कुश्मामा ज्ञादी पुलले खोलेको पर्यटनको ढोका

कुश्मा,२० भदौ– अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौं लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ ।

यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलका रुपमा देशभरि चर्चा बटुल्न पनि सफल भएको छ । “उनताका दूध बेच्न कुश्मा बजार आइन्थ्यो, बडगाउँबाट घाँस काटेर घर फर्कनुपर्थ्यो”, शङ्करपोखरकी ७२ वर्षीया उमाकुमारी तिवारीले भन्नुभयो, “बिहान घरबाट हिँडेको फर्कदा तीन/चार बज्थ्यो, छोटो दिनमा त रातै हुन्थ्यो ।” अहिले उहाँको लागि कुश्मा र घर पानीपँधेरो जस्तै लाग्छ ।

गाउँमा यातायातको सहज पहुँच थिएन । सरकारी कामको लागि घण्टौ हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो । सामान्य घरायसी सामग्री खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो । “हामी स्कुलको पोशाक सिलाउन, किताब किन्न, चलचित्र हेर्न र घरमा चाहिने सामान किन्न धेरैपटक कुश्मा आउने जाने गर्थ्यौं”, “पीपलटारी घर भई अहिले कुश्मा बजारमा व्यवसाय गर्दै आउनुभएका राजु पौडेलले भन्नुभयो ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल नेपाली इञ्जिनीयरले बनाएको अग्लो तथा लामो झोलुङ्गु पुल पनि हो । एउटा डाँडाबाट ३४४ मिटरको दूरीमा पर्ने अर्को डाँडा त्यो पनि मोदी खोलादेखि १३५ मिटर माथिको उचाइमा पुल बनाउने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । दुई डाँडालाई जोडन सकिन्छ र जोडेरै देखाउछु भन्दै दिनरात लागि परेका इन्जिनीयर सूर्यप्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो । पौडेलसँगै पुल निर्माणमा जोडिएका पत्रकार भवानीप्रसाद शर्माले भन्नुभयो, “त्यतिबेला उहाँलाई स्थानीयवासीले त पागल नै भन्थे । तत्कालीन जिल्ला विकास समितिले पनि उहाँको कुरालाई हाँसोका रुपमा लिएको थियो ।”

धेरैका लागि असम्भव लाग्ने कुश्मा–ज्ञादी झोलुङ्गु पुल २०६७ सालमा निर्माण सम्पन्न भयो । यस झोलुङ्गे पुल पर्वतका लागि एउटा कोसेढुङ्गाका रुपमा स्थापित हुन पुग्यो । यो झोलुङ्गे पुल हेर्न र तर्नका लागि देश, विदेशका पर्यटक यहाँ आउने गर्दछन् । यस पुल निर्माणपछि यसकै सिको गरेर अग्ला तथा लामा झोलुङ्गे पुल एकपछि अर्को थपिँदै गएका छन् । बागलुङलाई पर्वतसँग जोड्न कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरियो । लगत्तै त्यसको छेउमै कुश्मा–मुडिकुवा झोलुङ्गे पुल थपियो । फेरि मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा–बलेवा झोलुङ्गे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोडने गरी खरेहामा कुश्मा–अधिकारी फाँट झोलुङ्गे पुलको निर्माण गरिएको छ ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुलले केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनका लागि पनि सम्भावनाको बाटो देखाइदियो । कुश्माको व्यवसाय ठप्प जस्तै भएका बेला ५०० बढी व्यवसायी तथा स्थानीयवासीले यान्त्रिक पुलको सुरुआत गरेका थिए । कालीगण्डकी खोँचले छुट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले जोडने काम गरेको छ । दक्षिण बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामान कुश्माबाट बागलुङतर्फ जाने गर्छन् । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ भने स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि यसले सहजता प्रदान गरेको छ ।

पछिल्लो समय पर्वतको पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बञ्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वकै अग्लो स्विङ र दोस्रो बञ्जी ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि २२८ मिटर उचाइमा बञ्जी र स्विङ (पिङ) का लागि जम्प गर्ने स्थानको निर्माण गरिएको छ । बागलुङ र पर्वतलाई जोडेर बञ्जीका लागि झोलुङ्गे पुलको निर्माण गरिएको छ । बन्जीले पर्वतका व्यवसायलाई गति दिने काम गरेको छ । हिजो बाँदर लड्ने भिरपाखामा होटल तथा रेष्टुरेन्ट धमाधम निर्माण भइरहेका छन् ।

द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जी, स्विङ (पिङ) लगायतका साहसिक खेल जेजति बनेका छन् ती सबै कुश्मा–ज्ञादी झोलुङ्गे पुलको नै देन भएको तत्कालीन पर्यटन प्रबर्द्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो ।

पौडेलले केही साथीहरु मिलेर सबैभन्दा पहिले कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा बन्जी गराउन सकिन्छ भनेर सम्भाव्यता अध्ययनका लागि भोटेकोसी गएको बताउनुभयो । “हामी पर्वतका सांसद, उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायी मिलेर भोटेकोसी गएर बञ्जी गर्‍यौँ”, उहाँले भन्नुभयो, “त्यहाँबाट प्राविधिक ल्याएर सम्भाव्यता अध्ययन पनि गरेका थियौँ तर केही साथीले सार्वजनिक पुलमा बञ्जी गराउन मिल्दैन भनेर विरोध गरेपछि रोकियौँ ।”

द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा–कैया झोलुङ्गे पुलमा बञ्जी गराउन लागिपरेको थियो । “कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि अर्को ठाउँमा कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरेर सार्वजनिक निजी साझेदारीमा बन्जी गराउन सकिन्छ भनेर लागेका थियौँ ।”, द क्लिफका अर्का सञ्चालक नेत्र पराजुलीले भन्नुभयो, “तीन वर्ष लागि पर्दासमेत पुलमा बञ्जी गराउने कुरा नमिलेपछि जग्गा खोज्ने क्रममा चाकलेको डिलमा पुगेर आफ्नै निजी झोलुङ्गे पुल निर्माण गरी बञ्जी सञ्चालन गरेका हौँ ।”

कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जीपलाइन सञ्चालनमा आएको छ । कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन दिन सफल भएको छ । कालीगण्डकी नदीको खोँचमा रहेको सुपरम्यान शैलीको यो जीपलाइनको लम्बाइ एक हजार ४०० मिटर छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघन्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ ।रासस

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal