म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी,१४ साउन-  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन ।

माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो । शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द थापाले बताउनुभयो । 

“कक्षा ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौँ”, उहाँले भन्नुभयो, “दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।” मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले मासिक रु. ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दशौँ पटक विज्ञापन गरे पनि कसैको दरखास्त परेको छैन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण पठनपाठन प्रभावित भएका सर्वोदय र राष्ट्रिय जनजागृति मावि जस्तै धेरै विद्यालयहरु छन् । 

गाउँका सामुदायिक विद्यालयमा मात्र होइन सदरमुकाम बेनीका सुविधायुक्त निजी विद्यालयले समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको अभाव खेपिरहेका छन् । विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेसामा आएका शिक्षक पनि सहरी इलाकामै खोसाखोस हुने भएकाले दुर्गममा नआएका राष्ट्रिय जनजागृति माविका प्रअ टेकबहादुर राम्जालीले बताउनुभयो । 

पेसाप्रतिको घट्दो आकर्षणले गर्दा शिक्षाशास्त्र पढेका उम्मेदवार शिक्षणभन्दा निजामती सेवातर्फ आकर्षित छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार गतवर्ष म्याग्दीका सात जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामती सेवातर्फ गए । त्यसैगरी शिक्षक सेवा आयोगबाट मधेसी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैँ अभाव हुने अर्को कारण हो ।

शून्य दरबन्दी भएका विद्यालयमा सरकारले शिक्षण सहायता अनुदानस्वरुप १२ महिनाको रकम दिन्छ । यही रकमले करारमा नियुक्त हुने हो । पारिश्रमिक पनि कम हुने भएकाले आकर्षण कमी हुनुको अर्को कारण भएको शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । “विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन्”, उहाँले भन्नुभयो, “अन्यत्र पढाइरहेका शिक्षकले नै पायक पर्ने वा अनुकूलको विद्यालयमा निवेदन दिन्छन् । नयाँ अनुहारले शिक्षण सेवामा आउन चाहेको देखिँदैन ।”

सदरमुकाम बेनी र आसपासमा रहेको सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले हरेक वर्ष विज्ञान वा गणित विषयको शिक्षक टिकाउन सकेका छैनन् । “विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ”, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले भन्नुभयो, “कक्षा ६ देखि विज्ञान विषय अनिवार्य गरिएको छ तर पढाउन जनशक्ति पर्याप्त छैन । सम्बन्धित विषयका जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छन् ।”

गणित, विज्ञान, कम्प्युटर विषय शिक्षण गर्ने जिल्लाकै उत्पादन नहुनु र बाहिरबाट आएकाहरू एक वर्षमै सरुवा मिलाउने भएकाले समस्या दोहोरिएको उहाँको भनाइ छ । शिक्षण लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यवहारिक हुँदा पनि शिक्षक समस्या भएको थापाको भनाइ छ । 

आधारभूत तह कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयमा राखेको छ । एकाइको तथ्याङ्कानुसार म्याग्दीमा एक सय ७५ वटा आधारभूत तह ९कक्षा ६–८० र एक सय १५ माध्यमिक तहमध्ये जम्मा २२–२२ जनामात्र दरबन्दीका गणित र विज्ञान शिक्षक छन् । बाँकी विद्यालयले राहत तथा निजी स्रोतबाट करारका विज्ञान शिक्षक राखेका छन् । विज्ञान र गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । 

गणित शिक्षक हुनका लागि विद्यालय तहदेखि नै ऐच्छिक गणित पढ्न जरुरी छ । तर गणितप्रति विद्यार्थीको आकर्षण छैन । चारवर्षे स्नातक तहमा शिक्षाशास्त्रतर्फ गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गराउने जिल्लाको एक्लो म्याग्दी बहुमुखी क्याम्पस छ । बीएड पहिलो वर्षमा चार जना, दोस्रोमा छ, तेस्रोमा तीन र चौथोमा तीन जना विद्यार्थीले मात्र गणित विषय अध्ययन गरिरहेका छन् । बीएडतर्फ विज्ञान लिएर पढ्ने तीन जनामात्र छन् ।

क्याम्पसले गत शैक्षिकसत्रदेखि विज्ञान र कम्प्युटर विषयको शिक्षक अभाव पूर्ति गर्ने उद्देश्यले बीएडमा विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्ययन÷अध्यापन सुरु गरेको छ । त्यसनिम्ति जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापन गरेका छन् ।

“जिल्लाका विद्यालयमा शिक्षकको धेरै माग भएकाले बीएडमा गणित, विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गरेका हौँ”, म्याग्दी क्याम्पसका प्रमुख गोरख जिसीले भन्नुभयो, “स्नातक तहमा गणित विषय अध्यापन गराउने म्याग्दी क्याम्पसका स्रोत विद्यालय जम्मा पाँच छन् । ती विद्यालयबाट स्नातक पढ्न आउने जम्मा चार–पाँच जना विद्यार्थी हुन् । ती पनि चौथो वर्ष पुग्दासम्म हराइसक्छन् अनि कसरी गणित विषयका शिक्षक उत्पादन हुन्छ ?” रासस

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal