युवा पलायनको बहस

डा. पदमराज कलौनी

विदेश जान्छु भन्ने सपना प्रत्येक युवाको छ । मनग्गे पैसा कमाएर सहरमा सुविधा सम्पन्न घर  र आधुनिक शैलीको जीवनयापनको लालसा छ । देशमा गरी खाने वातावरण छैन भनिन्छ । सुशासन, विकास र निष्पक्षताका कुरा कुरामै सीमित छन् । स्वाभिमानी भएर बाँच्न अवस्था न्यून छ । पेसा व्यवसाय चौपट छन्‌ । जहाँ गयो उतै ‘पसल बिक्रीमा’ विज्ञापन देखिन्छ । अकासिँदो मूल्यवृद्धिले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिक जीवन निर्वाह गर्न हम्मे हम्मेमा छन्‌ । बिदेसिएका युवालाई स्वदेश फर्काउने नीति/रणनीति राजनीतिक दलसँग छैन । देशमा आर्थिक गतिविधि र उत्पादन घट्दै छ । रुखोसुखो गरी जरजाम गरेका ग्रामीण बस्तीका अभिभावक बालबालिका विदेश पठाउन बाध्य छन्‌ । देशमा व्यापारी, ठेकेदार, नेता र कर्मचारीतन्त्रको शासन छ । 

अहिलेको अवस्था ठ्याक्कै ‘ब्रेन ड्रेन’ जस्तो होइन । जब दक्ष व्यक्ति वा पेसेवर देश छाडेर राम्रो फाइदा एवं उत्तम जीवन यापन गर्न विकसित देशमा जान्छन् तब ब्रेड ड्रेन हुन्छ । उत्तम जीवन परै रहोस्‌ अहिलेको पलायन न्यूनतम जीवन निर्वाहमा सीमित छ । देशले अँगालेको गलत शिक्षा नीतिले युवालाई निरास बनाएको छ । पलायन आफैँमा कष्टकर हुन्छ । पलायन हुनेमा दक्षभन्दा अदक्ष श्रमिक बढी छन्‌ । देशको अर्थतन्त्र राजनीतिक अस्थिरताले खोक्रो बनाएको छ । अदक्ष श्रमिकको रेमिट्यान्सले देश धानेको छ । ब्रेन ड्रेन हुँदो हो त हाम्रा युवा उच्च शिक्षा पढ्न जान्थे । शिक्षादीक्षामा सक्षम भएर विकसित देशमा बसाइँ सर्थे । अतिउत्तम जागिरको अवसर, उच्च तलब, राम्रो जीवनको खोजी गर्दै वैज्ञानिक, चिकित्सक, इन्जिनियर, प्राध्यापक आदि प्रतिभाशालीमा परिचित हुन्थे । 

विद्यार्थीको रोजाइमा संयुक्त राज्य अमेरिका, युनाइटेड किङ्गडम, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, जर्मनी, चीन आदि देश छन्‌ । विदेश अध्ययनार्थ अनुमति लिने विद्यार्थीको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । देशमा रोजगारी प्राप्त गर्ने अवस्था छैन । श्रमिक पलायन हुनुमा अनिश्चित रोजगारीको अवसर, देशको आर्थिक दूरावस्था, राजनीतिक अस्थिरता, नातावाद, भ्रष्टाचार, दोषपूर्ण शिक्षा प्रणाली, विश्वव्यापीकरण र कनेक्टिभिटीको सहजता, सामाजिक र सांस्कृतिक कारण, अनुसन्धान र विकासको नीतिको अभाव, दक्ष जनशक्तिको उत्पादन नहुनु, उद्योग कलकारखाना नहुनु आदि छन्‌ । युवा पलायन रोक्न सरकारले शैक्षिक प्रणालीमा सुधार गरी रोजगारमूलक शिक्षा प्रणाली लागु गर्ने, राजनीतिक स्थिरतासहितको सुशासन कायम गर्ने, सामाजिक जीवन सहज बनाउने, शान्ति र सुरक्षाको गारेन्टी दिने, पलायन भएका युवालाई देशमा बोलाएर उनीहरूको सिप र चाहना अनुसार उत्पादनमा जोड्ने सामथ्र्य देखिँदैन । 

कैयौँ मुलुकमा विद्यार्थी पढाइ अतिरिक्त बचेखुचेको (आंशिक) समयमा काम गर्न पाउँछन्‌ । विदेशमा अध्ययन गर्न सजिलो छ । नेपाली मितव्ययी हुन्छन्‌ । दुःख सुख‌ झेल्न सक्छन्‌ । जस्तोसुकै अवस्थामा जीवनलाई अगाडि बढाउन सक्छन्‌ । वैश्वीकरणले संसारलाई सीमाविहीन बनाएको छ । संसार एउटा गाउँ बनेको छ । डिभी, पिआर, विद्यार्थी भिसा, विदेशी सरकारी तथा गैरसरकारी जागिर, विदेशी कम्पनीको जागिर आदिबाट पलायन भई बाहिरिने विद्यार्थी/श्रमिक विश्व श्रमबजारमा उपस्थित हुने अवसर पाउँछन्‌ । नेपाली श्रमिक सस्तो र इमानदार कामदारका रूपमा परिचित छन्‌ । वैश्वीकरणले नेपाली समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव पारेको छ । वैश्वीकरणको प्रभाव अत्यधिक छ । एकअर्को मुलुकमा पलायन झन्झन् बढेको छ । सूचना प्रविधिको क्रान्तिकारी सफलताले वैश्वीकरण तीव्र छ । वैश्वीकरणले युवाको बौद्धिक क्षमता मात्र बढाएको छैन उत्तम आर्थिक अवसर पनि प्रदान गरेको छ । 

सर्वोत्तम पढाइ, कमाउने अवसर, उत्तम तलबको प्राप्ति, उच्च र आधुनिक भौतिक सामग्रीको उपलब्धता, गुणस्तरीय उत्पादन एवं सेवाको चाहना आदिले पलायन बढ्दो छ । भौतिक सुविधाको खोजीले उत्तम किसिमको अन्तरदेशीय सम्बन्ध स्थापित गराएको छ । युवा देश विशेषका मात्र होइनन्‌ विश्वका कर्णाधार भएका छन्‌ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मूल्यको तुलनात्मक अध्ययन गर्ने अवसर पाइरहेका छन्‌ । नेपाली श्रमिकले पश्चिमी संस्कृतिको अध्ययन, मनन, चिन्तन अवलम्बनले नेपाली संस्कृतिलाई अन्तरघुलन गर्ने अवसर पाएका छन्‌ । अवसर पाए भने सूचना प्रौद्योगिकीले विशाल संसाधनको अध्ययन गरी नयाँ विचार, प्रतिस्पर्धा र मनोरञ्जनका साधन प्राप्त गरी प्रयोग गर्न सक्छन्‌ भन्ने प्रमाणित गरेका छन्‌ । 

सहकर्मी बिदेसिने भएपछि जो कोही आफ्नो करियरको विकल्प सोच्न बाध्य हुन्छन्‌ । अहिलेको युग पलायनमय बनेको छ । पलायन रोकेर रोकिने अवस्था छैन । रोजगारीको अनिश्चितताले पलायन रोक्न सकिँदैन । उत्तम मानिएको सङ्घीय गणतान्त्रिक व्यवस्थाले पनि चाहे अनुसारको परिवर्तन गर्न सकेन । शिक्षा, स्वास्थ्यलगायतका विषय व्यवस्था अनुकूल नहुँदाको प्रभाव युवामा परेको छ । वित्तीय संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्न सरकारी नीति लचिलो छैन । 

युवा पलायनले नेपाली समाजमा परेको प्रभावमा कृषि उत्पादन, औद्योगिक उत्पादन, आर्थिक वृद्धि र सामाजिक परिवेश प्रमुख छन्‌ । प्रायःजसो गाउँघर वृद्धायुको काँधमा छ । युवाको उपस्थिति पातलिँदै छ । कृषियोग्य जमिन बन्जर भूमिमा परिणत भएको छ । रेमिट्यान्सबाट देश चलिरहेको छ । आयातमुखी अर्थ व्यवस्थाले आर्थिक सङ्कट निम्तिँदै छ । आर्थिक मन्दीको चपेटामा परेको अर्थतन्त्रलाई रेमिट्यान्स ‘प्राण वायु’ साबित भएको छ । 

भूमण्डलीकरण आधुनिक समयको पहिचान हो । सम्पूर्ण ब्रह्माण्ड गाउँ बनेको छ । विश्व एउटा बहुलवादी सामाजिक प्रक्रियामा छ । नेपाली समाजलाई द्रुतगतिमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा स्पष्ट रेखाङ्कन र परिवर्तन भइरहेको छ । देशमा कर्पोरेट, खुद्रा र वैज्ञानिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिएन भने सामाजिक, मौद्रिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिँदैन । आयातामुखी अर्थतन्त्र धानेको नेपाली बजार विश्व व्यापार, सिद्धान्त र संस्कृतिको विकासमा जोडिन अनेकन समस्या छन्‌ । भूमण्डलीकरणले विश्वभरका मानिसको जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । नयाँ सोच भित्र्याएको छ । सांस्कृतिक आदानप्रदानले एकरूपता कायम गरेको छ । सञ्चार प्रविधिको क्रान्ति लोकप्रिय बन्दै संस्कृतिमा जादुगरी प्रभाव पार्दै आइरहेको छ ।

जो जहाँ बसून्‌ विश्वव्यापीकरणको प्रभाव दैनिक जीवनमा परेकै छ । शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, वित्त, प्रविधि, श्रम र वातावरण आदि प्रभावित छन्‌ । वस्तु, सेवा र सूचनाको बढ्दो विश्वव्यापी प्रवाहले दैनिक जीवनका सकारात्मक र नकारात्मक कारक प्रभावित भइरहेका छन्‌  । विश्वव्यापीकरणको सबैभन्दा बढी प्रभाव अर्थतन्त्रमा छ । विश्वव्यापी बजारको अन्तरसम्बन्ध वस्तु, सेवा प्रवाह र सीमापार पुँजीको आवागमनले अर्थतन्त्रलाई उल्लेखनीय प्रभाव र दबाब दिइरहेको छ । 

विश्वव्यापीकरणको प्रभावले युवाको पलायन प्रवृत्ति जटिल एवं पेचिलो बन्दै गएको छ । घरपरिवारबाट टाढिँदा सामाजिक सम्बन्ध कमजोर भइरहेको छ । अल्पविकसित÷विकासोन्मुख देशको विकास प्रभावित भएको छ । बिदेसिने युवाको अवस्था राम्रै छ भन्ने आधार छैनन्‌ । बिदेसिन नपाएका कतिपय युवा निरास छन्‌ । कुमार्गमा डोरिँदै छन्‌ । विश्वव्यापीकरणले नेपाली शिक्षा प्रणालीको आमूल परिवर्तनको सङ्केत गरेको छ । विश्वव्यापीकरणकै प्रभावले कैयौँ कलेज एवं विभिन्न सङ्काय बन्द हुने अवस्थामा छन्‌ । 

नेपालमा शिक्षण संस्था र पाठ्यक्रममा सुधार गर्न सकिएको छैन । शैक्षिक अस्थिरता, अन्योलता र उदासीनताका बिचमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा चलिरहेकै छ । विद्यार्थी पलायनले विश्वविद्यालय बन्द हुने अवस्थामा छन्‌ । देशको जेठो र ठुलो त्रिभुवन विश्वविद्यालयले भर्ना प्रक्रियाको प्रावधान परिवर्तन गरी खुकुलो बनाउँदासमेत भर्ना आकर्षित भएको छैन । पलायन हुने विद्यार्थीले विश्वव्यापीकरणको उचित फाइदा उठाइरहेका छन्‌ । विश्वव्यापी प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गरेका छन्‌ । सङ्कुचित ज्ञानलाई फराकिलो क्षेत्रमा वृद्धिको अवसर पाएका छन्‌ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न पाएका छन्‌ । विविध क्षेत्रलगायत  सामाजिक क्षेत्रमा द्रुत प्रगति गरिरहेका छन्‌ । योग्यता, क्षमता र दक्षताको गुणस्तर प्रदर्शन गर्ने अवसर पाएका छन्‌ । भूमण्डलीकरणले नेपाली संस्कृतिप्रति जागरूकता बढाएको छ । विश्व बजारमा नेपालीको उपस्थिति बढेको छ । 

नेपालमा रोजगारीका अवसर देखिँदैनन्‌ । राजनीतिक परिवर्तनले राजनीतिक रोजगारी (केही सङ्ख्यामा) बाहेक अन्य क्षेत्र तहसनहस बन्दै छ । उच्च शिक्षा हासिल गरेका व्यक्तिलाई रोजगारीमा अलमल्याउने वातावरण छैन । औँलामा गन्न सकिने बहुराष्ट्रिय कम्पनीमा केही शीर्ष कुलीन वर्गको पहुँचले रोजगारी सर्वसुलभ छैन । सृजित शैक्षिक अन्योल छिटै समाधान हुने आधार छैन । युवा भविष्यका कर्णाधार हुन्‌ भन्ने स्वीकार्यता छैन । सरकारी उदासीनताले युवा पलायन रोकिने अवस्था छैन । युवाको पूर्ण क्षमताको प्रयोग गर्ने सक्ने सामथ्र्यवान् अवस्थामा सरकार देखिँदैन । विद्यार्थी पलायनलाई रोक्न आकर्षक रोजगारी सिर्जनासहित विश्वसँग प्रतिस्पर्धा गर्ने पाठ्यक्रम निर्माण गरी युवा पलायन रोक्नु ढिला भइसकेको छ ।

हो, युवा पलायन रोक्नु पर्छ तर कसरी त ? संसद्को अधिवेशन सुरु हुँदै छ । पहिलो बैठकबाटै युवालक्षित स्वरोजगार कार्यक्रम ल्याउनु पर्छ । यस्तो कार्यक्रम ल्याउनुअघि सबै दलबिच सहमतिको बिन्दु खोज्नु पर्छ । अहिले जस्तो बेरोजगार उत्पादन गर्ने खालको सैद्धान्तिक शिक्षा मात्रै नभई व्यावहारिक शिक्षामा जोड दिन सके युवामा स्वदेशमै केही गरौँ भन्ने भावनाको विकास हुन्छ । केही गर्न चाहने युवालाई निश्चित समय तोकेर बिनाधितो न्यून ब्याजमा ऋणसमेत दिने व्यवस्था आवश्यक छ । यस्तो ऋण लिन चाहने युवा ग्रामीणमुखी हुनुपर्ने सर्त पनि सँगसँगै राख्न सकिन्छ । केही गर्न चाहने युवालाई करमा समेत छुट दिनु पर्छ । राजनीतिक दलले युवालाई राजनीतिमा आकर्षित गर्नुअघि व्यावसायिक पहिचान बनाएको हुनुपर्ने सर्त पनि राख्नु पर्छ । राजनीतिलाई व्यवसाय होइन, भरपर्दो व्यवसायमार्फत राजनीति भन्ने स्लोगान बनाउन सके युवा पलायन मात्र रोकिने छैन युवालाई स्वरोजगार बनाउन सकिन्छ ।गोप

ताजा

मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

२०८२ माघ ३ गते, शनिबार

मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली

२०८२ माघ ३ गते, शनिबार

हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

२०८२ पुष २७ गते, आईतवार

सदस्यलाई हेपेर पार्टी सञ्चालन गर्ने तरिका आजदेखि भत्कियोः महामन्त्री थापा

२०८२ पुष २७ गते, आईतवार

अकला नमुना साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

२०८२ पुष २५ गते, शुक्रबार

प्याब्सन स्याङ्जाको ३५औं स्थापना दिवस सम्पन्न

२०८२ पुष २४ गते, बिहीबार

वालिङमा वृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न

२०८२ पुष २४ गते, बिहीबार

पाउँदुर ओडारेका रिजाल र स्वादिलो सुन्तला

२०८२ पुष २१ गते, सोमबार

सडक कालाेपत्रे

२०८२ पुष २० गते, आईतवार

आँधीखोला काेरिडोरको अर्मादी खोलामा पक्की पुल निर्माण गरिँदै

२०८२ पुष २० गते, आईतवार

एमाले स्याङ्जाले गर्याे २१ आकाङ्क्षीकाे नाम सिफारिस

२०८२ पुष १९ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal