मेमोरी किङ शर्माको देशको मुहार फेर्ने सपना
कालिका खड्का
काठमाडौँ,२९ कात्तिक– मेमोरी किङका नामले परिचित अर्पण शर्मा (कट्टेल) लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिन भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउन त्यसमा लाग्ने योजना उहाँको छ ।
नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ, दुई पटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भन्नुभयो, “शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।”
आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उहाँले पाँच सय विद्यार्थीबाट अहिले एक पटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थाल्नुभएको छ । “मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु”, उहाँले आफ्नो आगामी योजना सुनाउँदै भन्नुभयो, “मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।”
उहाँको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्छन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिन समयको प्रतीक्षा गर्नुपर्ने हुन्छ । एक पटक कक्षा सञ्चालन गर्दा १० दिनको समय हुने उहाँको भनाइ छ ।
“धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्”, उहाँले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भन्नुभयो, “उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन् ।” उहाँको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र आउन मिल्छ । कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उहाँले भन्नुभयो, “म सफल भएँ भनेर म्यासेज पठाउँछन्, मलाई असाध्यै खुसी लाग्छ, अझ राम्रो गर्न प्रोत्साहन मिल्छ ।” उहाँले आएका सन्देशलाई सुरक्षित राखेको बताउनुभयो ।
झापाको भद्रपुर –८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिनुभएका शर्माले झापाकै एसएस निकेतनमा एसएलसी पास, एम्ब्रेल कलेजबाट व्यवस्थापनमा स्नातक गर्नुभएको छ । उहाँले पनि जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना जीवनमा गर्नुभएको थिएन ।
सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । “मैले दश जोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो”, उहाँले त्यो भिडियो स्मरण गर्दै सुनाउनुभयो, “दश वटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।” उहाँले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै जानुभयो ।
उहाँले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाउनुभयो । “धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन”, उहाँले थप्नुभयो, “लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।” प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उहाँको बुझाइ छ ।

स्मरणशक्तिबाट विश्व रेकर्ड
साथीहरूसँग व्यवस्थापन विषयमा अध्ययन गर्दैगर्दा उहाँका साथीहरूबीच स्मरणशक्तिको प्रतिस्पर्धा गर्ने कुरा चल्यो । पहिलो पटक ३०–३० वटा शब्द याद गर्ने सहमति भयो । “मैले सबैभन्दा छिटो याद गरेँ तर, साथीहरूलाई धेरै समय लाग्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो तरिकाले विश्व रेकर्ड राख्न सकिन्छ भनेर साथीहरूले भने, हेर्दै जाँदा एक मिनेटमा २२ वटाको रेकर्ड थियो, मलाई अहिले नै सक्छुजस्तो भयो, अनि प्रक्रिया अगाडि बढाइयो ।”
प्रक्रिया अगाडि बढाउँदा केही समय लागेको उहाँले बताउनुभयो । शर्माले पहिलो पटक गिनिजबुक अफ वर्ल्ड रेकर्डको सेप्टेम्बर २६, २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कामय गर्नुभएको थियो । दोस्रो पटक जुन ३, २०२२ मा एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कायम गर्नुभयो । झापाको भद्रपुर सानोगाउँमा सामान्य परिवारमा हुर्किएका शर्मालाई जीवनमा यति राम्रा मोड आउला भन्ने लागेको थिएन ।
विश्व कीर्तिमान र सम्मान
अदभुत स्मरणशक्ति भएका शर्माले गिनिजबुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेपछि नेपाली छोरोे विश्व चर्चित हुनुभयो । नेपालीको दिमागले यस्तो कीर्तिमान कायम गर्नु वास्तवमा नेपाल र नेपालीका लागि खुसीको विषय हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा शर्मा सम्मानित भइसक्नुभएको छ ।
आफ्नो अद्भुत स्मरणशक्तिको प्रयोगकै कारण उहाँले धेरै पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार –२०७२, नेपाल जेसिस वर्ष, २०७६ को उत्कृष्ट युवा पुरस्कार, स्वर्ण पदकद्वारा पुरस्कृत हुनुभएको थियो । त्यस्तै युवा प्रतिभा सम्मान, २०७८ प्राप्त गर्नुभएको थियो ।
हिमालय इन्टरनेशनल अवार्ड, २०७८, विश्व कीर्तिमानी युवा प्रतिभा तथा समाजसेवी सम्मान– २०७८, युवा प्रतिभा सम्मान–२०७८, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाद्वारा वर्ष उत्कृष्ट प्रतिभा –२०७४ प्राप्त गर्नुभएको छ । रासस
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















