“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

जमुना वर्षा शर्मा

पोखरा,३ माघ– फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार विहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०-१५ मिनेट जति भएको हुँदो हो माथिबाट आएको ठूलो आवाज उहाँको कानमा नराम्रोसँग ठोक्कियो । एकैछिन दिमागमा सन्नाटा छायो ।

“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए”, त्यो दिनको घटना सम्झँदै गर्दै ३७ वर्षे उहाँले भन्नुभयो, “ढुङ्गा बजारिएपछि म पानीमा कतिबेला पुगेछु पत्तै भएन ।”

यतिकैमा आगो र धुँवाको कालो मुस्लो देखियो । ढुङ्गा र आगोको झिल्का खोँचमा निरन्तर झरिरहेका थिए । उहाँ पानीबाट निस्किएर अलिक पर कुनामा रहेको चट्टानमुनी ओत लाग्नुभयो । “कसैले बम पड्काएको हो कि भन्ने लाग्यो”, उहाँले सुनाउनुभयो, “ढुङ्गा झर्न अलिक कम भएपछि जसोतसो त्यहाँबाट निस्केर छिटोछिटो उकालो लागेँ ।”

केही मिनेटको उकालो चढेपछि जलिरहेका जहाजका टुक्रा देखिए । उहाँलाई तबमात्रै जहाज दुर्घटना भएको रहेछ भन्ने यकिन भयो । “बुढापाकाहरु काल नआएसम्म मरिन्न भन्थे, हो जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “आइतबार त्यस्तै भयो, म ठूलो भाग्यले बाँचे ।”

खुट्टा र पिठ्युँमा लागेको चोट देखाउँदै आलेले भन्नुभयो, “धन्न ढुङ्गा टाउकोमा लागेन नत्र म पनि बाँच्ने थिइन, खुट्टा र पिठ्युँमा हेर्नुस् त कति नराम्ररी चोट लागेको छ, अहिले हिँड्न पनि गाह्रो भएको छ ।”

आले यती एयरलाइन्सको विमान दुर्घटना भएको स्थलबाट पाँच मिनेटको पैदल दूरीको नागार्जुन टोलमा बस्नुहुन्छ । त्यहीँकै राम बल्क उद्योगमा चालकका रुपमा काम गर्न थालेको १० वर्ष भयो । तनहुँ कुर्लुङका आलेका चार छोरी र एक छोरा छन् । “भगवानले मलाई बचाउनु भयो, नत्र श्रीमती र बालबच्चाको के हाल हुन्थ्यो होला ?”

अहिले आले टाउकै माथि जहाज खस्दा पनि बाँच्न पाएकोमा भगवान धन्यवाद दिँदै बस्नुभएको छ । “यो त मेरो ठूलो भाग्यो हो, म बाँचे तर आँखा अगाडिको यत्रो जहाज दुर्घटना र त्यहाँ सवार यात्रुको मृत्युको खबरले भने विक्षिप्त बनाएको छ, नजिक गएर त्यहाँका दृश्य हेर्ने आँट पनि आएको छैन”, उहाँले भन्नुभयो ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित सितारामको प्लटिङ भनेर चिनिने स्थान नजिकको सेतिको खोँचमा आइतबार करिब ११ बजे आसपासमा यति एयरलाइन्सको ७२ सिटे जहाज दुर्घटना ७० जनाको शव फेला परेको छ । बाँकी दुई जनाको खोजी अझै जारी छ ।

घटनास्थलबाट निकालिएका शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा राखिएको छ । अस्पताल स्रोतका अनुसार काठमाडौँ शिक्षण अस्पतालका फरेन्सिक प्रमुख टोलिको नेतृत्वमा र पोखरा स्वास्थविज्ञान प्रतिष्ठान तथा अन्य शिक्षण संस्था फरेन्सिक विज्ञ चिकित्सकबाट शवको वर्गीकरण गर्ने काम सकिएको छ ।

सनाखत गर्न मिल्ने शवको परिवासँग ‘भेरिफाइ’को काम भइरहेको छ । भेरिफाइपछि शवको पोस्टमार्टम शुरु भएको छ । थप सनाखत गर्नुपर्ने देखिएका डीएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ४६ जनाको शव काठमाडौँ पठाउनु पर्ने र बाँकी २३ जनाको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal