दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्
देउखुरी,१० मङ्सिर– दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।
घोराही उपमहानगरपालिका–६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गर्नुभएको छ । उहाँको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गर्नुभएको थियो । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उहाँले बताउनुभयो । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताउनुभयो ।
“महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गए जस्तो हुन्छ”, उहाँले भन्नुभयो ।
यस्तै, लमही नगरपालिका–५ का सुरज चौधरीले मझौला धान प्रति क्विन्टल रु दुई हजार एक सयमा स्थानीय व्यापारीलाई बेचेको बताउनुभयो । समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उहाँले बताउनुभयो । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो गर्नुभयो ।
लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार एक सय र मसिनो धान प्रति क्विन्टल रु दुई हजार पाँच सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताउनुभयो । मिलले धान खरिद गरेर चामल बनाई बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्य दिन नसकेको उहाँले बताउनुभयो । गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रति क्विन्टल रु दुई हजार ९६७ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा रु २१५ बढी हो ।
त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल रु तीन हजार १२८ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रु २२६ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सङ्घीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुनसकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्तिको कमीका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताउनुभयो । पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई मात्र गोदाम छन् । त्यसमा चामल मौज्दात छ । पूर्वाधार नभएका कारण धान खरिद गर्न समस्या परेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार ३८ हजार ४९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्धविज्ञ उमेशचन्द्र श्रेष्ठले गत वर्षभन्दा यस वर्ष धानखेती गरिएको क्षेत्रफल ७८७ हेक्टर बढी रहेको छ ।रासस
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















