शीतल निवास अगाडि निहारिकाद्वारा आत्मदाह प्रयास
काठमाडौँ,२७ साउन– न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गर्नुभएको हो ।
निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि जानुभएको थियो । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो ।
निहारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गर्नुभएको थियो । वसन्तपुर डबलीमा अनशन बस्नुभएकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाउनुभएको हो ।
आज (शक्रबार) वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उहाँ एकजना साथीसहित ट्याक्सीमा निस्किनुभएको थियो । बाटोमै निहारिकाले एक लिटर पेट्रोल र लाइटर खरिद गर्नुभयो ।
निहारिका शीतलनिवास आउँदै गरेको सूचना पाएका प्रहरी अलर्ट अवस्थामा थिए । उहाँले प्रहरीलाई अल्मल्याउनका लागि शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट ओरालेर निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लीएर तत्कालै शरीरमा पेट्रोल खन्याएर शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको नेपालप्रेसले समाचारमा उल्लेख गरेको छ ।
प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उहाँलाई महाराजगञ्ज वृत्तमा लगिएको छ । निहारिकाको साथी र छोरा पनि प्रहरी नियन्त्रणमा लिएको छ ।
जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डिएनए टेस्ट म्याच गराउन र आरोपिलाई पक्राउ गर्न माग गर्नुभएको छ ।
यसअघि आरोपिलाई जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्वन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । उक्त मुद्दाको पेशी सरेको स¥यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गर्दै आउनुभएको छ ।
यसअघि गत जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएको थियो । सरकारी पक्षसँग ५ बुँदे सहमति पछि निहारिकाले अनशन तोडिएको हो । गृहमन्त्री बालकृष्ण खाँडले जुस पिलाएर अनशन तोडाउनुभएको थियो । तर, आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको भन्दै निहारिकाले आत्मदाहको प्रयास गर्नुभएको हो ।