आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
काठमाडौं,१० कात्तिक- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिनेछ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।
आज लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















