वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र
सुशील सुवेदी
वालिङ,१ फागुन–वालिङ नगरपालिकाका सिपयुक्त जनशक्तीहरूले आफूसँग रहेको सिपलाई औपचारिक रूपमा प्रमाणीकरण गराएका छन् । सिप भए पनि प्रमाण पत्र नहुँदा अवसरबाट वञ्चित हुँदै आएका स्थानीय जनशक्तीलाई लक्षित गर्दै नगरपालिकाले पूर्व–सिकाई मान्यता को आधारमा सिप परीक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाले सिप भए पनि प्रमाणपत्र नहुँदा अवसरबाट वञ्चित हुँदै आएका स्थानीय जनशक्तीलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाएको हो । यसलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र सिपको सम्मान स्थापित गर्ने कदमको रूपमा हेरिएको छ ।
वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले सिप प्रमाणीकरणले श्रमिक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताउनुभयो । “सिप भएका जनशक्ती प्रमाणीकरण भएसँगै कुन कामको कति मूल्य लिने भन्ने स्पष्ट हुन्छ । यसले श्रमिकको श्रमको सम्मान सुनिश्चित गर्छ भने उपभोक्ताले पनि भरपर्दो र दक्ष जनशक्ती सहजै पाउन सक्छन्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार वालिङ नगरपालिकाका धेरै जनशक्तीहरू परम्परागत रूपमा सिपयुक्त भए पनि प्रमाणपत्र नहुँदा सरकारी तथा निजी क्षेत्रमा अवसर पाउन सकेका थिएनन् । “सिप भएर पनि प्रमाण नहुँदा विदेश जाने बाध्यता थियो। अब यहीँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ,” उपप्रमुख गैह्रेले जोड दिनुभयो ।
पूर्व–सिकाई मान्यताको आधारमा सञ्चालन गरिएको सिप परीक्षण कार्यक्रममा नगरपालिकाबाट ७७ जना सहभागी भएका थिए । रोजगार शाखा प्रमुख पवन बस्यालका अनुसार ती मध्ये ६३ जना पहिलो चरणमै उत्तीर्ण भएका हुन् । “पहिलो चरणमै उत्तीर्ण हुनेको संख्या उत्साहजनक रह्यो । ती मध्ये ३९ जनाले सिटीभिटी लेभल–२ को प्रमाणपत्र प्राप्त गरेका छन्,”बस्याले जानकारी दिनुभयो ।
प्रमाणपत्र प्राप्त गरेसँगै अब ती जनशक्तीले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली अनुसार प्राविधिक खरदार सरहको मान्यता पाउनेछन् । यसले उनीहरूलाई सरकारी तथा निजी क्षेत्रमा रोजगारीको ढोका खोल्ने मात्र होइन, सोभन्दा माथिल्लो तहमा अध्ययन गर्नसमेत योग्य बनाउनेछ ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थी सागर बगालेका अनुसार प्रमाणपत्रले जीवनको दिशा नै परिवर्तन गरेको बताउनुभयो । “म विदेश जाने तयारीमा थिएँ । तर यो प्रमाणपत्र पाएपछि यहीँ काम गरेर भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ,” उहाँले भन्नुभयो । उहाँजस्तै धेरै युवाहरूले अब स्वदेशमै श्रम र सिपको मूल्य पाउने अपेक्षा गरेका छन् ।
उक्त कार्यक्रम गण्डकी प्रदेश सिटीभिटी कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । लागत साझेदारीमा वालिङ नगरपालिकाले ६० प्रतिशत र सामाजिक विकास मन्त्रालयले ४० प्रतिशत योगदान रहेको छ । कार्यक्रममार्फत ९ वटा विधामा सिप भएका इच्छुक जनशक्तीलाई सहभागी गराइएको थियो।
डकर्मी, पेन्टर, बेल्डर, मोटरसाइकल मेकानिक, कम्प्युटर हार्डवेयर मर्मत तथा एसी–फ्रिज रिपेयरिङ जस्ता ६ वटा प्रमुख विधामा वालिङका जनशक्ती सहभागी भएका थिए ।
सिप प्रमाणीकरणपछि एकातिर स्थानीय स्तरमै दक्ष जनशक्ती उत्पादन भएको छ भने अर्कोतिर उपभोक्ताले पनि आवश्यक पर्दा प्रमाणित र भरपर्दो जनशक्ती पाउने अवस्था सिर्जना भएको छ। यसले अनौपचारिक श्रम बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वालिङ नगरपालिकाले प्रमाणित भएका सिपयुक्त जनशक्तीको विवरण संकलन गरी रोष्टर तयार गरेको जनाएको छ । नगरपालिकाका अनुसार उक्त रोष्टर आगामी दिनमा नगरभित्रका निर्माण, मर्मत तथा प्राविधिक सेवामा प्रयोग गरिनेछ । यसले बाहिरबाट जनशक्ती ल्याउनुपर्ने निर्भरता घटाउने र स्थानीय रोजगारीलाई प्राथमिकता दिने लक्ष्य राखिएको छ ।
स्थानीय तहको सक्रियतामा सञ्चालन भएको यो कार्यक्रमलाई सिप विकास र रोजगारी सिर्जनाको प्रभावकारी मोडेलका रूपमा हेरिएको छ । गण्डकी प्रदेशभर सञ्चालन भइरहेको यस कार्यक्रमअन्तर्गत ८ जिल्लाका १६ वटा स्थानीय तह सहभागी रहेका छन् । प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यमा सिप प्रमाणीकरण कार्यक्रमसमा सवैभन्दा बढि वालिङ नगरपालिकाका श्रमिकले सहभागिता जनाएका हुन् ।
विशेषज्ञहरूका अनुसार सिप प्रमाणीकरणले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सुरक्षित र मर्यादित अवसर दिलाउन सहयोग पुर्याउँछ । तर वालिङ नगरपालिकाले भने यसको मुख्य उद्देश्य स्वदेशमै अवसर सिर्जना गर्नु रहेको जनाएको छ ।
नगरपालिकाले आगामी दिनमा थप विधामा सिप परीक्षण कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । साथै प्रमाणित जनशक्तीलाई स्थानीय उद्योग, निर्माण व्यवसायी तथा सेवाप्रदायकसँग जोड्ने पहलसमेत गरिने जनाएको छ प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।
सिपको सम्मान, श्रमको मूल्यांकन र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम वालिङ नगरपालिकाका लागि मात्र नभई अन्य स्थानीय तहका लागि पनि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ ।
ताजा
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार





















