रोपाइँ पो आएछ…

 मथुरा खनाल

असारे भाका घन्किन थाले
रोपाइँ पो आएछ
हाई रोपाइँ पो आएछ
मानो खाएर मुरी उब्जाउने
बेला पो भएछ
हाई बेला पो भएछ

रोपाइँ आएको र असारको महत्त्वबारे यो असारे गीतले राम्रैसँग वर्णन गरेको छ । हुन पनि हो, यतिखेर उच्च पहाडी क्षेत्र, मध्यपहाड, भित्री मधेस तथा तराईमा रोपाइँको रौनक छाएको छ । सानोछँदा हजुरबा हजुरआमाहरू भन्नुहुन्थ्यो– ‘असारको महिनामा असुरोको पात टिपेर फाले पनि जाग्छ । असार महिना जुनसुकै बिरुवा रोप्ने समय हो । चाहे त्यो अन्नबाली होस् वा फलपूmल । असार त मुठी रोपेर मुरी फलाउने समय हो । असारे रोपाइँका दिनमा मानिसको मृत्यु भए पनि शवलाई ढाकेर रोपाइँ गर्नु पर्छ भन्ने कथनसमेत प्रचलित छ । यो महिनामा त अल्छी गर्नै हँुदैन, गर्नेलाई त अनिकाल लाग्छ । असारको महिनामा त अल्छीलाई मात्र निद्रा लाग्छ भन्ने भनाइ पनि छ ।

रिम झिम पानी है परे
स्याखुले ओतौँला,
हाई स्याखुले ओतौँंला
तीखे चन्दे्र हल गोरु बाँधी
गहिरी खेत जोतौँला,
हाई गहिरी खेत जोतौँला

कसैले असारको महिमा वर्णन गर्नै पर्दैन । हाम्रा लोकजीवनमा भिजेर आएका यस्ता असारे भाकाले नै असारको महिमा गाइरहेको हुन्छ । यो बेला झरीको कुनै मतलव हुँदैन । दबदबे हिलो छुन कसैलाई घिन लाग्दैन । परिश्रम गर्न कोही पछि पर्दैन । त्यसमाथि आफ्नो मनको बह र मायापिरतीलाई पनि बाउसे र रोपाहारले हिलो सम्याउने तथा रोपाइँ गर्ने क्रममा छताछुल्ल पार्छन् । त्यसैले असार रोपाइँका लागि मात्र नआएर लोकजीवनको एउटा अभिन्न अङ्गको रूपमा पनि हरेक साल आउने गर्छ ।

असारे मासको दबदबे हिलो
छुनलाई घिन लाग्यो
हाई छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा
छबिस रिन लाग्यो
हाई छबिस रिन लाग्यो

यसरी हाम्रा किसान दाजुभाइका यस्ता अनिगिन्ती बहहरू यही बेला पोखिन्छन् । त्यसैले असार रोपाइँका लागि मात्र नआएर मनका बह बिसाउने चौतारीको रूपमा पनि आउँछ । अरू त अरू श्रीमतीले समेत आफ्नो श्रीमान् अल्छी भएमा गीतबाटै सम्झाउँछिन् । रोपाइँको समयमा बहाना गरी आलस्य गर्नेलाई पनि गीतबाट नै छेड हानिन्छ ।

छप छपी बीउमा गोडिम्
असारे रोपाइँलाई,
हाई असारे रोपाइँलाई
जहिलेमा आउँछु सुतेकै देख्छु
के भयो तपाईंलार्ई,
हाई के हुन्छ तपाईंलाई ?

माझी दाइले माछी है छोप्यो
तारको बल्छीले,
हाई तारको बल्छीले
असारको महिना ढाड दुख्यो अरे
के भन्छ अल्छीले ?
हाई के भन्छ अल्छीले !!

कृषि उत्पादनका लागि हाम्रो देशमा महिलाको भूमिका ठूलो छ । विकसित देशमा जस्तो कृषि यन्त्रको विकास नभएकोले खेतको कामदेखि रोपाइँको तयारीका लागि घरभित्र गर्ने काममा महिलाहरू यो बेला झनै व्यस्त हुन्थे । खासगरी रोपाइँका लागि दुना, टपरी गाँस्ने काममा असार आउनु अघिदेखि नै महिलाहरू जुट्थे । दुना र टपरी मालाजस्तो बनाएर घरको बतासीमा सजाएको जस्तै गरी राख्थे । जुन धान रोप्ने समयमा खाजा (अर्नी) खुवाउन प्रयोग गरिन्थ्यो । अहिलेको जस्तो कागजका पिलेट भएको भए सायद उनीहरू रातमा आराम गर्न पाउँथे होला । जतिसुकै थकाइ लागे पनि रोपाइँका लागि गोरु, हली, कोदाले, खेतमा पानी र तयारी बीउ सबै जुटेको अवस्थामा उनीहरू यति खुसी देखिन्थे कि कामलाई उनीहरू मनोरञ्जनका रूपमा लिएर आनन्द लिन्थे । पर्म गर्ने चलनले त झन् दिदीबहिनीहरूको भेटघाट हुने, सुखदुःखका कुरा असारे गीतमा गाउँदै सुनाउने पनि गरिन्थ्यो । मनोरञ्जनका साधन केही थिएनन् । अहिलेका युवा दिदीबहिनीहरूलाई जस्तो फुर्सद र टिकटक बनाउन मिल्ने मोबाइलको सुविधा पनि थिएन । काममा नै जोस, जाँगर, उत्साह थियो । कसैले थकाइ मेट्न विश्राम लिएमा गीतमै सुनाइन्थ्यो । जुन रमाइलो र मार्मिक पनि हुन्थ्यो ।

धनीका छोरालाई
दिएँ भन्थेउ बाबा
चामलमा घुन लाग्यो
छोरीलाई सुख
भन्छौ बाबा
मेलैमा जून लाग्यो,
हाई मेलैमा जून लाग्यो
यस्ता रमाइला र उत्साहजनक संस्कार र रीतिरिवाज भएको कृषिप्रधान देश हो हाम्रो ।

धान धान खेतको महत्त्व
कृषिप्रधान देश नेपालमा धेरै प्रकारका उपजहरू उत्पादन गरिन्छ । सबै उपजको आ–आफ्नै महत्त्व रहेको पाइन्छ । यी उपजहरू खाद्यवस्तुका रूपमा मात्रै नभएर अन्य प्रयोजनका हिसाबले पनि विशेष महŒव राख्छन् । धान, जौ, मास आदि जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा नभई हुँदैन । कोदो, जौ, भटमास र फापरलाई पोषिलो र औषधिजन्य खानाको रूपमा हेरिन्छ । चामल मिठो र प्रतिष्ठित खानाको रूपमा दरिएको छ भने प्रत्येक संस्कार तथा चाडपर्वहरूमा धानचामलको प्रयोग अत्यधिक हुन्छ । चाहे त्यो दशैँको अक्षताको रूपमा होस् वा विवाह, ब्रतबन्ध, पास्नी, न्वारनमा पाक्ने परिकारहरू पुलाउ, खिर र सेलरोटी आदि पकाउँदा होस् । केही दशक अघिसम्म नेपाली समाजमा धान र धान खेतको विशेष किसिमको सामाजिक, र्आिर्थक र सांस्कृतिक महŒव थियो । धान खेत धेरै हुने किसान सम्पन्न परिवारको रूपमा चिनिन्थ्यो । त्यसमा प्रायःजसो समाजका अगुवा कहलिएका मुखिया, जिम्मावाल र जमिन्दारहरू हुने गर्थे । उनीहरूको समाजमा प्रतिष्ठा नै बढी हुने गथ्र्यो । यसले समुदायका क्रियाकलापहरूमा उनीहरूको हैकम पनि चल्थ्यो । धान खेत नहुने परिवारलाई सामाजमा हेयको दृष्टिले हेर्ने र गरिब मानिन्थ्यो । पहाडी क्षेत्रमा धेरै किसान परिवारको त धान खेत नै हुँदैनथ्यो । धेरै धान खेत धनीको हातमा हुन्थ्यो । उनीहरूका गैरीखेत र फाँटहरू हुन्थे । जहाँ सिँचाइको राम्रो सुविधा हुन्थ्यो । उत्पादन पनि राम्रो हुन्थ्यो । तर धनी परिवारका पुरुषले भने हिलो पनि छुँदैैनथे । सबै काम खेताला लगाएर गर्ने चलन थियो । समुदायका प्रत्येक घरधुरीबाट एक–एक दिन समाजका अगुवा कहलिएका मुखिया, जिम्मावाल र जमिन्दारको रोपाइँमा श्रमदान गर्न जाने प्रथा पनि थियो । धनी किसानको रोपाइँमा बेठी हालिन्थ्यो । रोपाइँमा बेठी हाल्दा पन्चेबाजा बजाइन्थ्यो । भोज खुवाइन्थ्यो । एक किसिमको उत्सव नै हुन्थ्यो । त्यसमाथि असारे गीत गाउँदा त झन् रमाइलो थपिन्थ्यो । यसलाई ठूलो रोपाइँ पनि भनिन्थ्यो । दिउँसोको खाजा खेतको मालिकले खेतालाहरूलाई खुवाउने चलन थियो । खेतमा गरिने भोज नै हो यो । लहरै बसेर खाजा खाँदाको दृश्य साह्रै रमाइलो हुन्थ्यो । सहनाइ र झ्याली बाजामा असारे गीत गाएको हेर्न बाहिरी मानिसहरू पनि झुम्मिन्थे । धान स्याहार्ने समयमा पनि बेठी लगाउने चलन थियो ।
पहिले पहिले छोराका लागि कन्या माग्न जाँदा कन्याका बाबुआमाका तर्फबाट धान खेत कति छ भनी सोध्ने चलन थियो । छोरीका लागि वरको घर हेर्न जाँदा पनि परालको कुनिउँ कत्रो रहेछ भनेर हेरिन्थ्यो । धेरै किसानका हातमा धान खेत कम थिए । भए पनि सिँचाइको सुविधा नभएका वर्षे झरीको भल छोपेर रोपाइँ गर्नुपर्ने टारीखेत मात्र हुन्थे । यस्ता खेतमा धान उत्पादन गर्न धेरै परिश्रम गर्नुपथ्र्यो तैपनि चामलको महŒवले किसानहरू असार महिनाभरि रोपाइँमा रमाउँथे । असार महिनामा आकाशे पानी नपरेमा साउनसम्म पर्खेर रोपाइँ गर्ने गर्दथे किनकी धान रोपाइँमा समाजिक इज्जत र प्रतिष्ठा थियो ।
समाजमा लैङ्गिक विभेद विद्यमान थियो । यो विभेद दैनिक व्यवहार र खानपानमा पनि लागू हुन्थ्यो । धान उत्पादनमा महिलाको धेरै पसिना बग्थ्यो तर चामल घरका पुरुष सदस्य र पाहुनाहरूका लागि मात्र पकाइन्थ्यो । उनीहरूले चामलको भात खान चाडपर्व नै पर्खनु पथ्र्याे । आजभोलि जस्तो यातायातको सुविधा थिएन । चामल किन्नका लागि दुईदेखि चार दिन लगाएर तराई–मधेसमा गएर मानिसले बोकेर पहाडी जिल्लाका दुर्गम स्थानहरूमा पु¥याउनु पथ्र्याे । यस्तै कारणले होला, नेपाली समाजमा धान उत्पादनलाई विशेष महŒवका साथ हेरिएको । त्यसमाथि नेपालको प्रमुख खाद्यान्न बाली पनि यो हुँदै हो । त्यसैले असारको पन्ध्रलाई धान दिवस वा किसान दिवस भनेर मनाइँदै पनि आएको छ । नेपालको भौगोलिक बनावट, हावापानी र यहाँको मौसमअनुसार असार महिनालाई वर्षे धान रोपाइँका लागि उत्तम मानिन्छ ।

कृषिबाट टाढिँदै
केही दशक यताको परिस्थिति भने अलि परिवर्तन हुँदै आएको देखिन्छ । कृषि मन्त्रालयको तथ्याङ्कलाई हेर्ने हो भने करिब ६५ प्रतिशत जनता कृषिमा संलग्न छन् । त्यसमा पनि महिलाको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी नै देखिन्छ । तर व्यवहारमा हेर्ने हो भने नयाँ पुस्ताका युवा कृषि पेसाबाट टाढिँदै गएका छन् । उपजको बजार भाउ नपाउनु, सिँचाइको सुविधा नहुनु, बन्द, हड्ताल र महामारीका कारण उत्पादित कृषि उपज उपभोक्तासम्म पु¥याउन नपाउनुजस्ता कारणले कृषिमा लागेका युवा पनि सन्तुष्ट हुन सकेका छैनन् । आफ्नो देशमा रोजगारीको अवसर नभएर होला वैदेशिक रोजगारीमा जाने युवाको लर्को बढेको बढ्यै छ । बढ्दै गएको सहरीकरण र वैदेशिक रोजगारीको चलनले पछिल्लो पुस्ताका युवा कृषि पेसामा लागेको देखिँदैन । वैदेशिक रोजगारीमा कमाएको धनले तराईमा र सहरमा घर–घडेरी किन्ने प्रचलन बढ्दो छ । सहरका घरहरूमा कौसी खेती गरेर सामाजिक सञ्जालमा तस्बिर राख्न रमाउने समुदायको वृद्धि भएको छ । पहाडका धेरै जग्गाजमिन छाडेर अन्यत्र बसाइँ सर्नेको लहर पनि कम छैन । यसबाट पहाडी क्षेत्रका सुविधा भएका गाउँघरहरू पनि रित्तिँदै गएका छन् । घरहरू भत्किने अवस्थामा पुगेका छन् भने खरबारीमा काँडा, खेतबारीमा वनमारा मौलाएको देख्न पाइन्छ । पहाडका कृषियोग्य जमिन बाँझिदै गएका छन् भने सहरी क्षेत्र र तराईका उर्वर भूमिलाई खण्डीकरण गरेर बेच्ने कामले व्यापकता पाएको छ । सहरीकरणका कारण वनजङ्गल फडानी, काठ चोरीका घटनाले तराईको जैविक विविधतामा ह्रास आएको छ । चुरे विनाशले त झन् तराईका पानीका मुहान नै सुकेका छन् । मनसुनको खहरेले खेतीयोग्य जमिन कटान गर्नेक्रम बढ्दो छ । अन्नको भण्डार भनिने तराईका फाँटहरू पनि लगानी धेरै उत्पादन कम हुने र विदेशबाट आयातीत खाद्यान्न किन्दा सस्तो पर्ने हँुदा कृषि पेसालाई नयाँ पुस्ताका किसानले नरुचाएको देखिन्छ । सिँचाइको सुविधा नभएका जिल्लामा वर्षायाममा पनि धेरैजसो धान खेत बाँझो देखिन्छ ।
नयाँ पुस्ताको कृषि क्रियाकलापहरूमा मात्र होइन, खाद्य निर्भरतामा पनि ठूलो परिवर्तन आएको छ । मकै, गहुँ, जौ, कोदो, फापरभन्दा चामलको भात, मःमः, पिजा, चाउमिन, चाउचाउ र पाउरोटीजस्ता तयारी खानालाई धेरै प्रयोग गर्छन् । कतिपयलाई त धान, गहँु, जौ, कोदो र फापरको बोट छुट्टयाउन पनि मुस्किल पर्छ । आफ्नो देशमा पाइने खाद्य उत्पादन, औषधिजन्य बोटविरुवा तथा जडीबुटीको पनि महŒव नबुझ्ने अवस्था सिर्जना हँुँदैछ । कम्प्युटर, मोबाइल र टिभीजस्ता साधनमा नै व्यस्तता बढेको छ । यसबाट समाजमा सकरात्मकभन्दा नकारात्मक प्रवृत्ति मौलाएको देख्न र सुन्न थालिएको छ । महँगा कपडा, गरगहनाको प्रयोग र पार्टी, पिकनिक, भोजभतेरा ज्यादा रुचि जाग्न थालेको देखिन्छ । असारको महिना खेतमा देखिने भीडभाड आजभोलि रेष्टुरेन्ट, पार्टी प्यालेसतिर लम्किएको देखिन्छ । यो सुखद पक्ष भने होइन ।
मध्यपुस्ताका किसानहरू भने सकी नसकी आ–आफ्नो परम्परालाई धान्दै खेतबारी बाँझो नराख्न जुटिरहेका छन् । अहिले नेपालका मधेस, भित्री मधेस, उपत्यकाहरू र केही पहाडी क्षेत्रमा असारको महिनामा जुन रोपाइँको रौनक देखिन्छ, त्यो मध्यपुस्ताका किसानहरूको सक्रियताले मात्र सम्भव भएको हो । तर उनीहरू पनि आफ्ना सन्तानलाई भने कृषिमा भन्दा अन्य क्षेत्रमा स्थापित हुनका लागि पे्ररित गरिरहेका छन् । जोश, जाँगर र क्षमता भएका ऊर्जावान पुस्ताले अर्काको देशमा पसिना र रगत बगाउने, वृद्धवृद्धा र बालबालिकाहरू मात्र देशमा हुने वातावरणमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ । कृषि प्रधान देशमा यस्तो अवस्थामा सुधार ल्याइएन भने कृषि उपजमा समेत परनिर्भरता बढ्नेछ । राज्यले सधैँभरि व्यापार घाटा व्यहोर्नपर्ने हुन्छ । यसरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कठिन हुन्छ । नेपाल जलस्रोतमा धनी देशमा हो । यहाँका धेरैजसो ठाउँमा वर्षमा तीन पटक खेती गर्न सकिन्छ । प्राकृतिक स्रोत र साधनमा, जैविक विविधतामा, मानव संसाधनमा तथा परम्परागत ज्ञान र सीपमा पनि नेपाल धनी राष्ट्र हो । यसलाई बेलैमा चिनेर संरक्षण गर्नु नै कल्याणको मार्ग हो । स्रोतः गोरखापत्र

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal