सामुहिक फूलखेती फस्टाउँदै स्याङ्जामा

गल्याङ,२०कात्तिक- कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।

जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दसैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिनुभयो । उहाँले पहिलो वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब रु डेढ लाख बराबरको ड्रम र पाइप आफूहरुलाई दिएको बताउनुभयो ।

“यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन लोभलाग्दो छ, लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।” उहाँले यस वर्षको फूलखेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको र ५० प्रतिशत आफूहरुले जनश्रमदान गरेको बताउनुभयो ।

अध्यक्ष थापाले गत वर्ष पनि पालिकाले ५० प्रतिशत अनुदानमा फूलखेती गरिएको बताउनुभयो । “पोहोर साल हावापानी बिग्रियो, पानी धेरै प¥यो र फूल राम्रो उत्पादन नभएकाले रु दुई लाखको मात्र फूल बेच्न सफल भयौँ”, उहाँले भन्नुभयो, “यस वर्ष पहिलो वर्षजस्तै खेती राम्रो छ, करिब रु चार लाख आम्दानी हुन्छ कि भन्ने अपेक्षा छ ।

उहाँले सयपत्री फूलखेतीलाई दिगो बनाउन सिँचाइको समस्या बाधक भएको बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्राविधिक सहयोग उपलब्ध भए पनि सिँचाइको अभावमा व्यवसायलाई दिगो बनाउन सकिन्न कि भन्ने चिन्ता लागेको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाले अनुदानलगायतका प्राविधिक सहयोगलाई यथावत राखे व्यवसाय विस्तार गर्ने सोचमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले भने गाउँपालिकाको पूर्ण लगानी भएकाले बारीचौरमा उत्पादित माला बिक्री गरेर भएको आम्दानी पालिकाको राजस्व शाखामा जम्मा गरेको दाबी गर्नुभयो । उहाँले चार रोपनी जग्गा पालिका आफँैले प्रतिरोपनी रु चार हजार पाँच सय का दरले भाडामा लिएर फूलखेती गरेको जनाउँदै श्रममा खटिने सबैलाई पालिकाले नै पारिश्रमिक भुक्तानी गरेको बताउनुभयो । 

उहाँले कालीगण्डकी फूलैफूलको पालिका बनाउने योजनाअनुरुप पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो । “फूलखेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उहाँले भन्नुभयो, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदन माथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत रु नौ हजार उपलब्ध गराएका छौँ ।”

उहाँका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गावेशीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका काशीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूहले गरेको फूूलखेती उत्कृष्ट रहेको बताउनुभयो । उहाँले फूलखेती गर्ने हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताउनुभयो ।

कृषि शाखाले जुनसुकै मौसममा पनि फुल्ने क्रर्मा जातको हाइब्रिड सयपत्री फूलखेती गर्न कृषकलाई सिफारिस गरेको छ । उहाँले सयपत्री फूल कृषकले बिक्री गर्न नसके बजारीकरणका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । शाखा प्रमुख पौडेलले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वनमा पालिकाभित्र उत्पादन भएका सयपत्री फूल बिक्री गरेको बताउनुभयो ।

कालीगण्डकी पाँच बाँसटारीमा सयपत्री फूूलखेती गर्नुुभएका रविलाल गौडेलले दुुई रोपनी क्षेत्रफलमा लगाइएको तिहार लक्षित सयपत्री फूूल हुर्कंदै गएको बताउनुुभयो । उहाँले सयपत्री फूलबाटै आत्मनिर्भर बन्ने आफ्नो योजनालाई गाउँपालिकाले सहयोग गरेको दाबी गर्नुुभयो । रासस

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal