नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

कास्की,४ भदौ–  विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक–पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तरपनि खेल पूर्वाधारकै चिन्ता कायमै छ ।

गण्डकीमा प्रतियोगिता तय भएको तीन वर्षभन्दा बढी समय भयो । तर, अहिलेपनि कतिपय खेलका पूर्वाधार नै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन ।

खेल पूर्वाधारमा वर्षेनी बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ ।

पोखरा रङ्गशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो । तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि कामनै सुरु हुन सकेन ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ ।  खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरु रहेको बताउनुभयो । सो समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ ।

आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौंमा खेलाउने योजना रहेपनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । “राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गछौँ”, खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भन्नुभयो,“राखेपका सदस्य सचिव र पौडी सङ्घको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं ।”

पोखरा रङ्गशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ । तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

पोखरा रङ्गशालाभित्र पौडी र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिएपनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । पौडी  पोखरीलाई रु ३५ करोड हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष रु पाँच करोड छुट्टाएको थियो । योगीले भन्नुभयो,“विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेण्डर आह्वानलगायतका काम अघि बढाउन सकिएन ।”

पोखरा रङ्गशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रङ्गशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौँका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौँमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ ।

नवौँलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रदेशका अधिकांश जिल्लाहरुमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौँ । खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ ।”

नवौँ राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामानै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक/एक खेल खेलाउने योजना आयोजकको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ ।

प्रतियोगितामा चार सय  सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी नौ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ ।रासस

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal