बेनी–जोमसोम सडक सधैँ सास्ती
ध्रुवसागर शर्मा
गलेश्वर,२३ साउन- ‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराेका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
वि.सं. २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको उक्त सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । छयत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरूलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कँदै गर्नुभएका कृष्ण शर्माले जानकारी दिनुभयो ।
रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिराले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो । बैसरीमा दैनिकजसो खस्ने पहिराले उक्त सडकको यातायात सेवा बन्द हुने गरेको छ । सडक माथिबाट पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुने गरेको हो । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समयसम्म सडकमै बस्नुपरेकाले समयमै गन्तव्यमा पुग्न पाएका छैनन् ।
सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो । वैकल्पिकरुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठुला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ भने जिप र मोटरसाइकलले बैसरी–रिसिनचौतारी–पिप्ले–घुमाउने ताल जोड्ने सडक प्रयोग आएका छन् । वैकल्पिक सडक पनि जीर्ण, साँघुरो र जोखिमयुक्त छ ।
कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा सवारी साधन सञ्चालन नहुँदा आवतजावत गर्न र कृषि उपज निकासीमा असर परेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिरमाथिको पाखो भूमिगत पानी र पहिराले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताउनुभयो । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भए पनि सफल भएको छैन । आकाशबाट पानी पर्ने बित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ । तत्काललाई जोखिम न्यूनीकरणको उपाय अपनाउन र अवरुद्ध सडक खुलाउन डोजर तथा मजदुर परिचालनका साथै दीर्घकालीनरूपले समस्या समाधान गर्न माथिल्लो निकायमा पहल गरिने आयोजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
बाढीपहिराेका कारण सो सडकखण्डको तीन ठाउँमा लेदो माटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो । बैसरीमा मात्र होइन हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न हुने गरेको सो सडक खण्डमा सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।
उक्त सडकखण्डअन्र्तगत रघुगङ्गा गाउँपालिका–३ को बैसरी, अन्नपूर्ण गाउँपालिका–३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था दयनीय र डरलाग्दो रहेको दानमा होटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी सुवर्ण खत्रीले बताउनुभयो । यहाँ सामान्य वर्षा हुँदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नाका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने गाडी चालक टेकबहादुर विकले बताउनुभयो ।
वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेको र ठाउँ-ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरोले बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । यो सडक २०६४ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो ।
उक्त सडक कालीगण्डकी कोरिडोरमा समेटिएपछि विगत पाँच वर्षदेखि स्तरोन्नति र तीन वर्षदेखि कालोपत्रको काम सुरु भएको छ तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख जगत् प्रजापतिको भनाइ थियो । भीरकोट र बाँदरजुङ्गे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताए ।
बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि योगदान पुग्ने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्वीर) ले बताउनुभयो । “प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरूको ‘लाइफ इन्ड’ हुने गरेको छ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो “२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।”रासस
ताजा
Does the world still need globalization? A look at the distant past offers an answer.
२०८२ पुष १ गते, मंगलवार
Does the world still need globalization? A look at the distant past offers an answer.
२०८२ पुष १ गते, मंगलवार
How will “a shared future” save the world from fragmentation?
२०८२ पुष १ गते, मंगलवार
एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै
२०८२ पुष १ गते, मंगलवार
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
२०८२ पुष १ गते, मंगलवार
पुतलीबजार र अर्जुन चौपारीमा आगलागी
२०८२ मंसिर २८ गते, आईतवार
शिक्षकलाई पेशागत सहायता तालिम
२०८२ मंसिर २८ गते, आईतवार
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
२०८२ मंसिर २७ गते, शनिबार
भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न
२०८२ मंसिर २७ गते, शनिबार
माेबाइल एसाेसिएसन वालिङद्वारा गह्राैँ प्राथमिक अस्पतालाई सहयाे
२०८२ मंसिर २७ गते, शनिबार





















