झोलुङ्गे पुलको जिल्लामा पनि ‘फड्के’को बाध्यता
ढोरपाटन,२९ साउन-झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरु जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् । हिउँदको समयमा खोला तथा खहरेखोलामा पानीको बहाव कम हुँदा सहजै वारपार गरे पनि बर्खामा खोला भने जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन् ।
बागलुङको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घण्टौँ लगाएर लामो यात्रा गरिरहेका छन् । कतिपय ठाउँमा स्थानीयवासीले जनश्रमदान गरी काठको फड्के बनाएर वारपार गर्ने गरेका छन् । फड्केमा वारपार गर्न निकै जोखिम हुन्छ ।
वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गलकोट नगरपालिका–२ मा स्थानीय खानीखोलामा पड्के बनाएका वारपार गरिरहेका छन् । वर्षौँदेखि यहाँ पुल निर्माणका लागि सरोकारवाला निकायलाई माग गरे पनि अहिलेसम्म चासो नदिएको स्थानीयवासी घनबहादुर रानाले गुनासो गर्नुभयो । खानीखोला हिउँदमा निकै सानो हुने हुँदा बालबालिका पनि तर्नसक्ने भन्दै बर्खामा कोही वारपार गर्न नसक्ने उहाँको भनाइ छ ।
खोला बढेपछि आफूहरुले जङ्गलबाट काठ ल्याएर फड्के बनाएर अहिले वारपार गरिरहेको रानाले बताउनुभयो । “यो खोलामा पुल बनाउनका लागि धेरै पटक माग गरियो, अहिलेसम्म पुल बनेको छैन”, उहाँले भन्नुभयो, “बर्खामा धेरै गाह्रो हुने, केटाकेटीलाई एक्लै विद्यालय पठाउन डर, हामी पाका मान्छेलाई त फड्के तर्दा कतै खोलामा खसिन्छ कि भन्ने डर हुन्छ ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलेकाट क्षेत्रमा धेरै खोलानाला भएको हुँदा एकै पटक सबैतिर झोलुङ्गे पुल निर्माण गर्न नसकेको बताउनुभयो । वडा नं २ को खानीखोला खोलामा पुल निर्माणका लागि योजना छनोट गर्ने बेला प्राथमिकतामा राखेर प्रदेशमा बजेट मागे गरेको भन्दै केही समयमै यहाँ पुल निर्माण गर्ने भण्डारीको भनाइ छ । खानीखोलामा बर्खामा मध्यपहाडी लोकमार्गको भल सबै यही मिसिने हुँदा पानीको सतह बढेर वारपार गर्न कठिनाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।
“गलकोट क्षेत्रमा धेरै ठाउँमा पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन्, पालिकाले सबैतिर एकै पटक पुल बनाउने क्षमता हुँदैन । सीमित स्रोतसाधान प्रयोग गरेर काम गर्नुपर्ने बाध्यता छ, तर प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आवश्यक स्थानमा पुल निर्माण गर्छौँ, त्यो राम्रो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो ।
निसीखोला, तमानखोला, भूजीखोला, काठेखोला, ताराखोला, बडिगाडलगायत बागलुङमा ठूलाठूला खोला छन् । यी खोलाका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण भइसकेको छन् । अझै धेरै निर्माण हुनुपर्ने आवश्यक देखिन्छ । ओल्लो गाउँ र पल्लो गाउँ देख्दा नजिक देखिन्छन् तर बीचमा रहेका खोलाको कारण वारपार गर्न घण्टौँ लाग्ने गर्दछ ।
निसीखोला गाउँपालिका–४ झिम्पा र वडा नं ५ कारीगाउँ नजिकै पर्छन् । तर बीचमा पुल नहुँदा वारिपारी गर्न आधा ४५ बढी समय लाग्ने स्थानीय कमल विकले बताउनुभयो । कारीखोलामाथि पुल निर्माण भए तीन मिनेटमै वरपार गर्न सकिने बताउनुहुन्छ । अहिले खोलामा बनाइएको साँघु तरेर वारपार गरिरहेको उहाँको भनाइ छ ।
“दुई गाउँ एकैपट्टी छन्, बीचमा खोला हुँदा आउँजाउ गर्न एक घण्टा बढी लाग्छ, स्थानीयको जग्गाजमिन वारपार छन्, फसल ल्याउँदा सास्ती हुन्छ, यहाँ पुल भएको हुन्थ्यो भने हामीलाई धेरै सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो । कारिखोलामाथि झोलुङ्गे पुल निर्माणका लागि आर्थिक वर्ष २०७९-८० मा सर्भे भएर काम सुरु भए पनि बजेट कटौटी हुँदा पुल बन्न सकेको छैन । चालु आर्थिक वर्षमा पुल निर्माण सम्पन्न गर्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















