छुट्टै पोसाकमा गर्भवती प्रहरी

चाँदनी हमाल

काठमाडौँ,२२ माघ- प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती हुनुहुन्छ । केही अघिसम्म प्रहरी पोसाकबिनै उहाँ कार्यालय जानुहुन्थ्यो । अहिले भने उहाँ बेग्लै पोसाकमा कार्यालय जानुहुन्छ । नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उहाँ जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् । 

गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो । पाइन्टमा बेल्ट लगाउनु शिशुका लागि ठिक हुँदैन । छालाको बुट कसेर बाँध्ने गर्दा गर्भावस्थामा खुट्टा सुनिने, हिँड्न गाह्रो हुने गथ्र्यो । 

चिकित्सकले सजिला कपडा लगाउन सुझाव दिने गरेको सम्झँदै भुसालले भन्नुभयो, “बस्न, निहुरिन, शौचालय जान र हिँडडुल गर्न सो पोसाकमा गर्भवती प्रहरीका लागि सहज थिएन ।” अहिले पाएको पोसाक एकप्रकारले वरदान जस्तै बनेको उहाँ बताउनुहुन्छ । गाउनको डिजाइनको सो पोसाकले लगाउन र काम गर्न सजिलो भएको अनुभव उहाँ जस्तै गर्भवती प्रहरी बताउहुन्छ ।

केही दिनअघि बच्चा जन्माउनुभएकी महिला प्रहरी सञ्जु गुरुङ सर्टपाइन्ट लगाउन गर्भवती हुँदा नसकेको अनुभव सुनाउनुहुन्छ । गर्भवती अवस्था सुहाउँदो प्रहरी पोसाक नहुँदा अन्य सर्वसाधारण महिलाले लगाउनेखालका कुर्थासुरुवाल लगाएरै कार्यक्षेत्रमा खटिएको उहाँले बताउनुभयो । 

महिला प्रहरी अनिता भुसालका अनुसार पनि हरेक महिना बढ्ने गर्भका कारण आफैँ नयाँ प्रहरी पोसाक सिलाएर लगाउन कठिन थियो । उहाँले भन्नुभयो, “गर्भवती भएको जानकारी कार्यालयमा गराएपछि सहज हुने कपडा लगाएर आउनु भन्नुहुन्थ्यो, हामी त्यसै गथ्र्यौं ।” अब गर्भवती हुने महिला प्रहरीका लागि पोसाककै कारण अप्ठ्यारा दिन सकिएको उहाँ सुनाउनुहुन्छ । 

नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोसाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुवाती चरणमा ३७० जना गर्भवती प्रहरीलाई गर्भावस्था अनुकूलको पोसाक दिइएको छ । 

गर्भवती प्रहरी कर्मचारीलाई पोसाकका कारण काम गर्न गाह्रो भएको विषयलाई नेपाल प्रहरीले गम्भीरतासाथ मनन गरी विदेशको चलनचल्तीको पनि अध्ययन गरेर गर्भवती प्रहरीलाई छुट्टै पोसाक दिनुपर्ने निर्णय भएको हो । यसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सक्रियता रहेको बताइएको छ । 

मानिसले मानिस जन्माउने अवस्थालाई नेपाल प्रहरीले संवेदनशील अवस्था ठानेर त्यसका लागि हरसम्भव सहजीकरण अभियान थालेको हो । यस अवधारणालाई मूर्तरूप दिन प्रहरी प्रधान कार्यालयले छुट्टै कार्यविधि बनाएको छ । जसमार्फत पहिलो चरणमा वितरण गरिएको पोसाकसम्बन्धमा थप सुझाव लिइने छ । त्यसपछि आवश्यकता अनुसार परिमार्जन गर्दै गर्भवती प्रहरीका लागि दिइने पोसाकलाई अन्तिम रूप दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबइन्स्पेक्टर देवी दाहालका अनुसार पोसाक वितरण गर्नुअघि देशभरका महिला प्रहरीमध्ये कति गर्भवती छन् भनेर नामावली सङ्कलन गरी नाप लिएर सिलाई प्रदेशमा पठाइएको छ । वितरण गरिएका पोसाकका सवालमा सुझाव पनि प्रशस्त आएका छन् । जसमा सुरुवाती पहल राम्रो भएको भन्दै धेरै गर्भवती प्रहरीले सराहना गरेका छन् ।  

गाउनसँगै लगाउने सर्ट भने नदिइँदा अप्ठेरो कायमै छ । कतिपय गर्भवतीले एक/दुई महिनाकै गर्भ हुँदा नापेको कपडाको पोसाक आउँदा लगाउन पाएका छैनन् । जुत्ता कुन लगाउने भन्ने तय भएको छैन र दिइएको पनि छैन । पोसाक सिलाउँदा ‘फ्रि साइज’ को सिलाउन र दायाँबायाँ घटाउन बढाउन मिल्ने गरी सिलाउनुपर्नेमा गर्भवतीले जोड दिएका छन् । 

गर्भवती प्रहरीका लागि अन्य निजामती कर्मचारीले पाउने सुविधासरहको सुविधासँगै कार्य सहजतामा ध्यान दिइन्छ । दाहालका अनुसार गर्भावस्था सुरु भएपछि महिला प्रहरीले पहिलेजस्तो रातदिन खटिनु पर्दैन । गाह्रो उठबसका कार्य पनि लगाइँदैन । जटिल अवस्थाका गर्भवतीलाई हाजिर गरेर घरमै बसेर काम गर्न सकिने वातावरण दिइएको छ । प्रहरी श्रीमती सङ्घले उपत्यकाका महिला प्रहरीका लागि दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा सञ्चालित केन्द्रले महिनाको न्यूनतम दुई हजार पाँच सय शुल्क लिएर शिशु हेर्ने गरेको सुपरभाइजर प्रमिला थापाले बताउनुभयो । कुल ३५ जनाको क्षमता रहेको शिशु स्याहार केन्द्रमा २७ जना महिला प्रहरीले बच्चा राख्ने गरेका छन् । कामका बिचमा केन्द्रको स्तनपान केन्द्रमै बसेर बच्चालाई दूध खुवाउने गर्छन् । जिल्लाका केही प्रहरी कार्यालयमा पनि स्तनपान केन्द्र राख्ने क्रम सुरु गरिएको छ । नेपाल प्रहरीको कुल ८० हजार जनशक्तिमध्ये सात हजारभन्दा बढी महिला प्रहरी छन् ।गोप

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal