सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति

गण्डकी,२४ भदौ- पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो ।

तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताउनुभयो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सने सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।

“पूर्वी खण्डभन्दा ६ महिनापछि पश्चिम खण्डको काम सुरु भएको हो”, उहाँले भन्नुभयो, “पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो ।”

इन्जिनियर पौडेलका अनुसार पश्चिम खण्डको ३८ दशमलव ८८ किमी दूरीमध्ये हालसम्म २१ किलोमिटर दुई लेन सडक कालोपत्रे भइसकेको छ । त्यसमध्ये चार किमिमा चार लेन सडक कालोपत्रे गरिएको छ ।  सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम पनि भइरहेको इन्जिनियर पौडेलले बताउनुभयो । साना–ठुला गरी पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको उहाँको भनाइ छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि करिब सकिएको उहाँले बताउनुभयो ।

“बाँकी रहेका घरटहराको पनि मुआब्जा प्राप्तिका लागि प्रक्रिया अगाडि बढिसकेको छ, मुआब्जा नपाएका कारण काममा अवरोध हुने अवस्था छैन”, इन्जिनियर पौडेलले भन्नुभयो, “अझै केही ठाउँमा विद्युत् पोल र खानेपानीका पूर्वाधार हटाउन बाँकी छ ।”

वर्षायाम सकिन लागेकाले अब कामले गति लिने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले यो वर्षभित्र आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । पश्चिमतर्फ तनहुँको थर्पु र तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रे भइसकेको छ । पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर पौडेलले जानकारी दिनुभयो । पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेका छन् । सोही खण्डअन्तर्गत पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल अहिले निर्माणाधीन अवस्थामा छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो ।

कुल ८१ किमी दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैङ्कको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाको पूर्वी सडक खण्ड ९जामुने–मुग्लिन० मा हालसम्म भौतिक प्रगति ६६ प्रतिशत पुगेको पूर्वी खण्डका इन्जिनियर एवम् सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा पर्ने १७ साना–ठुला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उहाँको भनाइ छ । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताउनुभयो ।

कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय पूर्वी खण्डको कामले गति लिएको उहाँको भनाइ छ । कालोपत्रेका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेको इन्जिनियर पाण्डेले बताउनुभयो । ४१ दशमलव ४५ किमीको पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो ।

पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले छ अर्ब २१ करोड ३१ लाख रुपियाँ मा उक्त खण्डको ठेक्का लिएको हो । निर्माणमा ढिलाइ हुँदा प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।  घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ निम्तने गरेको छ ।

सडक निर्माण सुस्त भएपछि पोखराका पर्यटन व्यवसायीलगायतले पटक-पटक सरकार र सम्बन्धित निकायमा काम छिटो सक्न दबाब दिँदै आएका छन् । पोखरा–मुग्लिन सडक स्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको पोखराका पर्यटन व्यवसायीको गुनासो छ । रासस

ताजा

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

२०८१ आश्विन २३ गते, बुधबार

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

२०८१ आश्विन २३ गते, बुधबार

पुस्तान्तरण भएन पुर्ख्यौली सिप

२०८१ आश्विन २३ गते, बुधबार

मनसुन क्रमश: कमजोर हुँदै

२०८१ आश्विन २३ गते, बुधबार

वालिङ माेडमा बिक्रीका लागि राखिएका परेवा

२०८१ आश्विन २२ गते, मंगलवार

वालिङमा रहेको गतिशिल सहकारीमा राखेको रकम फिर्ता नपाएको भन्दै बचतकर्ता आन्दोलित

२०८१ आश्विन २१ गते, सोमबार

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भलिबल प्रतियोगिता गर्ने

२०८१ आश्विन २० गते, आईतवार

पुतलीबजारका हरिनारायण शर्माद्वारा एक लाख बढि सहयाेग रकम हस्तान्तरण 

२०८१ आश्विन २० गते, आईतवार

पर्यटकको रोजाइमा माग्दीको टोड्के

२०८१ आश्विन १९ गते, शनिबार

पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ

२०८१ आश्विन १९ गते, शनिबार

राष्ट्रपति भवनमा घटस्थापना

२०८१ आश्विन १७ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal