कथाः रमिला भाउजू

एक्कासि गाउँमा धुँवासरी हल्ला फिंजियो । हल्ला मेरो कानसम्म यसरी आयो कि म उनलाई नहेरी रहनै सकिनँ । वरतिर परतिर सबैका मुखबाट उनको प्रशंसा सुन्दा साँच्चिकै मेरा कान पाकिसकेका थिए । मलाई पनि उत्सुकता लाग्यो, कस्ती रैछन् हँ रमिला भाउजू ?

हो, मनमनै मैले तुलना गरेको हुनुपर्छ । तुलनाबाट मानिस कहाँ बिटुलो रहन सक्छ र ? यस्तै यस्तै मनोवाद गर्दै लागें ठूलाबाको सप्ताह घरतर्फ । भर्खर भर्खर विवाह गरेर भित्रिएकी नौली बुहारी भएकाले पनि उनको चर्चा हुनु स्वभाविक थियो । त्यसमाथि सप्ताह भएसी कामधन्दाको मेलोमेसो, बोलीचाली, स्वागत सत्कार, सबै हिसाबले अड्कल काट्न सजिलो थियो, कत्तिको घर खाने बुहारी हुन् भनेर ।

सप्ताहको चौथो दिनमा म दिउँसोतिर पुगेकी थिएँ, शनिबारको दिनको मेलोमेसो मिलाएर । मेरो सप्ताह घरसम्म पुग्नुको एउटै लक्ष्य रमिला भाउजू थिइन् । सप्ताह घर पतका र पुष्पगुच्छाले सिंगारिएका थिए । मानिसहरुको भीड थियो । हरे राम, हरे कृष्ण गर्दै बुबाआमाहरु पण्डितजीको कथामा मुग्ध हुनुहुन्थ्यो । केटाकेटीहरु सेलरोटी हातमा लिंदै यताउता गरिरहेका थिए । आ-आफ्नो खेल खेलिरहेका थिए । भाउजूहरु चियापानीको व्यवस्थामा कम्मर कसेर लागेका थिए । म एउटा कुर्सी ओगटेर सबैतिर नियालिरहेकी थिएँ । जे होस् माहोल रमाइलो थियो ।

लागिरहेथ्यो कति निष्फिक्री नाचेकी, स्वछन्द भएर । भर्खर भित्रिएकी नौली दुलही यस्तो हुनुपर्छको कुनै मापदण्ड पूरा गरेकी थिइनन् । गीत बज्दा नाच्न आउँथिन्, अरुबेला सबैलाई बोल्दै हाँस्दै खाना प्रसाद सोध्थिन्, बाँड्थिन् । कति स्वतन्त्र रहेछिन् उनी आफ्नो जीवनमा ।

पाहुनापाछा धेरै भएकाले पनि मैले चिनेको कम नै हुनुहुन्थ्यो । केही समयपछि आफ्नो उपस्थितिको उद्देश्य सम्झें अनि यताउता नजर डुलाएँ । रमिला भाउजूलाई जो खोज्नुथियो ।

फागुनको महिना, प्रणय दिवसको दिन कृष्ण दाइ र रमिला भाउजूको विवाह भएको थियो । त्यसमाथि कृष्ण दाइ पढेलेखेको भइकन पनि अत्यन्तै इमान्दार र सोझो थिए । त्यसैले रमिला भाउजू कस्ती होलिन् भन्ने सबैलाई चासो थियो । चर्चा सेलाउन नपाउँदै सुरु भइहाल्यो सप्ताह अनि त गाउँलेका मुखमै झुण्डियो रमिला भाउजूको नाम ।

बिहेको दिन र फोटोहरुमा देखेका हुनाले मैले चिन्न सक्छु भन्ने आत्मविश्वास  थियो । टुसुक्क के बसेकी थिएँ । रमिला भाउजूले टाढैबाट संकेत गर्दै प्रसाद खान हिंड्नुको इशारामा मीठो मुस्कान दिइन् । साँच्चै भाउजू त हँसिली, रसिली, चिटिक्क परेकी रैछिन् ।

छिनिएको कम्मर, कालीकाली हिस्सी परेकी, रातो सारीमा सजिएकी । सिउँदोको रातो सिन्दूर र ओठको रातो लालीले उनको सौन्दर्यलाई अझ बढावा दिइरहेको थियो । फागुनको अन्तिम साता भएकाले गर्मी बढ्दो थियो । निधारमा टल्किरहेको पसिनाले पनि त्यसको संकेत दिइरहेको थियो ।

शरीरको बनोट, आँखाको भाव र मुहारको माधुर्यमा म यसैयसै हराएछु । फेरि भण्डारमा जाने संकेत पाएपछि मैले इशारामै एकछिनमा गएर खान्छु भनें । उनी अरू नयाँ आउनेलाई चियापानी र प्रसादको प्रस्ताव गर्थिन् मीठो मुस्कान छर्दै । मैले पनि आमाको प्रशंसालाई सही ठहराएँ र नारीले नारीको प्रशंसा गर्न सक्दैनन् भन्ने भनाइलाई गलत साबित गराएँ ।

पण्डितजीको कथा सकिएर बीचमा भजनको पालो आयो । भजनमण्डली आफ्नो हार्मोनियम, मादल, खैजडी, मुजुरा लिएर तयार भए । अनि भजन यसरी सुरू भयो,

आज भन्यो, भोलि भन्यो जिन्दगी यो बित्यो नि

हरिभजन कहिल्यै नभुले ।

संगीतको मधुर ध्वनि के गुञ्जिएको थियो रमिला भाउजू नाच्न आइहालिन् । आमा उनको नृत्यको पनि मुक्तकण्ठले प्रशंसा गरिरहनुभएको थियो । म पनि इच्छुक थिएँ उनको नाच हेर्न । नभन्दै म पनि हेरेको हेर्‍यै भएँ । कति राम्रो नाचेकी, कम्मरलगायत शरीरका प्रत्येक अंगको लचकता हेर्नलायक थियो । मुहारको भावभंगी, नृत्यको बान्की साँच्चिकै मनमोहक थियो ।

मनमनै सोचें फूलहरु नफुल्ने भए, धुनहरु नहुने भए जीवन कति निरस हुन्थ्यो होला ।

कल्पनाबाट यसो बाहिर निस्किएको त धेरैजसो दाइ, अंकलहरुको मोबाइलले भिडियो रेकर्ड गर्न भ्याइहालेछ । पापी मन लोभिहाल्यो । म त छक्क परें ।

भजन सकियो, फेरि भाउजू मलाई नै प्रसाद भन्न आइन्, मैले भनिहालेँ, भाउजू कति राम्रो नाच्नुभएको । उनी हो र भन्दै मुस्कुराउँदै गइन् ।

लागिरहेथ्यो कति निष्फिक्री नाचेकी, स्वछन्द भएर । भर्खर भित्रिएकी नौली दुलही यस्तो हुनुपर्छको कुनै मापदण्ड पूरा गरेकी थिइनन् । गीत बज्दा नाच्न आउँथिन्, अरुबेला सबैलाई बोल्दै हाँस्दै खाना प्रसाद सोध्थिन्, बाँड्थिन् । कति स्वतन्त्र रहिछन् उनी आफ्नो जीवनमा । अरुले के भन्लानको अलिकति पनि हेक्का थिएन । साँच्चै उनलाई हेर्दा लाग्थ्यो, अहो ! कोही त यसरी स्वतन्त्र भएर पनि बाँच्न सक्छ है ।

अलिक पर लगाइएको टेन्ट, कुर्सी र मानिसको भीड देखेपछि प्रसाद खाने बहानामा त्यतै लागें । खाने ठाउँमा बल्ल आफूले चिनेका तीन-चार जना आन्टीहरू भेटें । अनि, म पनि त्यतै मिसिएँ । गफको विषय त रमिला भाउजू नै थिइन् ।

रिता आन्टी : कस्ती केटी बिहे गरेछ यो कृष्णेले । कति चुमचुम गर्नुपरेको हो ?

राधा आन्टी : कति  मस्किंदै, लच्किंदै नाच्नुपर्ने भजनमा नाँच्दा पनि ।

प्रमिला आन्टी : यस्ता केटीको त भर हुन्न है, कुन दिन भाग्छे सम्पत्ति बोकेर ।

हरिमाया आन्टी : कृष्णे सोझो छ औंलैमा नचाउने भई ।

आजकलका केटीहरुको त भर हुन्न ।

उनको प्रशंसा सुनाउँला भनेर रमाउँदैसँगै मिसिएकी म एक्कासि अवाक् भएँ ।

एकाएक मेरो दिमागले सोच्यो, सोच्यो धेरैबेर र धेरै पटकसम्म सोच्यो तर केही निष्कर्षमा पुग्न सकिनँ । सोचें हर सवालको जवाफ दिन आवश्यक हुँदैन, मौनता आफैंमा ठूलो जवाफ हो ।

तर लाग्यो संवेदना र सद्भाव नभएका मानिस साँच्चै बेकम्मा हुन् । र, त्यस सप्ताहपछि मैले कहिल्यै रमिला भाउजू नाचेको देखिनँ, स्वछन्द किसिमले हाँसेको देखिनँ ।अनलाइन खबरबाट

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal