सौराहालाई गुल्जार बनाएको एमाले सुनसान बनाएर फर्कियो
नारायण अधिकारी
चितवन,१६ मङ्सिर– गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसाान बनेको छ ।
रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताउनुभयो । महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन् । उहाँले भन्नुभयो, “सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ ।” रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उहाँले भन्नुभयो, “एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो ।”
यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडाले बताउनुभयो । मङ्सिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो । त्यसो त मङ्सिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो ।
जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए ।” महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका घिमिरेले यो महाधिवेशन नभएको भए गत एक हप्ता सामान्य अवस्थामै बित्ने बताउनुभयो । सङ्घका अध्यक्ष दीपक भट्टराईले एमाले नेता कार्यकर्ता सबै फर्किएपछि सौराहा सुनसान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कता कता एकान्तमा रहेजस्तो भएको छ ।”
सामान्य चहलपहल भए पनि महाधिवेशनमा अत्यधिक भीडभाड भएकाले अहिलेको उपस्थिति सामान्य लागेको छ । उहाँको भनाइमा सौराहामा दैनिक १० हजार नेता कार्यकर्ता बसेका थिए । जसले गर्दा कपाल काट्ने शैलुन, चिया पसलदेखि ठूला होटलसम्म सबैको व्यापार राम्रो भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सौराहामा मात्रै रु २० करोडको व्यापार भएजस्तो लाग्छ ।” यसले अब सौराहाले जस्तोसुकै ठूलो कार्यक्रम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेको उहाँको भनाइ छ ।
व्यवस्थापनमा सुरुका दिनमा कठिन भए पनि व्यापार हुँदै जाँदा व्यवसायीमा उत्साह जागेको भट्टराईले बताउनुभयो । काठमाडौँ फर्किनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायीलाई डाकेर उनीहरुको गुनासो सुनिसकेपछि आश्वासनसहित धन्यवादसमेत दिनुभएको भट्टराईको भनाइ छ ।
उहाँले भन्नुभयो, “हामीलाई हौसला प्राप्त भएको छ ।” महाधिवेशन अवधिमा रु एक अर्ब हाराहारीको कारोबार भएको पार्टीको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो ।
पूर्वअर्थमन्त्री एवं सौराहासमेत समेटिएको चितवन क्षेत्र नं १ का सांसद पाण्डेको अनुमानमा आधाभन्दा बढी खर्च चितवनमै भएको छ । देशैभरबाट चितवन आएका नेता कार्यकर्ताले सवारीसाधनलाई नै रु ५० करोड हाराहारी खर्च गरेको भन्दै उहाँले अरु खर्च खानपान, बसाई, घुमफिरमा गरेको उहाँले बताउनुभयो ।
महाधिवेशनका कारण सौराहासँगै भरतपुर, मेघौली, पटिहानीलगायत चितवनका होटलसँग छिमेकी जिल्ला नवलपरासीको कावासोतीयताका होटल तथा रेष्टुराँमा समेत राम्रो कारोबार भएको छ । समग्रमा जिल्लाको आर्थिक कारोबारमा महाधिवेशनले ठूलै सहयोग गरेको सांसद पाण्डेले बताउनुभयो ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले महाधिवेशनले प्रचारात्मक काममा निकै सहयोग पुगेको बताउनुभयो । एमाले नेता कार्यकर्ता फर्किएसँगै सुनसान बनेको सौराहामा प्रतिनिधिले धेरै घुम्ने मौका यस पटक नपाएका कारण पुनः आउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
सौराहाको पर्यटकीय महत्वका बारेमा स्वदेश र विदेशमा सन्देश प्रवाह गर्न महाधिवेशन सफल बनेको छ । आगामी दिनमा यसले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा व्यवसायीले राखेका छन् ।रासस
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार






















