प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे

पर्वत,२९ मङ्सिर- पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । 

यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् । समुद्री सतहबाट दुई हजार पाँच सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरु पञ्चासेमा रमाउने गरेका छन् ।

यहाँ मुख्य गरी बालाचतुर्दशीका दिन हजारौँ भक्तजनको भीड हुने गर्दछ । शतबीज छर्नका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । यहाँ आउनेहरुले सडकमार्ग छाडेपछि पञ्चासेको मुख्य मन्दिर र तालसम्म उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मन्त्रमुग्ध हुने गर्दछन् । 

समुद्र सतहदेखि दुई हजार पाँच सय नौ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ एक सय १० मिटर र चौडाइ २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जंगलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पञ्चकोशी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो । 

तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जंगलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय सुशीलादेवी गुरुङले बताउनुभयो ।

पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तराईका फाँट देखिन्छन् । पञ्चासेको ‘भ्यूटावर’बाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवाताल मात्रै होइन, दक्षिण-पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधीखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक रोमाञ्चित हुने गरेको पाइन्छ ।

गुरुङ समुदायको बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले गण्डकी प्रदेशकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा तथा त्यसपछि तीन-चार घण्टा पैदल हिँडेर आउन पनि सकिन्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै तीन घण्टा तथा पर्वतको कुश्मा, डिमुवा, चित्रे, आर्थर हुँदै दुई घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ ।

हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ञ्याङसम्मै गाडी पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भए पनि पदयात्रा गर्दाको आनन्द फरक हुने पञ्चासेमा आइपुगेका कुश्माका विषमकुमार श्रेष्ठले बताउनुभयो । कैयौँ स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुग्ने गर्दछन् ।

पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डव गुप्तवासमा रहँदा बसोबास गरेका, बाइसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । पञ्चासेमा बालाचतुर्दशीमा शतबीज छर्नेहरूको घुइँचो लाग्छ भने अन्य समयमा पञ्चासेले पर्यटकको पर्खाइमा रहेको स्थानीय होटल व्यवसायी लोकबहादुर गुरुङले बताउनुभयो । 

पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न पाँच हजार पाँच सय हेक्टर वन क्षेत्रमध्ये एक हजार सात सय हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा पाँच सय ८९ किसिमका फूल, एक सय ५० औषधिजन्य जडीबुटी, ९८ प्रकारका उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जंगलमा विभिन्न प्रजातिका चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्कसमेत रहेका छन् । 

सात सय सय ८४ मिटरदेखि दुई हजार पाँच सय १७ मिटरसम्मको उचाइमा पर्ने पञ्चासे लोपोन्मुख सुनाखरीको राजधानी नै मानिन्छ । सूर्योदय र सूर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पञ्चासे क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुभयो ।

उहाँले बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको र पर्वतले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गुरुयोजना बनाएको बताउनुभयो । उहाँले तीन जिल्लाको साझा बिन्दुमा रहेकाले सबै मिलेर यसको प्रवर्द्धन गर्न सके वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।रासस 

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal