आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने
प्रकाश सिलवाल
काठमाडौँ,२७ असोज– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ ।
आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने र गराउने निर्णय गरेको हो ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिताको उल्लङ्घनलाई ठाउँको ठाउँ कारबाही गर्न केन्द्रीय र जिल्लास्थित आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतलाई निर्देशन दिइएकाले कारबाहीका लागि कुनै सङ्कोच नराख्न निर्देशन दिनुभयो ।
उहाँले आचारसंहिताको उल्लङ्घनको विषयलाई गम्भीरताका साथ लिई समिति र बैठकमा छलफल गरेर समय खेर नफाली प्रारम्भमै स्पष्टीकरण सोधेर एक्सन सुरु गर्न आग्रह गर्नुभयो । समितिका संयोजक एवं आयुक्त रामप्रसाद भण्डारीलेसुधार र सचेतनाको ढाँचाबाट जाँदा आचारसंहिताको पालनामा चुनौती देखिएको विगतको अनुभवका आधारमा यसपटक कडाइका साथ लागू गरिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “यसपटक आयोग आचारसंहिता उल्लङ्घनका विषयमा कुनै सम्झौता नगरी दण्डात्मकरूपमा अघि बढ्नेछ ।” आयुक्त भण्डारीले राजनीतिक दल तथा उम्मेदवारबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निर्वाचन खर्चका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आयोगले निर्देशन दिनेबारे आज निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले निर्वाचन आचारसंहिताविपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारवाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएकोे पनि स्पष्ट गर्नुभयो ।
बैठकले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने भएकाले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन तथा सूक्ष्मरूपमा अध्ययन तथा निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका खम्बा वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने स्पष्ट व्यवस्था भएको स्मरण गराएको छ ।
आचारसंहिता तथा निर्वाचन (कसूर र सजाय) ऐन, २०७३ विपरीत त्यस्तो प्रचार सामग्री राखिएको, भित्ते लेखन गरिएको, तुल ब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी चौबिस घण्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने र सोबमोजिम नगरेमा निजलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वा (४) बमोजिम जरिवाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधी कारबाहीका लागि सिफारिस साथ आयोगमा लेखी पठाउन पनि आयोगले निर्देशन दिएको छ ।रासस
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















