गणतन्त्रपछि राजस्व मार्गचित्र

आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बको बजेट निर्माण हुनुपर्ने राष्ट्रिय योजना आयोगको अभिमत छ । यस्तो खर्चको स्रोत जुटाउने सन्दर्भमा राजस्व असुलीको हिस्सा करिब १३/१४ खर्ब हुने प्रारम्भिक अनुमान छ । कारण दाताको अनुदान रकम करिब ५० अर्बभन्दा बढी अपेक्षा गर्न सकिन्न । जबकि आन्तरिक ऋणबाट अधिकतम तीन खर्ब र बाह्य ऋणबाट दुई खर्ब ५० अर्बभन्दा बढी प्राप्तिको अपेक्षा गर्न सकिन्न । मुलुकको चालु खर्च बढ्दै जाने, दाताको सहयोग घट्ने र राजस्व असुली पनि खस्किने परिस्थितिले हामी क्रमशः असजिलो मोडमा पुगिरहेको पूर्वाभास हुन थालेको छ । 

जनआन्दोलन–२ को पूर्वसन्ध्या 

२०४६ सालमा पहिलो जनआन्दोलन सफल भयो । जसको परिणामस्वरूप २०४७ सालमा नेपाल अधिराज्यको संविधान, २०४७ जारी भयो । मुलुक क्रमशः खुला अर्थनीति अर्थात् आर्थिक उदारीकरणतर्फ उन्मुख भयो । आर्थिक क्षेत्रमा आधारभूत रूपमै उपलब्धि हासिल भए । कालान्तरमा राजनीतिले अपेक्षित परिवर्तनको आभास दिन सकेन । जस कारण २०६२/६३ मा जनआन्दोलन–२ भयो । यसको पूर्वसन्ध्यामा मुलुकको राजस्व असुलीको वृद्धिदर लगभग शून्यमा पुगेको थियो । केही समय जनआन्दोलन–२ लम्बिएको भए राजस्व असुलीको वृद्धिदर ऋणात्मक हुने लगभग पक्का थियो । 

जनआन्दोलन–२ पछिको सुधार

जनआन्दोलन–२ को सफलतापछि संसद् पुस्र्थापित भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । डा. रामशरण महत अर्थमन्त्री नियुक्त हुनुभयो । अर्थ मन्त्रालयमा अर्थ सचिवको अलावा राजस्व सचिवको पद सिर्जना भयो । राजस्व असुलीमा उत्साहजनक वृद्धि हुँदै गयो । मुलुकको चालु खर्च थेग्न सक्ने गरी राजस्व असुलीको वृद्धि दर कायम हुन थाल्यो । दाताबाट पनि सहयोग रकममा वृद्धि भयो । यसरी मुलुक क्रमशः आर्थिक सबलीकरणतर्फ उन्मुख हुँदै गयो । यसबाट खुला, उदार एवं अधिकतम लोकतान्त्रिक प्रणालीमा मात्रै राजस्व वृद्धि हुने कटुसत्य उजागर भयो । 

गणतन्त्रपछिको छलाङ 

जनआन्दोलन–२ को सफलतापछि पुनस्र्थापित संसद्बाट गणतन्त्र घोषित भयो । संविधान निर्माण गर्न संविधान सभाको निर्वाचन भयो । यसमा ठुलो दलका रूपमा नेकपा (माओवादी) को उदय भयो । सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभयो । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुनुभयो । रामेश्वर खनाल अर्थसचिव हुनुहुन्थ्यो भने पङ्क्तिकार राजस्व सचिव थियो । आव २०६५/६६ को बजेट जारी भयो । सो वर्ष करिब साढे ३३ प्रतिशतले राजस्व असुलीमा वृद्धि भयो । २००८ सालमा पहिलो पटक तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले बजेट जारी गरे उप्रान्त सर्वाधिक राजस्व वृद्धि भएको त्यही वर्ष हो । यो रेकर्ड हालसम्म कायमै छ । यसपछि सुरेन्द्र पाण्डे, भरतमोहन अधिकारी तथा वर्षमान पुन अर्थमन्त्री हुँदा पनि पङ्क्तिकार राजस्व सचिव र अर्थ सचिवको जिम्मेवारीमा रहँदा राजस्व असुलीको औसत वृद्धिदर २५ प्रतिशत रहेको स्मरणमा ताजा नै छ । हालका दिनमा यस्तो वृद्धिदर १२÷१५ प्रतिशतको हाराहारीमा छ । 

सफलताको कारक तत्व

त्यतिबेला राजस्व असुलीमा कसरी सफलता हासिल भयो भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । यसको पहिलो प्रमुख कारण अर्थ मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व प्रभावकारी हुनु नै हो । माथिल्ला पदका पदाधिकारीले राजस्व वृद्धिलाई आफ्नो सफलताको उच्च प्राथमिकतामा राखेपछि कर र भन्सार प्रशासन स्वतः नै चलायमान हुन्छ । दोस्रो, खुला सिमानामा हुन सक्ने सम्भावित चोरीनिकासी तथा पैठारीप्रति निकै कडाइ गरिएको थियो । यसको प्रत्यक्ष असरबाट राजस्व वृद्धि भएको हो । तेस्रो, आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक तथा आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको नेतृत्व तुलनात्मक रूपमा सक्षम अधिकृतलाई दिँदा पनि राजस्व बढोत्तरीमा सफलता हात परेको थियो । चौथौ, निजी क्षेत्रलाई उद्योग र व्यापार सञ्चालनमा सहजीकरण गर्दै राजस्व असुली दबाबमा राख्दा पनि राजस्व असुलीमा अनुकूल प्रभाव परेको थियो । पाँचौँ, करको दर बढाउनुको सट्टा दायरा फराकिलो गर्न सञ्चालन गरिएका रचनात्मक कार्यले पनि राजस्व असुलीमा टेवा पुगेको थियो । हालका दिनमा पनि यिनै उपाय र विधिलाई निरन्तरता दिनुको विकल्प छैन ।

कोरोना सङ्क्रमणले खस्किएको राजस्व

कोरोना सङ्क्रमणले विश्वव्यापी स्तरमै अर्थतन्त्रलाई तहसनहस पार्‍यो । जसको कारण सरकारी खर्च बढ्यो भने राजस्वका मुहान सुक्दै गयो । यसबाट नेपाल पनि अछुतो रहेन । कोरोना सङ्क्रमणपछि एकातिर विदेशी सहायतामा कमी आउने र अर्कोतिर आन्तरिक राजस्व पनि घट्दै जाँदा सरकार सञ्चालनमै अप्ठ्यारो अवस्था सिर्जना हुन थाल्यो । यसबाट बिस्तारै माथि उठ्न खोजिए पनि स्थिति साबिककै लयमा पूर्ण रूपमा फर्किन भने सकिरहेको छैन । नेपाल राजस्व परामर्श समितिको अध्ययनका अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.३ प्रतिशत र नेपालको आर्थिक वृद्धिदर २.०९ प्रतिशतले ऋणात्मक थियो । सन् २०२१ पछि भने केही सुधार हुँदै गएको छ । 

कोरोनाको सङ्क्रमणपछि नेपाल राजस्व परामर्श समितिले नेपालको विगत १० वर्षको राजस्व सङ्कलनको स्थितिलाई विश्लेषण गर्दा औसत् राजस्वको वार्षिक वृद्धिदर १६.३५ प्रतिशत रहेको जनाएको थियो । समितिका अनुसार आव २०६७/६८ देखि २०७६/७७ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा कुल राजस्व सङ्कलनसँग कुल गार्हस्थ उत्पादनको औसत् अनुपात १२.४१ प्रतिशत रहेकोमा यो क्रमशः वृद्धि हुँदै गई आव २०७५/७६ मा २१.५० प्रतिशत पुगेको समितिको अध्ययनले देखाएको छ । 

राजस्वको महत्व

मुलुक सञ्चालनका लागि खर्चको जोहो गर्नै पर्छ । यसका लागि आन्तरिक राजस्व असुली गर्न सकिएन भने मुलुकले खर्च थेग्न दातासँग अनुदान र ऋणको सहायताको याचना गर्नु पर्छ, जुन सार्वभौम मुलुकका लागि त्यत्ति सहज हुँदैन । कोभिड सङ्क्रमणपछि दाताको सहयोगमा कटौती भएको छ । अमेरिकी निर्वाचन, विश्वमा भइरहेका युद्ध, विश्वव्यापी राजनीतिक अस्थिरताले आगामी दिनमा दाताको सहयोगमा अझै कटौती हुने पूर्वानुमान गर्न सकिन्छ ।

यस अतिरिक्त सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने छ । यसबाट पनि दाताको अनुदान रकम कटौती हुन सक्छ । मुलुक सङ्घीय शासन प्रणालीमा अघि बढिरहेकाले तिनै तहका सरकारको प्रशासनिक खर्चमा पनि बढोत्तरी भइरहेको छ । आमजनताले पनि सरकारबाट बढी नै सेवा र सुविधाको अपेक्षा गरिरहेका छन् । यस स्थितिमा आन्तरिक राजस्व असुलीमा दबाब बढ्नु स्वाभाविकै हो । 

राजस्वको दायरा सङ्कुचित

नेपालको राजस्वको दायरा सङ्कुचित छ, यसमा सुधार गर्नै पर्छ । जस अनुसार घरजग्गा कारोबारलाई राजस्वको दायरामा ल्याउनु पर्छ । सामान्यतः व्यावसायिक विज्ञ व्यक्ति आयकरको दायरामा छैनन् । यसमा चिकित्सक, इन्जिनियर, परामर्शदाता, कानुन व्यवसायी, कलाकार, खेलाडीलगायत पर्छन् । मुलुकमा करिब एक तृतीयांश आर्थिक कारोबार अनौपचारिक क्षेत्रमा रहेको अनुमान छ । हातमा रकम भएका मानिस उत्पादनशील क्षेत्रमा लगानी गर्न र बैङ्कमा पैसा राख्न हिचकिचाइरहेका छन् । फुटपाथमै करोडौँको व्यापार हुन्छ । सामान्यतः सीमावर्ती क्षेत्रमा दैनिक ८० करोड बराबरको कारोबार हुने अनुमान छ । यसबाट नेपाल सरकारले ठुलो परिमाणमा राजस्व गुमाइरहेको छ । यसका लागि राष्ट्रियताको भावना जगेर्ना गर्नुका साथै आन्तरिक उत्पादनको खपतमा जोड दिनु पर्छ । यी विषयलाई पाठ्यपुस्तकमा समेट्न पनि ढिला गर्नु हुँदैन । 

राजस्वका चुनौती

नेपाल राजस्व परामर्श समिति स्वयम्ले राजस्व प्रशासनका क्षेत्रमा विविध समस्या र चुनौती औँल्याएको छ । जसमा राजस्व आयातमुखी हुन पुगेको छ । नेपालले बहुपक्षीय र द्विपक्षीय सन्धि सम्झौताबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । अनौपचारिक अर्थतन्त्र फस्टाएको छ । राजस्व छुटको मात्रा ठुलो छ । सङ्घीय शासन प्रणालीका कारण राजस्व असुलीमा दोहोरोपना देखिन्छ । राजस्व प्रणालीलाई स्वचालित तुल्याउन सकिएको छैन । अन्तरनिकायको समन्वयको अभाव छ । राजस्वसम्बन्धी विवादको निरूपण शीघ्र गर्न सकिएको छैन । मूलतः राजस्व चुहावटको परिमाण अपेक्षा गरेभन्दा ठुलै रहेको प्रस्टै छ । 

राजस्व छुट हटाउने 

प्रचलित व्यवस्था अनुसार राजस्वमा छुट सुविधाको व्यवस्था छ । यसबाट कुन हदमा अर्थतन्त्र चलायमान भयो भनी छुट्टै अध्ययन भएको छैन । पछिल्ला दिनमा यस्ता छुट सुविधाले विकृति निम्त्याएको र राजस्व असुलीमा नकारात्मक असर पुगेको पाइएको छ । करिब तीन/चार वर्षअघि नेपाल राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदनमा बर्सेनि मूल्य अभिवृद्धि करबापत मात्रै वार्षिक एक खर्ब ३० अर्ब छुट दिइरहेको अनुमान गरेको थियो । यो रकम बर्सेनि वृद्धि हुँदै छ । २०५२ सालमा मूल्य अभिवृद्धि कर लागु गर्दा ऐनको अनुसूची १ मा छुटको छोटो सूची थियो । यो सूची क्रमशः घटाउँदै लैजाने भनिएको थियो । बर्सेनि यस्तो छुटको सूची विस्तार हुँदै गएको छ । हामी राजस्व असुलीमा उल्टो बाटो हिँडिरहेका छौँ । जसको कारण राजस्व क्षयीकरण भइरहेको छ । 

नेपालको आयकर ऐनले एकल व्यक्ति र दम्पतीको हकमा निश्चित आयमा कर छुट दिएको छ । यसै गरी द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौता अनुसार पनि छुट हुने छ । कुनै मुलुकसँग नेपालले दोहोरो कर उन्मुक्तिको सम्झौता गरेकोमा पनि आयकर छुट हुन्छ । कृषि आम्दानीमा पनि कर छुटको व्यवस्था छ । सहकारी कानुन अनुसारका कैयौँ खेती, व्यवसाय र कारोबारमा पनि कर छुट छ । यसै गरी निश्चित सङ्ख्यामा रोजगारी दिनेलाई, अति अविकसित, अविकसित र अल्पविकसित भूगोलमा उद्योग स्थापना गर्नेलाई सरकारले तोकी दिएको सीमाभित्र रहेर चन्दा दिनेलाई पनि कर छुटको व्यवस्था छ । यस्तो सूची पनि लामो छ । 

नेपाल सरकारले भन्सार छुट सुविधा पनि दिएको छ । यस्तो सुविधामा भारतबाट हुने आयातमा सबैभन्दा बढी छ । त्यसपछि चीनबाट आयात हुने वस्तुमा पनि छुट छ । यसै गरी साफ्टा र बिम्स्टेक मुलुकबिचको आयातमा पनि छुट दिइएको छ । हामीले दौत्य सम्बन्ध कायम गरेका र व्यापार व्यवसायका लागि साझेदार ठानेका मुलुकबाट हुने आयातमा पनि छुट दिएका छौँ । निकासीमा लगभग भन्सार छुट नै छ । तिनले निकासीका आधारमा नगद अनुदान पनि पाउँछन् । एम्बुलेन्स, शववाहनलगायतको पैठारीमा पनि भन्सार छुट हुन्छ । यस्तो छुटबापत सरकारले कति राजस्व गुमाउँछ भनी हिसाबकिताब राख्ने गरिएको पाइँदैन । 

प्रत्येक वर्ष आर्थिक ऐन जारी हुन्छ । यस्तो ऐनमा कैयौँ व्यावसायिक र औद्योगिक वस्तुमा छुट सुविधाको घोषणा गरिन्छ । यसबाट आमजनतामा पुगेको लाभको विश्लेषण गरिन्न । यसर्थ कैयौँ छुट सुविधा दिँदा सरकारलाई नीतिगत भ्रष्टाचार गरेको आरोप पनि लाग्ने गरेको छ । यसबाट पनि बर्सेनि सरकारी राजस्वमा अर्बौंको नोक्सानी छ । यी विषयमा पनि मिनी संसद्मा चर्चा, छलफल, चर्काकर्की हुनुपर्ने हो तर त्यस्तो भएको छैन । यसबाट यस्ता छुट सुविधा कुन हदसम्म दुरुपयोग भएका छन्, अर्थात् अमुक व्यक्तिको मुनाफाका लागि सरकारी नीति बन्ने गरेका छन् भन्ने विषयमा गहन अध्ययनको खाँचो छ । 

राजस्व वृद्धिका उपाय

राजस्व वृद्धिका लागि मुलुकभित्र आर्थिक कारोबारमा वृद्धि हुनु पर्छ । यसका लागि आन्तरिक र बाह्य लगानी आकर्षित गर्नु पर्छ । उद्योगधन्दाको संरक्षण गर्न सरकार अग्रसर हुनु पर्छ । निकासी पैठारी व्यापारमा कारोबार मूल्यलाई मान्यता दिई बजार अनुगमनलाई चुस्त र दुरुस्त तुल्याउनु पर्छ । घरजग्गा कारोबारलाई करको दायरामा ल्याउनु पर्छ । कर परीक्षण एवं अनुसन्धानमा सुधार गर्नु पर्छ । यसै गरी आन्तरिक उत्पादन बढाउन, रोजगारीका अवसर सिर्जना गर्न, निकासी प्रोत्साहन गर्न, भन्सार प्रक्रियामा सुधार गर्न र राजस्व प्रशासनका प्रशासनिक जटिलता हटाउन पनि सरकार मन, वचन र कर्मले अघि सर्नु पर्छ । 

यस अतिरिक्त, सम्पत्ति शुद्धीकरण ऐनको प्रभावकारी कार्यान्वयनका लागि एक पटकका लागि सम्पत्ति घोषणा गराई अभिलेखन गर्ने व्यवस्था मिलाउनु पर्छ । गैरकर राजस्वलाई प्रभावकारी वनाउन एकीकृत कानुन र कार्यविधि तर्जुमा गरी संरचनात्मक सुधार गर्नु पर्छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट राजस्व असुलीका क्षेत्रमा दोहोरोपना हटाउन छाता ऐन जारी गर्न ढिला गर्नु हुँदैन । मूलतः मूल्य अभिवृद्धि कर अनुसार हरेक बिक्री स्थलमा आमउपभोक्ताले बिलबीजक पाउने प्रबन्ध मिलाउनु पर्छ । हरेक आयातकर्ताले वस्तुको मूल्य घोषणा गर्दा उपभोक्ताले तिर्नुपर्ने अधिकतम खुद्रा मूल्य घोषणालाई अनिवार्य गर्नु पर्छ । आमनागरिकसँग स्थायी लेखा नम्बर (पान) हुनु पर्छ । यसमा सरल कार्यविधि निर्माण गरी आयआर्जन गर्नेले अनिवार्य रूपमा कर तिर्नुपर्ने प्रबन्ध मिलाउनु पर्छ । राजस्व असुलीमा प्रदेश सरकार र स्थानीय तह पनि सक्रिय एवं क्रियाशील हुनु पर्छ । 

दरसँगै दायरा

राजस्वको दर वृद्धि गर्ने होइन, दायरा बढाउने हो । केही वस्तुमा दर बढाउन पनि हिचकिचाहट मान्नु हुँदैन । उदाहरणका लागि सुर्तीजन्य वस्तु, मदिरा र विलासिताका सामानमा राजस्व वृद्धि गर्न सकिन्छ । छद्मभेषी व्यापारीलाई नियन्त्रण गर्दा पनि राजस्व बढोत्तरी हुने छ । यसका निमित्त गलत हर्कत गर्नेविरुद्ध राज्यप्रणाली कठोर हुनै पर्छ । राजस्वका क्षेत्रमा थाती रहेका विवाद र मुद्दाको समयमै किनारा लगाउँदा पनि यस क्षेत्रमा सुधारको सङ्केत देखा पर्ने छ । यसै गरी गैरकर राजस्वलाई व्यवस्थित गर्न छुट्टै ऐन ल्याउनु पर्छ । यसबाट हरेक निकायलाई वार्षिक राजस्व असुलीको लक्ष्य दिई सकारात्मक परिणाम हासिल गर्न सकिने सम्भावना नकार्न सकिन्न । गाेप

ताजा

Does the world still need globalization? A look at the distant past offers an answer.

२०८२ पुष १ गते, मंगलवार

Does the world still need globalization? A look at the distant past offers an answer.

२०८२ पुष १ गते, मंगलवार

How will “a shared future” save the world from fragmentation?

२०८२ पुष १ गते, मंगलवार

एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

२०८२ पुष १ गते, मंगलवार

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

२०८२ पुष १ गते, मंगलवार

पुतलीबजार र अर्जुन चौपारीमा आगलागी

२०८२ मंसिर २८ गते, आईतवार

शिक्षकलाई पेशागत सहायता तालिम

२०८२ मंसिर २८ गते, आईतवार

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

२०८२ मंसिर २७ गते, शनिबार

भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न

२०८२ मंसिर २७ गते, शनिबार

माेबाइल एसाेसिएसन वालिङद्वारा गह्राैँ प्राथमिक अस्पतालाई सहयाे

२०८२ मंसिर २७ गते, शनिबार

पिस जाेनकाे विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

२०८२ मंसिर २७ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal