नेटवर्क खोज्न धुरीमा

गोरखाको चुमनुव्रीमा ७ वडा छन्, अधिकांश गाउँमा मोबाइलले नेपाल टेलिकमको नेटवर्क टिप्दैन । मोबाइलमा कुरा गर्न कि छाना चढ्नुपर्छ कि अग्लो डाँडातिर कुद्नुपर्छ ।

हरिराम उप्रेती

गोरखा,७ मङ्सिर- ‘हेल्लो… हेल्लो…’ भन्दै चुमनुव्री गाउँपालिका–५ रानाकी डोल्मा गुरुङ एकोहोरो चिच्याइरहिन् । तर, ४० कोस दूरीमा रहेका साथीले उनी बोलेको सुनेनन् । गोरखा बजारका साथीको फोन आएपछि उनले ‘रिसिभ’ त गरिन् तर नेटवर्कले काम गरेन । अनि डोल्मा घरको छाना चढिन् । प्रोक गाउँको टावरले धेरैजसो काम नगरेपछि उनी फोनमा बोल्नकै लागि घरको छाना उक्लिन्छिन् । 

‘फोनमा बोल्न नपाएको पनि चार–पाँच दिन भइसकेको थियो, आज कताबाट एक लाइन नेटवर्क देखिएको छ,’ उनले भनिन्, ‘घरभित्र कहिले कसो टिपिहाल्छ, बोल्न थालेपछि नेटवर्क गइदिन्छ, छानामा चढेपछि अलि–अलि चल्छ ।’ करिब ३० घर रहेको राना गाउँमा मोबाइलबाट कुरा गर्न छाना वा अग्लो डाँडा खोज्दै भौंतारिनुपर्ने बाध्यता छ । ‘कहिले त बोल्दाबोल्दै कुरा सिध्याउन नपाउँदै नेटवर्क गइदिन्छ,’ डोल्माले थपिन् ।

चुमनुव्री–३ पेवाका सुमन गुरुङ अध्ययनको सिलसिलामा काठमाडौंमा रहेका छोराछोरीसँग टेलिफोन गर्नकै लागि न्याक फेदी पुगे । ‘जान डेढ घण्टा, आउन डेढ घण्टा,’ उनले भने, ‘यहाँ फोन, बत्ती केही छैन, फोनमै बोल्न परे टावर टिप्ने ठाउँ खोज्दै कि न्याक फेदी कि ड्याङ पुग्छौं ।’ गाउँमा एनसेल, एनटीसी, सीडीएमए कुनै पनि टेलिफोन सेवा नरहेको उनले बताए । मनास्लु पदमार्गअन्तर्गत उक्त क्षेत्रमा पुगेका पर्यटकले समेत टेलिफोन सेवाको अभावमा समस्या झेल्दै आएका छन् ।

चुमनुव्रीमा ७ वटा वडा छन् । यी वडाका अधिकांश गाउँमा नेपाल टेलिकमको नेटवर्क छैन । चुमनुव्री–६ लोक्पामा सेराप गुरुङ फोनमा बोल्नका लागि आधा घण्टा उकालो उक्लिएर चुम्चेत र सिर्दिबास सीमा क्षेत्रको ख्यालम डाँडा पुग्छन् । ‘खोचमा घर छ, त्यहाँ फोन टिप्दैन,’ उनले भने, ‘फोनमा बोल्नुपरे जान/आउन एक घण्टा लाग्छ ।’ टेलिफोनको नेटवर्क अभावले हेलिकोप्टर चार्टरमा ढिलाइ हुँदा एक महिनाअघि चुम्चेतस्थित खार गुम्बाकी एक सुत्केरीले ज्यान गुमाउनुपरेको सेरापले सुनाए । ‘फोन टिपेको भए चाँडो हेलिकोप्टरलाई खवर गर्न पाउँथ्यौं, उद्धार चाँडो हुन्थ्यो,’ उनले भने ।

न्याकमा निर्माणाधीन टेलिकमको टावर सञ्चालनमा आए गाउँलेले सुविधा पाउने थिए । ‘सिर्दिबास र छेकम्पारमा स्काईको टावर छ, तर त्यो लोक्पामा टिप्दैन,’ उनले भने, ‘यो बर्खामा पहिरोले निकै दुःख पायौं, फोन टिप्ने भइदिएको भए पहिरो झरेको छ कि छैन सोध्दै हिँड्न पाइन्थ्यो ।’ उनका अनुसार गण्डकी खोंचमा रहेका लोक्पा, रेन्जम, सिप्चेत छेकम्पारसम्म मोबाइल नेटवर्कले काम गर्दैन । यी गाउँका झन्डै तीन सय घरधुरीका स्थानीय फोन नेटवर्कले काम नगर्दा समस्या झेलिरहेका छन् ।

सीडीएमए र स्काई फोनको टावरमा पनि दिनदिनै समस्या देखिँदा टेलिफोन सेवा जस्तो आधारभूत आवश्यकतामा समेत यहाँका स्थानीय वञ्चित हुँदै आएका छन् । ‘छोराछोरी बजार पढ्छन्, उनीहरूको अवस्था थाहा पाउन पनि मुस्किल छ,’ पेवाकी धनमाया गुरुङले भनिन्, ‘सन्चो बिसन्चो सोध्नकै लागि जति समय लागे पनि टावर टिप्ने ठाउँ खोज्दै जान्छौं ।’ लोक्पा, चुम्लिङ, नाम्रुङ, लिही, स्यो, ल्हो लगायतका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा स्थानीयलाई फोनमा बोल्नै सास्ती छ । चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा समेत टावर बिग्रिएको महिनौंसम्म मर्मत हुन सकेको छैन । न्याकको टेलिकम टावर सञ्चालनमा ल्याउन पहल भइरहेको चुमनुव्री–६ का अध्यक्ष लोप्साङ लामाले बताए ।

उत्तरी गोरखाअन्तर्गत चुमनुव्रीको छेकम्पार, न्याक र बिही गाउँमा छुट्टाछुट्टै एनटीसी टावर निर्माणाधीन रहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल टेलिकम गोरखाका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । ‘रेडियो लिंक जडानको काम बाँकी छ, मौसम खराब भएर तीव्र गतिमा काम हुन पाएन,’ उनले भने, ‘उत्तरी बेल्टको सबै ठाउँ कभर हुने गरी तीनवटा टावर एकसाथै सञ्चालन गर्ने तयारीमा छौं ।’कान्तिपुर

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal