वैदेशिक अध्ययन व्यवस्थापन

गायत्री लम्साल

विश्वव्यापीकरणको बढ्दो व्यापारले शैक्षिक जगत्लाई समेत निकै प्रभाव पारेको छ । एसइई सकेपछि प्लस टु पढ्दापढ्दैको समयमा धेरै विद्यार्थीले भर्चुअल जगत्मा आफूले पढ्न चाहेको वैदेशिक कलेज हेर्न सक्छन् । स्वदेशमा आफ्नो भविष्य खोज्नभन्दा विदेशमा कलेज रोज्न हतारिन्छन् । देशका उच्च बौद्धिक क्षमताका विद्यार्थी बर्सेनि बढ्दो सङ्ख्यामा विदेश जानेमध्ये स्थायी रूपमा नेपाल फर्कनेहरू निकै कम छन् । यसलाई ब्रेनड्रेनका रूपमा लिन सकिन्छ । हरेक वर्ष हाम्रा कलेजमा भर्ना हुने विद्यार्थी सङ्ख्या घट्नुका कारणमध्ये यो पनि एक हो । 

बर्सेनि हजारौँ विद्यार्थी अध्ययनका लागि बाहिँरिदा देशको प्रमुख श्रमशक्ति र सम्पत्ति दुवै बाहिरिएको छ । सन्तानको सन्तापमा हरेक बाबुआमाका मुहारमा डर, त्रास र चिन्ता छ । मुखले आफ्ना छोराछोरी विदेशमा छन् भनिरहँदा मनभित्रभित्रै सन्तान बाहिरिनुको पीडा पाकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा झन्डै एक लाख १३ हजार जनाले विदेशमा अध्ययन गर्न जाने अनुमति (एनओसी) लिएका छन् । जसमा वैदेशिक अध्ययन गर्न जाने प्रमुख देशहरू अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत हुँदै लगभग चौसट्ठीभन्दा बढी देश रहेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०७९/८० मा वैदेशिक अध्ययनमा झन्डै ६० अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ । 

उच्च शिक्षा अध्ययनका लागि विदेशमा जानु आफैँमा नराम्रो होइन । आजको फराकिलो विश्व बजारमा नयाँ–नयाँ शिक्षा, प्रविधि सिक्नु आफैँमा राम्रो काम हो । वर्तमान अवस्थामा प्रमुख समस्या भनेको हामी लगानी गर्ने समयमा स्वदेशमा बस्ने, परिवारमा बस्ने गर्छौं । जब त्यसको प्रतिफल आउने बेलामा विदेशमा रहने तितो वास्तविकता विद्यमान रहेको छ । जब स्वदेशले गरेको लगानीको प्रतिफल स्वदेशले पाउँदैन, तब समाज, घरपरिवारलाई मात्र नभई समग्र मुलुकमा नै नकारात्मक असर पर्छ ।

आज पहिलाको तुलनामा हरेक गाउँ–गाउँमा केही मात्रामा भए पनि विकास पुगेको छ । बाटोघाटो, बिजुली, पानी, इन्टरनेट छ तर ती सुविधा प्रयोग गर्ने नागरिक बाहिरिएका छन्, कोही अध्ययनका लागि त कोही रोजगारीका लागि । गाउँका बस्ती उजाडिएका छन् । हाम्रै पालामा उब्जनी हुने जमिनसमेत सबै बाँझिएका छन्, झाडी वा वन बनेका छन् र बाँदरको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । बाँकी रहेका एकाध बस्तीमा समेत परिवारमा वृद्ध आमा, बुवा मात्र एक्लै पर्नु भएको छ । यसले पारिवारिक माया, ममताको विछोड बनाएको छ । जसको असर नेपालमा र विदेश गएकामा समेत परी आत्महत्याका घटना बढेका छन् । 

हाम्रो शिक्षा प्रणाली व्यावसायिक हुनु पर्छ । शिक्षा आर्जन गरेपछि शैक्षिक प्रमाणपत्रको साथमा रोजगार पाउने, श्रम गर्ने सिप र क्षमतासमेत विकास हुनु जरुरी छ । बजारभरि शैक्षिक डिग्री लिएका बेरोजगारको भिड छ । हाम्रोमा मानव पुँजीलाई बेवास्ता गरिन्छ । अध्ययन तथा अनुसन्धानमा कम ध्यान दिइन्छ । मानव स्रोतको प्रक्षेपण नै छैन । विश्वविद्यालय रोजगारी सिर्जना गर्ने सिप दिने उद्योग हुनुपर्नेमा बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । मुलुकको समग्र शिक्षा प्रणाली कमजोर हुनु बहुआयामिक समस्या हो । राज्य संयन्त्रका एउटा मात्र पात्र असल भएर सुधार आउँदैन । यसका लागि सबैको आपसी सहकार्य, साझेदारी र सह–लगानीको जरुरी छ । 

बर्सेनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीमा विविध समस्या रहेका छन् । स्वदेशमा अध्ययन गरेकै समयमा समेत बहुपक्षीय समस्या झेलेका विद्यार्थीमा वैदेशिक अध्ययनमा झन् नयाँ प्रकारका समस्या थपिन्छन् । विदेशका भाषा र संस्कृतिमा फरक छ । त्यहाँको नियम–कानुन बुझ्न केही समय लाग्दछ । शैक्षिक संस्था सोचेभन्दा फरक हुन सक्छन् । 

आफ्नो आर्थिक अवस्थाले निम्त्याउने समस्या छँदै छन् । वैदेशिक अध्ययनका लागि खोलेका परामर्शदाता कम्पनी सेवामूलकभन्दा नाफामूलक बढी छन् । सबै समस्यासँग जुध्ने, भिड्ने, भोग्ने भनेको स्वयं विद्यार्थीले नै हो । 

आजको युग विश्वव्यापीकरणको युग हो । यो समयमा मानव स्रोतलाई पुँजीका रूप्मा लिने हो भने जहाँ लगानी हुन्छ, त्यहाँ स्थानान्तरण हुनु स्वाभाविक हो । त्यसैले आजको आवश्यकता भनेको वैदेशिक अध्ययनका लागि बाहिरिने रकम कम गर्नका लागि हाम्रो शिक्षामा, हाम्रा विश्वविद्यालयमा लगानी बढाउन सक्नु पर्छ । यसको लागि एकल प्रयासले हुँदैन । सबैको संयुक्त प्रयास हुनु पर्छ । विश्वविद्यालयलाई सम्पूर्ण रूपमा स्रोतसाधनले सबल र सक्षम बनाउनु पर्छ । शैक्षिक संस्थालाई विशुद्ध व्यावसायिक शिक्षा प्रदान गर्ने बनाउनु पर्छ ।

शिक्षामा गरिएको लगानीले नतिजा दिन सक्नु पर्छ । एक त हाम्रो विश्वविद्यालयको शिक्षालाई पार्ट टाइम बनाउनु पर्छ । जसले गर्दा विद्यार्थीले रोजगारीका लागि समय छुट्याउन सकून् । दोस्रो, विश्वविद्यालयमा विषयगत कोटा लागु गर्नु जरुरी छ । यसो गर्न सकेमा मानव पुँजीको अध्ययन तथा अनुसन्धान गर्न सजिलो हुन्छ । तेस्रो, विद्यार्थीलाई आवश्यकता अनुसार ऋण, छात्रवृत्ति, स्वरोजगारलगायतका कार्यक्रम ल्याउने । यसो गर्नाले स्वदेशमा नै विद्यार्थी रहनबस्न सक्ने वातावरण सिर्जना र निर्माण हुन्छ । 

आज बर्सेनि हजारौँ विद्यार्थी अध्ययनका लागि बाहिरिँदा न त परिवार खुसी छन् न त देश । आफ्ना मुटुका टुक्रा जस्ता सन्तानलाई सानो उमेरमा पढ्नकै लागि विदेश पठाउँदा हरेक परिवारमा खुसी रित्तिएको छ एकातिर भने अर्कोतिर जल्दोबल्दो अवस्थामा रहेको मानव पुँजीलाई विदेश पठाउँदा समग्र मुलुकलाई व्यापक घाटा छ । स्वदेशमा नै प्रचुर मात्रामा उद्योग, कलकारखाना निर्माण गरी त्यसको उत्पादन निर्यात गर्ने बेलामा होनाहार विद्यार्थी नै निर्यात गर्नुपर्ने वर्तमान अवस्थाको मूल्याङ्कन हुनु जरुरी छ । 

शिक्षामा गरिने लगानी महत्वपूर्ण लगानी हो । यो लगानीले मानव पुँजी निर्माण गर्न सक्नु पर्छ । स्वदेशमा निर्माण भएको मानव पुँजी स्वदेशमा नै रम्ने र जम्ने वातावरण सिर्जना गर्नु/गराउनु सरोकारवाला सबैको साझा दायित्व हो । विश्वबजारको ज्ञान आर्जन गर्नु हरेक विद्यार्थीको नैसर्गिक अधिकार हो तर सो आर्जन गरेको ज्ञानलाई स्वदेशमा नै लगानी गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । सरकारको प्रमुख चुनौती हो । 

गरेमा हरेक कुरा सम्भव हुन्छ । वास्तविक हुन्छ । हामीकहाँ काम केही नगर्ने, कुरा ठुला गर्ने प्रवृत्ति व्यापक छ । उच्च राजनीतिक संस्कारको अभाव छ । शिक्षा र राजनीतिमा दीर्घकालीन सुधार गर्नु आजको आवश्यकता हो । क्षेत्रफलको हिसाबले हाम्रो मुलुक सानो छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ । जनसाङ्खिक हिसाबले पनि निकै राम्रो छ । हाम्रोमा कमी भनेको उच्च राजनीतिक संस्कारको हो । केही गर्न सक्छौँ भन्ने आत्मविश्वासको कमी हो । काम गर्ने संस्कारकोे कमी हो । उचित सोच, विचार र पद्धतिमा कमजोरी छ । यसका लागि सबैमा आफूले देशका लागि केही गर्छु भन्ने भावना हुन जरुरी छ । 

शिक्षामा लगानी बढाऔँ  । लगानी बढेपछि विश्वविद्यालयको गुणस्तर वृद्धि हुन्छ । अन्तर्राष्ट्रिय रूपमा मिल्ने गरी शैक्षिक सत्रको व्यवस्थापन गरौँ । हाम्रा शिक्षा प्रणालीले सबैलाई रोजगार दिन सक्ने व्यावसायिक बनाऔँ । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट टाढा राखौँ । हाम्रा विश्वविद्यालयमा गरिएको लगानीबाट यस्तो नतिजा निकालौँ कि जसबाट प्रभावित भई अन्य देशका विद्यार्थी हाम्रा विश्वविद्यालयमा पढ्न आउने वातावरण सिर्जना होस् । हाम्रा विद्यार्थीको अध्ययनका लागि विदेश जाने सङ्ख्यामा कमी आओस् । गएका विद्यार्थी पनि आफ्नो अध्ययन सकेर, प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई स्वदेशमा फर्केर यहीँ प्रयोग गरून् । सिकेको ज्ञान, सिप, क्षमता, प्रविधि हाम्रा अनमोल हतियार हुन् । हाम्रा मानव पुँजीको उपयोग स्वदेशमा नै गर्नु÷गराउनु हामी सबैको साझा दायित्व हो ।स्रोतः गोप   

ताजा

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal