एक शिक्षिकाले ल्याएको त्यो परिवर्तन

वसन्त पराजुली

नारायणगढ,२७ भदौ- शैक्षिक वातावरणमा सुधार ल्याउन र विद्यार्थीमा पढाइप्रति रुचि जगाउन एक जना शिक्षकको सानो पहल काफी हुने रहेछ भन्ने उदाहरण एक जना शिक्षकको छ महिनाको गतिविधि भएको छ । भरतपुर महानगरपालिका वडा–२८ मा अवस्थित आधारभूत विद्यालय सिसावासमा गत चैतदेखि आउनुभएकी एक शिक्षिकाको गैरशिक्षण विधिले शिक्षासँगै विद्यार्थीको व्यक्तिगत स्वास्थ्य, सरसफाइ र मनोसामाजिक चिन्तनमा सकारात्मक नतिजा ल्याएको छ । विद्यालय विद्यार्थीको उपस्थिति दर पनि बढाएको छ ।

गत चैतमा स्थायी दरबन्दीमा आउनुभएकी शिक्षिका ईश्वरी भट्टले अभियान नै चलाएर विद्यार्थीमा सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएको हो । जसका कारण विद्यार्थी शिक्षा र स्वास्थ्यमा जागरुक बनेका छन् । शिक्षिका भट्टकै अभियानका कारण विगतका तुलनामा सफासुग्घर भएर विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा सुधार भएको विद्यालयका प्रधानाध्यापक उमेश आचार्य बताउनुहुन्छ । 

“माथिल्लो कक्षामा भन्दा प्राथमिक तहका विद्यार्थीमा सफाइको समस्या थियो । शिक्षक भट्टको नियमित लगाव र मेहनतले बिस्तारै विद्यार्थी अनुशासित र सरसफाइमा सचेत हुँदै छन्,” उहाँले भन्नुभयो । प्रअ आचार्यका अनुसार विद्यालयमा २९१ जना विद्यार्थी छन् । तीमध्ये धेरै गरिब तथा विपन्न समुदायका छन् । ९९ प्रतिशत जनजातिका र त्यसको पनि ८० प्रतिशतभन्दा बढी कुमाल मात्रै छन् । तमाङ, बोटे, गुरुङ केही मात्रामा रहे पनि दलित र क्षेत्री ब्राह्मण समुदायका विद्यार्थी यो विद्यालयमा ज्यादै न्यून छन् । 

अभिभावकविहीन वा चेतनाको स्तर कम भएका अभिभावकका बालबालिका विशेषतः फोहोरी अवस्थामा विद्यालय आउँथे तर शिक्षिका भट्टकै अगुवाइमा सरसफाइ अभियान थालेपछि विद्यालयमा परिवर्तन आएको हो । सामान्य अवस्थामा उपस्थिति ७० प्रतिशतसम्म रहनेमा अभियानपछि ८० देखि ८५ प्रतिशत पुगेको प्रअ आचार्य बताउनुहुन्छ । 

अङ्ग्रेजी र सामाजिक विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएकी भट्ट लामो समयदेखि निजी स्रोतमा पढाइरहे पनि शिक्षा सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भई गत वर्ष चैतदेखि प्राथमिक तहको स्थायी शिक्षक हुनुभयो । नयाँ दरबन्दीसँगै उहाँले आधारभूत विद्यालय सिसावासमा पढाउन थाल्नुभयो । विद्यार्थीको स्वास्थ्य अवस्था नाजुक देखेपछि उहाँले सरसफाइ अभियान थाल्नुभएको हो । उहाँ विद्यार्थीका नङ, कपाल काटिदिने र नुहाइदिने गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “म सुरुमा आउँदा विद्यार्थी सिँगान कटकटिएको नाक, लट्टा परेको कपाल, मैला र ठाउँ ठाउँमा च्यातिएका विद्यालयको पोसाक लगाएर आउँथे । म संस्थागत विद्यालयसँगै देशकै नमुना नारायणी माध्यमिक विद्यालयमा पनि पढाएर आएकी हुँदा विद्यार्थीको त्यस्तो अवस्था देख्दा दुःख लाग्यो । अनि यिनीहरूलाई स्याहारको आवश्यकता छ भनेर सरसफाइ अभियान चलाएँ ।” उहाँले सुरुमा विद्यार्थीलाई सम्झाउने बुझाउने गर्दै सरसफाइप्रति उत्प्रेरणा जगाएको बताउनुभयो ।

“पटक पटक सम्झाउँदा पनि अटेर गर्ने कतिपय विद्यार्थीलाई स्कुलमै नुहाइदिने, नङ र कपाल काटिदिने, च्यातिएको कपडा सिलाइदिने गर्न थालेपछि अहिले ती सबैमा सुधार आएको छ,” उहाँले भन्नुभयो । 

भरतपुरमा डेरा गरी बस्ने गोरखाको पालुङटारी स्थायी बासिन्दा भट्टको चितवनको बसाइ पनि स्कुलबाट ३५ किलोमिटरको दुरीमा पर्छ । विद्यालय ओहोरदोहोर गर्न नै उहाँले दैनिक ७० किलोमिटर यात्रा गर्नु पर्छ । १० बजेदेखि कक्षा सुरु भए पनि भट्ट बिहान ९.३० बजे नै स्कुल आएर विद्यार्थीको हुलिया निगरानी गर्नुहुन्छ । 

नङ, कपाल, जुत्ता, मोजा, पोसाक लगाएको नलगाएको वा कुनै फोहोर छ भने सम्झाउनुहुन्छ । त्यसपछि आवश्यकता अनुसार ती काम विद्यालयमै गरिदिनुहुन्छ । पछिल्लो पटक भट्टले विद्यार्थी सृष्टि कुमाललाई नुहाइदिँदै गरेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ । 

“कक्षामा अरू विद्यार्थीलाई पनि असर पर्ने गरी फोहोर हुँदा विद्यालयमै नुहाइदिनुपर्‍यो नि !” उहाँले भन्नुभयो । उहाँका अनुसार त्यस्ता विद्यार्थी घरमा साँच्चिकै समस्यामा रहेका हुन्छन् । सानैमा आमाबाबु बितेको बताउनुहुने विद्यार्थी समिक अग्रवाल (नाम परिवर्तन) को एक महिनाअघि यसरी नै स्कुलमा कपाल काटियो । अहिले यो काम आवश्यक रहेको छ भन्ने ज्ञान आफूमा आएको उहाँ बताउनुहुन्छ । 

“ममी र डेडी सानैमा मर्नुभएको रे ! आमा (मावलकी हजुरआमा) सँगै बसेर पढ्छु । लुगा धुन र कपाल काट्न भ्याइन्नथ्यो । मेडम (ईश्वरी) ले पहिले सम्झाउनुभयो र पछि त काटी नै दिनुभयो । त्यसपछि अहिले बिस्तारै आफ्नो सरसफाइ आफैँ सिक्न लागेको छु,” अग्रवालले भन्नुभयो ।

शिक्षिका भट्टले भन्नुभयो, “नङ त कतिको काटियो कुनै तथ्याङ्क छैन तर पछिल्लो तीन महिनामै यो विद्यालयमा ५० भन्दा बढी विद्यार्थीको कपाल काटिदिएर विद्यार्थीलाई स्कुलमै नुहाइदिएकी छु ।” उहाँको अनुभवमा तुलनात्मक रूपमा अभिभावक भएका भन्दा नभएका विद्यार्थी बढी लापर्बाह हुन्छन् । उहाँको विद्यालयमा सात छात्र र १३ जना छात्राको बाबु वा आमा या दुवै नभएका छन् ।

“कतिका बाबु वैदेशिक रोजगारीमा उतै बेपत्ता छन् वा बाबु मर्दा आमाले दोस्रो बिहे गरेका कारण पनि बालबालिका अभिभावकविहीन छन् । उनीहरू कि त आफन्तकोमा कि मामाघर बसेर पढिरहेका छन्,” प्रअ आचार्यले भन्नुभयो । बाबुआमा दुवै वैदेशिक रोजगारीमा हुँदा पनि छोराछोरी अलपत्र छन् । यी कारणले उनीहरूको सरसफाइमा समेत समस्या देखियो । 

अभिभावकविहीन मात्र होइन कति त बाबुआमा भएका विद्यार्थी पनि फोहरी भएर विद्यालय आउँथे । शिक्षिका भट्टकै कारण तिनीहरूमा पनि अहिले चेतना बढेको छ र सफा हुन्छन् । 

शिक्षिका भट्ट भने यसमा आफ्नै मात्र भन्दा पनि विद्यालयको सामूहिक श्रेय कारक ठान्नुहुन्छ । उहाँले भन्नुभयो, “विद्यार्थी फोहोर हुँदा कक्षामा सिक्ने र सिकाउने वातावरण नै हुँदैन । अहिले विद्यालयमा देखिएको परिवर्तन ‘टिमवर्क’ कै उपलब्धि हो । शिक्षकले मार्गदर्शन दिने हो । अभिभावक र बच्चाहरूले सहयोग नगरे त कसरी त्यो सम्भव हुन्छ र ?” उहाँको अनुभवमा डर देखाएरभन्दा पनि बालबालिकालाई फकाएर माया गरेर व्यवहार परिवर्तन गराउनु पर्छ । सफा हुनु पर्छ भनेर उनीहरूलाई बुझाउन सकियो भने मात्रै उनीहरू यसमा सहयोगी र आफैँ काम गर्ने हुन्छन् ।स्रोतः गोप

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal