भुल्न कठिन त्यो त्रासदी
गण्डकी,५ माघ- शिशिरको पारिलो घाममा छोरी सेक्दै हुनुहुन्थ्यो, लक्ष्मी गिरी । बुधबार दिन घमाइलो भए पनि उहाँको मन छ्याङ्ग छैन । पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहनुभएको छैन ।
आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उहाँलाई घरीघरी झस्काउँछ । मनमा अझै डरले घर गरेको छ । “सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ”, ३९ वर्षीया गिरीले भन्नुभयो, “घरमाथिबाट ढल्किँदै आएको जहाज एक्कासि बजारियो र आगो लाग्यो ।”
माघे सङ्क्रान्तिको दिन बिहान गिरी आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै हुनुहुन्थ्यो । बुबा बेल पनि घरमै हुनुहुन्थ्यो । ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन् ।
त्यहीबेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा प¥यो । माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो । छिनभरमै जहाज गिरीको घरदेखि एक सय मिटरअघिको जमिनमा धसिँदै सेतीखोँचमा खस्यो ।
“जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो”, उहाँले सुनाउनुभयो, “काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागेँ ।” जीवनमा पहिलो पटक यति ठूलो घटना देख्नुभएकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैँ लाग्ने गरेको सुनाउनुभयो ।
“मुस्ताङतिर, जहाज दुर्घटनाबारे मोबाइलमा हेरिन्थ्यो, सुनिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै आँखाअघि देखियो, सोँच्दा पनि डर लाग्छ, हातखुट्टा काँप्छ ।” गिरी दुर्घटनालगत्तै घटनास्थल नजिक जान पनि सक्नुभएन । दिनैभर छोरीहरु साथमा लिएर घरभित्रै बस्नुभयो । विस्तारै डर मत्थर हुँदै गए पनि मन अझै हलुका हुन नसकेको गिरीको भनाइ छ । उहाँका छिमेकी पनि उक्त घटनाबाट त्रस्त छन् ।
घारिपाटन, नागबेली टोलकी सीता विक पनि जहाज खस्ने बेला घरमै हुनुहुन्थ्यो । बिहान मन्दिर गएर फर्केपछि परिवारमा खाना खाने सुरसार चल्दै थियो । अकस्मात् ठूलो आवाज आयो । त्यतिञ्जेल विकले जहाज हो भन्ने पनि पत्तो पाउनुभएको थिएन ।
“भूइँचालो गएजस्तो भएको थियो, बाहिर निस्कँदा त जहाज खसेर आगो लाइसकेको रहेछ, वरिपरी धुँवाधुलो छाएको थियो”, उहाँले भन्नुभयो, “होसै गुमेजस्तो, न बोल्न सक्ने, न खाने अवस्था भयो, घरैअघि भएकाले होला अझै पनि डर लाग्छ, यो घटना कहिल्यै बिर्सन नसकिने भइयो ।” विकको घरअघिको बाँसघारीलाई पछाडिको भागले लछार्दै जहाज खोँचमा खसेको थियो । माथिबाट खस्दा जहाज ठोक्किएको जमिन धस्सिएको छ ।
रुख र बुट्यान मासिएका छन् । आगलागीले घाँस र पत्कर नष्ट गरेको छ । जहाजका भग्नावशेष, यात्रुका जलेका लुगाफाटा र सामग्री छरपष्ट देखिन्छन् । दुर्घटनास्थल यसै उजाड र उराठलाग्दो छ । दुर्घटना भएको ठाउँ हेर्न आउने मानिस पनि उत्तिकै हुन्छन् । बाहिरकालाई घटनास्थल हेर्ने कौतुहलता भए पनि आसपासका बासिन्दालाई भने त्यही ठाउँले त्रीसदीपूर्ण घटनाको सम्झना गराइदिन्छ । पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आफ्नो जीवनकालमा यति ठूलो बीभत्स दुर्घटना कहिल्यै नदेखेको बताउनुभयो ।
“जहाज खसेको १० मिनेटमै घटनास्थल पुगेको थिएँ, अवस्था दर्दनाक थियो, हेर्दाहेर्दै यात्रुहरु जले, जीवित उद्धारको प्रयास विफल भयो”, उहाँले भन्नुभयो । उद्धारमा सबै स्रोतसाधन लगाउँदा पनि कसैलाई बचाउन नसकिएको वडाध्यक्ष बानियाँले बताउनुभयो । झाडीसहित खोल्साखाल्सी भएको गहिरो खोँचमा जहाज खसेका कारण उद्धार जटिल बनेको थियो ।
वडाको पहलमा दुर्घटनास्थल वरपरका बासिन्दालाई शुक्रबार मनोपरामर्श दिने तयारी भइरहेको वडाध्यक्ष बानियाँको भनाइ छ ।
“दुर्घटनाले कसैलाई मनोवैज्ञानिक असर परेको हुनसक्छ, त्रास रहिरहेको हुनसक्छ”, उहाँले भने, “इच्छुक र आवश्यक परेका व्यक्तिलाई राखेर दुई घण्टा मनोपरामर्श दिदैँछौँ ।” जहाज दुर्घटनाबारे सत्यतथ्य थाहा पाउन धेरै मानिस उत्सुक रहेको वडाध्यक्ष बानियाँले बताउनुभयो ।
“के कारणले गर्दा जहाज दुर्घटना भयो होला भनेर मानिसहरु कुराकानी गरिरहेका भेटिन्छन्, अनेक खाले अनुमान लगाउँछन्”, उहाँले भन्नुभयो, “आशा गरौँ विमान दुर्घटनाको कारण पत्ता लाग्नेछ र फेरिफेरि यस्तो दुर्घटना हुनेछैन ।”
दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एकजनाको खोजी तथा उद्धार जारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार फेला परेकामध्ये २२ शव पोखरामै शव परीक्षण गरी परिवारजनलाई बुझाइएको छ ।रासस
ताजा
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले
२०८३ असार २६ गते, शुक्रबार





















