जनताको भरिया भएर काम गर्नेछु ः गुरुङ
वालिङ,१३ कात्तिक– नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार धनराज गुरुङले जनताको भरिया बनेर काम गर्ने बताउनुभएको छ ।
आइतबार भीरकोट नगरपालिका ५ र ९ को पकान, सिम्ले, आग्रीडाँडा, लगायतका स्थानहरुमा मतदाताहरु संग भेटघाट कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताउनुभएको हो । आफुले निर्वाचन जितेर गएपनि जनताको सेवामा हरबखत लागिपर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधि जनताको सेवक तथा भरिया भएको भन्दै जनताको दुःखसुखमा जनतासंगै हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचार र बेथितिको अन्त्य गरी सम्मुनत मुलुक निर्माणका लागि लागिपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा उम्मेदवार भोजराज अर्यालले स्वदेशमै रोजगार स्थापित गरी युवाहरुलाई स्वदेशमै रहने वातावरण सृजना गर्ने बताउनुभयो । देशको खम्बा युवाहरु विदेशिने क्रम नरोकिएमा देशमा उन्नति हुँन नसक्ने भएकाले देशको मेरुदण्ड यहीँ रहने वातावरण निर्माण गर्नुपर्ने अर्यालको भनाइ थियो ।