दर्जनौं पटककाे पुनर्लेखनपछि तयार भएकाे थियाे- ‘ऐँठन’
काठमाडौं,१४ असोज-आख्यानकार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले २०७९ सालको मदन पुरस्कार पायो । मदन पुरस्कार पाएपछि ओझालाई अहिले बधाईको ओइरो छ । फोन उठाउन भ्याइनभ्याइ छ । बिहानदेखि ‘धन्यवाद’ नै सयौं पटक भनिसके । तर, दश वर्षे जनयुद्धको पेरिफेरिमा लेखिएको ‘ऐँठन’ले एक दिन मदन पुरस्कार पाउला भनेर लेखक ओझाले सोचेकै थिएनन् ।
२०७४ सालदेखि पाँच वर्षसम्म रिसर्च, अध्ययन र लेखनमा व्यस्त रहँदा ओझाको एउटै चाहना थियो, पुस्तक धेरैभन्दा धेरै पाठकसम्म पुगोस् । ओझा भन्छन्, ‘मैले इमानदार भएर मेहनत गर्ने कोसिस गरें । आफ्नो सम्पूर्ण आउटपुट दिने प्रयास गरें र बाँकी सबै कुरा त किताब स्वयंले यात्रा तय गरेको हो ।’
अहिले आएर मदन पुरस्कार जस्तो सम्मानित पुरस्कार पाउँदा भने खुशी लागेको ओझा बताउँछन् । पुरस्कार पाएपछि अझै थुप्रै पाठकसम्म पुग्ने अपेक्षा ओझाको छ । जुनसुकै माध्यमबाट होस्, धेरैभन्दा धेरै पाठकसम्म पुगेर न्यानो माया पाउनु नै आफ्ना लागि ठूलो कुरा रहने ओझाको भनाइ छ ।
ओझा सुदूरपश्चिमका लेखक हुन् र ओझाले सुदूरकै कथा आख्यानमा उन्छन् ।
ओझाले २०७४ मा ल्याएको उपन्यास ‘ऐलानी’ले वादी समुदायको विषय उठाएको थियो । ओझा आफैं सुदूरका । उपन्यासको क्यानभास पनि सुदूरकै थियो । ओझा स्वयं सानैदेखि वादी समुदायसँग नजिक थिए । त्यसैले पनि आफूले ‘ऐलानी’मा वादी समुदायको कथा उठान गरेको ओझा बताउँछन् ।
‘ऐलानी’ आएको पाँच वर्षपछि ओझाले नयाँ उपन्यास ल्याए ‘ऐँठन’ । दश वर्षे जनयुद्धको क्यानभासमा तयार पारिएको ‘ऐँठन’मा माओवादीको हिंसात्मक विद्रोह र त्यसको दमनमा राज्यले गरेको प्रतिहिंसाको बीचमा पिल्सिएका भुईं मान्छेको कथा छ ।
‘ऐँठन’का लागि ओझाले गाउँगाउँ गएर अनेक पात्रलाई भेटे । रिसर्च गरे । अध्ययन गरे । पुराना पत्रपत्रिकाहरु पढे । जनयुद्धका पीडितहरुलाई भेटे र उपन्यास तयार पारे ।
अहिले उपन्यासले पुरस्कार पाएपछि ती मेहनत सम्झिँदा ओझालाई कस्तो लाग्छ ?
ओझा भन्छन्, ‘कोही साथीहरु विदेश गएर घर बनाए । कसैले गाडी किने । वस्तुगत जीवनमा उनीहरुले फड्को मारे । मैले ती सबै कुरा त्यागें । मैले त्यो जीवन त्यागेर लेखनमा समय दिएँ । अहिले पुरस्कार पाउँदा मैले लिएको जोखिमले न्याय पायो जस्तो लागेको छ ।’
तर, संघर्षको कथा भने यही पुरस्कारले टुंग्याउन नसक्ने बताउँछन् ओझा ।
पुरस्कार एक प्रकारको उत्प्रेरणा भए पनि आगामी दिनमा अझै संघर्ष गर्नै बाँकी रहेको ओझाको भनाइ छ । हिजो एक तहको संघर्ष थियो । भोलि एक तहको संघर्ष हुनेछ । तर, त्यो संघर्षको रुप कस्तो हुन्छ ? त्यो भने हेर्नै बाँकी रहेको ओझा बताउँछन् ।
‘ऐँठन’लाई पूर्ण गर्नै ओझालाई पाँच वर्ष लाग्यो । पाँच वर्षमा पहिलो ड्राफ्ट तयार गर्न जति समय लगाए, त्योभन्दा तेब्बर समय पुनर्लेखनमा खर्चिए ।
ओझा भन्छन्, ‘मैले कति पटक पुनर्लेखन गरें भन्ने त गनिनँ । तर, दजनौं पटक पुनर्लेखन गरेको छु । मलाई चित्त नबुझेसम्म गरेको छु ।’
सबै लेखकको आआफ्नै लेख्ने तरिका हुन्छ । कसैले एक पटकमै लेखिसक्छन् । ओझा भने पुनर्लेखनमा बढी समय दिन्छन् । पुनर्लेखनले थुप्रो कमजोरीलाई सच्याउने समय दिने ओझाको अनुभव छ ।
ओझा सुनाउँछन्, ‘अनि सकभर अथेन्टिक र बढीभन्दा बढी पाठकको मन जित्ने मेसो मिल्नसक्छ ।’
ओझाको उपन्यास ‘ऐँठन’ बजारमा आएपछि जनयुद्ध अलि गलत तरिकाले देखाइयो, त्यसको उपलब्धिहरुलाई अलि नजरअन्दाज गरिएको हो कि भनेर पनि टिप्पणी आए । तर, ओझालाई भने त्यस्तो लाग्दैन ।
ओझाको मत छ, ‘कुनै एउटा पुस्तकमात्रै जनयुद्धको निचोड हुन सक्दैन । प्रत्येक पात्रको तर्फबाट त सिंगो उपन्यास लेख्न सकिन्छ । मैले चाहिँ न्युट्रल भएर बफर जोनको पात्रलाई लेख्ने कोसिस गरेको छु । के कति सफल भएँ, पाठकको जिम्मा । तर, सबैको आआफ्नै धारणा हुन्छन् । म सबैको धारणालाई सम्मान गर्छु ।’
लेखक ओझा अहिले नयाँ पुस्तक बजारमा ल्याउने तयारीमा पनि छन् । एउटा लघु उपन्यास र कथा संग्रहमध्ये अब एउटामा काम गर्ने मनसायमा छन् । तर, बजारमा कहिले आइपुग्छ भनेर चाहिँ यकिन नभएको उनी बताउँछन् ।
यस वर्ष मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्युहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि समावेश थिए । यिनै किताबमध्ये ओझाको ‘ऐँठन’ले मदन पुरस्कार जितेको हो ।
सांग्रिला बुक्सले बजारमा ल्याएको यस उपन्यास गत चैतमा विमोचन भएको थियो ।
‘ऐँठन’ ओझाको तेस्रो कृति हो । उनको यसअघि ‘ऐलानी’ (२०७४) सँगै ‘एक पाइला आकाशमा’ (२०७०) गजल संग्रह प्रकाशित छन् । ओझा ‘ऐलानी’ उपन्यास सार्वजनिक भएपछि पूर्णकालीन रुपमा लेखनमा सक्रिय छन् ।