बिक्नै छाडे दारका ठेका र निगालोका डाला

रामकृष्ण बोहरा
बागलुङ,१९ चैत– बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका टिकाराम चुदाराले दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाइको व्यापार थालेको ५० वर्ष बित्यो। उहाँ हरेक वर्ष चैत्राष्टमीदेखि पाल्पा र गुल्मीको रिडीमा लाग्ने माघे सङ्क्रान्ति मेलासम्म यस्ता सामग्री बिक्री गर्न पुग्नुहुन्छ। यही व्यापारले उहाँको परिवारको जीविकोपार्जन धानेको छ।

तर पछिल्लो समय स्थानीय सीपबाट उत्पादित सामग्रीको व्यापार निराशाजनक बन्दै गएको छ। दारको काठबाट बन्ने सामग्रीलाई स्टिलका भाँडाकुँडाले विस्थापित गर्न थालेपछि व्यापार घट्दै गएको उहाँ बताउनुहुन्छ।

“बाउबाजेको पेसालाई चटक्कै माया मार्न नसकेर जसोतसो ठेकाको व्यापारलाई निरन्तरता दिइरहेको छु,” चैत्राष्टमी मेलामा ठेका बिक्री गर्दै भेटिनुभएका चुदाराले भन्नुभयो, “स्थानीय उत्पादनप्रति उपभोक्ताले बेवास्ता गर्दा मन खिन्न हुन्छ।”

उहाँका अनुसार २०४० देखि २०६० सालसम्म ठेकाको व्यापार निकै राम्रो थियो, तर अहिले एकाएक घटेको छ।

“ठेका खरिद गर्न पर्वत, स्याङ्जा, कास्की, तनहुँ, नारायणघाटदेखि बुटवलसम्मका मान्छे चैत्राष्टमी मेलामा आउँथे। आफ्नै लागि मात्र होइन, छिमेकीका लागि पनि किनेर लैजान्थे,” विगत सम्झँदै उहाँले भन्नुभयो, “यहाँका ठेकाले माग धान्न नसक्दा दाङ र सल्यानबाट आयात गरेरसमेत बिक्री गर्नुपर्ने अवस्था थियो।”

अहिले गाउँघरमै वस्तुभाउ पाल्ने चलन हराउँदै गएपछि ठेका–मदानी लोप हुने अवस्थामा पुगेको उहाँको बुझाइ छ। बजारमा सस्तो मूल्यमा स्टिलका भाँडा पाइने भएपछि २ हजारदेखि २४ हजार रुपियाँसम्म पर्ने दारका ठेका महँगा लाग्न थालेका छन्।

हाल भने दारको काठबाट बन्ने ठेका, मदानी, पुङ र पुचाइ घर सजावट तथा उपहारका रूपमा केही उपभोक्ताले खरिद गर्ने गरेको उहाँले बताउनुभयो।

“पहिले मेलामै दुई लाखभन्दा बढीको व्यापार हुन्थ्यो, अहिले ३०–४० हजार रुपियाँ पनि हात लाग्दैन,” उहाँले दुःखेसो गर्नुभयो।

यस्तै, बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका ६९ वर्षीय गाडरे बुढाथोकी निगालोबाट बनेका डाला–डाली बिक्री गर्न चैत्राष्टमी मेलामा आएको एक साता बितिसकेको छ। तर सोचेजस्तो व्यापार नहुँदा उहाँ पनि खिन्न मुद्रामा भेटिनुभयो।

“पहिले २५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो, अहिले सोचेजस्तो भएन,” उहाँले भन्नुभयो, “प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दा गाउँघरमा उत्पादित वस्तुको बिक्री घटेको छ।”

मेला–महोत्सवमा स्थानीय उत्पादनको व्यापार निरन्तर घटिरहँदा यही पेसामा आश्रित परिवारको जीविकोपार्जनमा समस्या भएको उहाँले सुनाउनुभयो।

आरन पेसाबाट परिवार पाल्दै आउनुभएका बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका ७२ वर्षीय खेमबहादुर विकले मेलामा घरायसी तथा कृषि औजार बिक्रीका लागि ल्याए पनि सोचेजस्तो व्यापार नभएको बताउनुभयो।

“सामग्री ढुवानीको गाडी भाडासमेत तिर्न नपुग्ने अवस्था छ,” उहाँले भन्नुभयो, “आधुनिक भान्साका सामान बहुउपयोगी हुँदा घरेलु उद्योगमा बन्ने भडाली, झाँगा र हँसियाको प्रयोग घट्दै गयो।”

मेलामा बागलुङको ताराखोला, माझखर्क, काठेखोला गाउँपालिकाको तंग्राम, बडिगाडको जलजला, तमानको लामेला, धादिङ र तनहुँबाट घरायसी तथा कृषिमा प्रयोग हुने सामग्री बिक्रीका लागि ल्याइने गरिन्छ।

बसाइँसराइले गाउँबस्ती रित्तिँदै जानु र बढ्दो वैदेशिक रोजगारीका कारण युवा पलायन हुँदा परम्परागत सामग्री लोप हुन थालेको विकले बताउनुभयो।

स्थानीय उत्पादनको घट्दो व्यापारले परम्परागत पेसा नै लोप हुने अवस्थामा पुगेको गलकोट नगरपालिका वडा नं. ४ नरेठाँटीका मादल व्यवसायी अमृत बोहोरा बताउनुहुन्छ।

गाउँघर र मेलापातमा झ्याउरे तथा दोहोरी गाउने प्रचलन घट्दै जाँदा डम्फु–मादलको व्यापारसमेत घटेको उहाँले बताउनुभयो।
“पुँजी पलायन रोक्न र गाउँघरमै स्वरोजगार बढाउन घरेलु उद्योगलाई प्रवर्धन गर्न स्थानीय सरकारले चासो दिनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार स्थानीय उत्पादनको व्यापार घट्दा पुख्र्यौली पेसामा आश्रित परिवारलाई वैकल्पिक पेसा अपनाउनुपर्ने बाध्यता बढेको छ। प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गर्दै परम्परागत सामग्रीको प्रयोग बढाउने नीति आवश्यक रहेको उहाँको सुझाव छ।गोप

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal