युद्धदेखि अफगानिस्तानमा अमेरिकी कब्जाको लडाइँमा नेपालका गोर्खा सैनिकहरू जोडिन्छन् । यस्तै सुगौली सन्धिपछि रणजीत सिंहको पन्जाबी सेनाको तर्फबाट लडेका बलभद्रको सम्बन्ध पनि अफगानिस्तानसँग छ । अमेरिकी कब्जा भएपछि यूरोप र अमेरिकी कम्पनी तथा दूतावासमा सुरक्षा क्षेत्रमा काम गर्ने नेपालीको पनि अफगानिस्तान कनेक्सन छ ।

तर, यी सबैभन्दा फरक अर्को सन्दर्भ यहाँ उप्काउन गइरहेका छौं । सन् १९९९ को डिसेम्बरमा तालिवान मुछिएको एउटा घटनाले नेपाल र भारतको सम्वन्धमा नै चिसोपन आएको थियो । त्यो घटना हो- नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको एयर बस ३०० जहाज अपहरण । सन् १९९९ डिसेम्बर २४ अर्थात २०५६ पुष ९ गते भएको जहाज अपहरणले विश्वव्यापी चर्चा पाएको थियो ।

विमान अपहरणको कथा

इन्डियन एयरलाइन्सको फ्लाइट नम्बर आईसी ८१४ को जहाज त्रिभुवन विमानस्थलबाट चालक दलका ११ सदस्यसहित १८९ जना यात्रु बोकेर उड्यो । उडान नेपाली समयअनुसार अपरान्ह ४ बजे भएको थियो । नेपाली आकाश हुँदै दिल्ली उडेको जहाज ३० मिनेटपछि भारतीय आकाशमा पुग्नासाथ अपहरणमा परेको त्यसबेला न्यूयोर्क टाइम्सले लेखेको छ ।

अपहरणकारीले यात्रुदेखि चालक दलका सदस्यहरुलाई आतंकित गरेर जहाज आफ्नो पकडमा लिन थाले । दी प्रिन्ट डट आइएनमा उल्लेख भएअनुसार पाँच हतियारधारी आतंकवादी चढेर जहाज अपहरण गरेका थिए । प्रिन्टका अनुसार पाँचजनामा तीनजना भारतीय जेलबाट हालसालै रिहाइ भएकाहरू थिए ।

एभिएसन सेफ्टी डट नेटका अनुसार जहाजको इन्धन घट्दै गएपछि अपहरणकारीले जहाज भारतको अम्रितसार विमानस्थलमा जबर्जस्ती अवतरण गर्न लगाए । अपहरणकारीलाई अटेर गर्ने एक यात्रुको हत्या गरियो । हत्या गरिएका यात्रु थिए रुपिन कटियाल ।

भारतीय अधिकारीहरूले इन्धन नहाल्ने भनेपछि जहाज उनीहरूले पाकिस्तानको लाहोर विमानस्थलमा अवतरण गर्न खोजे । पाकिस्तानी अधिकारीहरूले त्यो चाल पाएर विमानस्थल बन्द गरिदिए । तर, पाइलटले कन्ट्रोल टावरलाई इन्धन नभरेमा जहाज दुर्घटना हुने भन्दै कल गरे । त्यसपछि आपतकालीन अवतरण भयो ।

अवतरणपछि अपहरणकारीले खाना, पानी र इन्धनको माग गरे । सबै माग पूरा भयो । त्यसपछि जहाज अफगानिस्तानको राजधानी काबुलको विमानस्थलमा पुग्यो । रात्रिकालीन अवतरण सुविधा नभएकोले त्यहाँ अवतरण हुन पाएन । एभिएसन सेफ्टी नेटका अनुसार त्यसपछि ओमानको मस्कट हुँदै युएइको दुवईमा अवतरण प्रयास भएको जहाजलाई अवतरण गर्न दिइएन ।

अन्ततः जहाज डिसेम्बर २५ मा दुबईको मिनार एयर बेस नामक अलि दुर्गम क्षेत्रमा अवतरण भयो । त्यहाँ खाना र इन्धन प्राप्त भएपछि २७ यात्रुलाई बाहिर निस्कन अनुमति दिइयो । त्यसको भोलिपल्ट डिसेम्बर २६ मा अफगानिस्तानको कन्दहर विमानस्थलमा जहाज अवतरण भयो । अनि त्यहीँबाट शुरू भयो अपहरणकारीको बार्गेनिङ ।

कास्मिरको पृथकतावादी आन्दोलन गरिरहेको पाकिस्तानी नेता मोउलाना मसुद अझरसहित अरु ३५ गुरिल्लाको रिहाइ, २० करोड अमेरिकी डलरलगायतका माग अपहरणकारीले भारतसमक्ष राखेका थिए ।

त्यसबेला तालिवानको नियन्त्रणमा थियो अफगानिस्तान । कन्दहर तालिवानको आधार क्षेत्र । तालिवानकै आग्रहमा डिसेम्बर २६ मा संयुक्त राष्ट्रसंघ र भारतीय प्रतिनिधि बोलाइयो । उनीहरूले अपहरणकारीसँग समन्वय प्रयास गरे । समन्वयकै चरणमा २७ डिसेम्बरमा अपहरणकारीहरूले आफ्ना माग पूरा नभए सबै यात्रुलाई मार्ने धम्की दिए । तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीले केही माग पूरा गरे । बाजपेयीले आतंककारीको नाममा पक्राउ परेका तीनजनालाई रिहाइ गरे ।

डिसेम्बर २९ सम्ममा चौतर्फी आग्रहपछि अपहरणकारीले फिरौती र कैदी छुटाउनुपर्ने माग फिर्ता लिए । डिसेम्बर ३१ मा सबै यात्रु र चालक दललाई सकुशल भारत लगियो । अपहरणबाट फिर्ता भएका यात्रु र चालक दलका सदस्य लिन भारतीय विदेशमन्त्री जसवन्त सिंह पुगेका थिए । तालिवानले अपहरणकारीलाई देश छोड्न १० घण्टाको समय दिए ।

यो घटनामा भारतीयहरूले पाकिस्तान र तालिवानको मिलेमतो भएको दावी गर्दै आएका छन् । पाकिस्तान र तालिवानले भने सार्वजनिकरुपमा यसको खण्डन गरेका छन् । सन् २००० को जनवरी ५ मा न्यूयोर्क टाइम्समा प्रकाशित अन्तर्वार्तामा क्याप्टेन देभी सरनले कन्दहर पुगेपछि तालिवानबाट अपहरणकारीले थप बन्दुक र ग्रिनेडहरू पाएको बताएका थिए । उनको भनाइबाट घटनामा तालिवान कनेक्सन देखिन्छ । अपहरणकारीलाई कुनै सजाय नदिई देश छोड्ने अल्टिमेटम दिएबाट पनि पनि शंका उत्पन्न हुन्छ ।

निर्दोष एक नेपाली १४ वर्ष जेलमा

सन् २००० को जनवरीमा अपहरणमा संलग्न रहेको आरोपमा १० जनालाई हत्या, षडयन्त्र र अपहरणको मुद्दा चलाइयो । डेकन हेराल्डका अनुसार मुद्दा चलाइएकामा सातजना पाकिस्तानी, दुईजना भारतीय र एक नेपाली थिए ।

झूटो मुद्दा खेप्ने नेपाली थिए युसुफ नेपाली भनिएका भूपालमान दमाई । दमाईलाई पन्जाब र हरियाणा अदालतले सन २०१४ को फेब्रअरीमा निर्दोष भन्दै सफाइ दिएको थियो । १४ वर्ष जेलमा बिताएर ५४ वर्षका दमाई गोरखपुरसम्म रेल हुँदै नेपाल आएका थिए ।

नेपाल-भारत सम्बन्धमा दरार

सन् १९९९ को इन्डियन एयरलाइन्सको जहाज अपहरण भएपछि नेपाल-भारत सम्बन्धमा दरार आयो । अपहरणको समयमा भारतका लागि नेपाली राजदूत भेषबहादुर थापा थिए भने उपप्रमुख मदनकुमार भट्टराई थिए ।

राजदूत नभएकोले भट्टराईले आफैं त्यो तनावपूर्ण परिस्थितिको सामना गरेको बीबीसी नेपालीसँग दुई वर्ष अगाडि बताएका छन् । जहाज अपहरण काण्डले राजा वीरेन्द्रको डिसेम्बर २९ को कार्यक्रम नै रद्द गर्नुपरेको उनी बताउँछन् ।

जहाज अपहरणपछि नेपाली आकाश असुरक्षित रहेको भन्दै भारतले नेपाललाई एयर मार्सल राख्न दबाब दिन थाल्यो । एयर मार्सल भनेको जहाजमा हतियारसँगै आउने सुरक्षाकर्मी हुन् ।

नेपालले भारतीय एयर मार्सललाई नेपालमा मान्यता दिएको त सार्वजनिक भएको छैन । तर, भारतीय जहाजहरूमा एयरमार्सल आउने, आफैं यात्रुहरूको थप सुरक्षा जाँच गर्ने र विमानबाटै फर्किएर भारत जाने कुरा सार्वजनिक चर्चामा पटकपटक आएका छन् । नेपाल सरकारले भने यस बारेमा केही बोलेको छैन ।स्रोतः नेपालप्रेस

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal