सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण

 खेमराज गौतम

गलकोट, ३० असार– चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।

त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्तेलहरजस्तै हिमशृङ्खलाले त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई नलोभ्याउने कुरै भएन । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले त दार्जलिङको झल्को नै मेटाउने गरेको छ । सूर्योदय हेर्नका लागि दार्जलिङ पुग्ने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्नेमा दुईमत छैन ।

म्याग्दीको सदरमुकाम बेनी बजार, बागलुङ बजार र पर्वतको कुश्माबजार एकसाथ देख्न सकिने उक्त डाँडाले बनौप्रति पर्यटकलाई आकर्षित गरिरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौ अहिले सडक कालोपत्र भएपछि झनै बढी चर्चामा आउन थालेको हो । कला, संस्कृतिको धनी रहेको बनौगाउँमा मगर समुदायको बाहुल्य छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचान हो ।

उकालो कच्ची सडक भएका कारण कालोपत्र नहुँदा बनौ पुग्नै सास्ती भए पनि अहिले बनौसम्मै सडक कालोपत्र पुगेपछि आन्तरिक पर्यटक यहाँ आउन थालेको जलजला गाउँपालिका–९ बनौका अध्यक्ष गौबहादुर पुनले बताउनुभयो । 

“बाहिरी पर्यटक ल्याउने मुख्य आधार सडक हो, सडकका कारण धेरै विकास रोकिनेरहेछ, बनौ आउने सडक हालैमात्रै कालोपत्र भएको छ, बगैँचाबाट साढे १२ किलोमिटर सडक हालैमात्र पक्की भएपछि बनौ पुग्न निकै सहज भएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत ल्याउने हाम्रो योजना हो, अहिले हल्जुरेडाँडामा पुग्ने पदमार्ग, शौचालयसहितको सत्तल र खानेपानीको व्यवस्थापन गरेका छौँ, दोस्रो कार्यकाल भर्खर सुरु भएको छ, बनौ आफैँमा सौन्दर्ययुक्त छ, प्रचार–प्रसार नपुगेर हो सबैको सहयोगमा यस क्षेत्रको प्रचारप्रसारमा जुटेका छौँ, वडा कार्यालय र गाउँपालिकाले समय–समयमा पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन अभियानकर्मीलाई त्यहाँ लैजाने गरेको छ ।”

उच्च पहाडी भेगमा रहेकाले त्यहाँ उत्पादित आलु निकै स्वादिष्ट छ । त्यहाँ पुगेकाहरुले बनौको मुख्य बाली आलु खोजी–खोजी कोसेली लैजाने गरेका छन् । बागलुङ, पर्वत र म्याग्दीबाट करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने भएपछि तीन जिल्लाका आन्तरिक पर्यटकको रोजाइ बनौलेक बन्न थालेको छ ।

यस स्थानमा चिसो मौसम र हिउँ पर्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीय अमबहादुर गर्बुजाले बताउनुभयो । “यस स्थानमा सूर्योदय दृश्यावलोकन नै मुख्य विशेषता हो, पछिल्लो समय पर्यटक यहाँ वनभोज खानसमेत आउँछन्”, गर्बुजाले भन्नुभयो, “बेलुका आएर बिहान सूर्योदय र हिमाल हेरेर फर्कने गरेका छन्, केही पर्यटक खानेबस्ने व्यवस्थासहित र टेण्ट टाँगेर डाँडामै बस्ने गरी आउँछन्, अहिले बर्खा लागेर होला कम पर्यटक आएका छन्, हिउँ पर्दा यस स्थानमा पर्यटक बोकेका सवारी साधन राख्ने ठाउँ नै हुँदैन ।”

यस क्षेत्रामा पर्यटकका लागि होटलको व्यवस्था छ । गर्मीले आजित बनेका मानिस शीतलताका लागि बनौ पुग्ने गरेका छन् । सूर्योदय हेर्नकै लागि नेपालीहरु टाढा–टाढा पुग्दै आए पनि पक्की सडकको पहुँचमै आकर्षक पर्यटकीय गन्तव्य भएपछि त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । बनौको विषयमा आफूले सुनेभन्दा आकर्षक स्थान रहेको बागलुङ बजारबाट बनौ पुग्नुभएका पर्यटक शङ्कर जिसीले बताउनुभयो । 

उहाँले बनौको प्रचार–प्रसार नपुगेको भन्दै यस स्थानमा धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना रहेको बताउनुभयो । अहिले बनौ लेकमा टेण्ट बोकेर पुग्ने र लेकमै रात बिताउने गरी बागलुङ, पर्वत तथा म्याग्दीका पर्यटक आउने गरेको बनौका युवा विश्व पुर्जा मगरले जानकारी दिनुभयो ।

उहाँले शुक्रबार बेलुका बसेर बिहान दृश्यावलोकन गरेर जाने गरी कर्मचारी यस स्थानमा आउने गरेको बताउनुभयो । यस क्षेत्रमा थप पूर्वाधार भने बनाउन बाँकी नै छ । बनौ लेकको डाँडाबाट तीन जिल्लाका सदरमुकामसँगै धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनाैं हिमशङ्खला देख्न सकिन्छ ।रासस

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal