देउवाको घात
यो प्रकरणले प्रधानमन्त्री देउवाका विगतका राजनीतिक वितण्डाहरूलाई सम्झाएको मात्र छैन, पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवहरूले पछिल्लो समय दिइरहेको विधि,पद्धति, संविधानको मूल्य मन्यताप्रतिको दुहाईको पनि मुकुन्डो उत्रिएको छ ।
दुर्गा खनाल
काठमाडौं,२२ असोज– नेपालको राजनीतिक इतिहासमा शुक्रबारको संयोग अप्रिय हुने गरेको छ । यो शुक्रबार पनि त्यस्तै भयो । संविधानको रक्षा, विधि र पद्धतिको विरोधमा भएको आन्दोलन र सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले फेरि अर्को घात गरेका छन् । ८८ औं दिनसम्म मन्त्रिपरिषद् नै विस्तार गरेनन् । सर्वत्र विरोध भएपछि मन्त्रिपरिषद् विस्तार गर्न तयार भएका उनले गैरसांसद गजेन्द्र हमाललाई मन्त्रीको रुपमा भित्र्याए । यो निर्णयको अन्तर्यले विधि,पद्धति, अनि पार्टी भित्र त्याग, इमानका लागि संघर्ष गर्नेहरूको अवमूल्यन भएको छ ।
हमाललाई देउवा र कांग्रेसका धेरै नेताहरूले आफ्नै दलको नेता भनेर व्याख्या गरेका छन् । उनी एक हिसाबले कांग्रेसका नेता पनि हुन् । तर उनको मन्त्रिपरिषद्मा प्रवेश नेताको रुपमा भएको छैन । जानकारहरूको दाबी अनुसार हमालको मन्त्रिपरिषद्मा प्रवेश कांग्रेस नेताको रुपमा भन्दा बढी अदालतको प्रतिनिधिको रुपमा भएको छ । किनकी उनी अहिले कांग्रेस नेता भन्दा बढी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको जेठानको रुपमा चिनिएका छन् ।
सत्ता गठबन्धनभित्रका छलफलहरूमा हमालको नाम कुनै दल विशेषको प्रतिनिधिको रुपमा आएको होइन । संसद्को पुनःस्थापना गरी अहिले सत्ता गठबन्धन अनुकुलताका निर्णय गरेको भन्दै अदालतलाई ‘खुशी बनाउने’ र ‘भाग पुर्याउने’ सन्दर्भमा फरक पात्रहरूका नाम आउँदा हमालको ‘इन्ट्री’ भयो ।
यो प्रकरणले प्रधानमन्त्री देउवाका विगतका राजनीतिक वितण्डाहरूलाई सम्झाएको मात्र छैन, पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवहरूले पछिल्लो समय दिइरहेको विधि,पद्धति, संविधानको मूल्य मन्यताप्रतिको दुहाईको पनि मुकुन्डो उत्रिएको छ ।
संविधानको मर्म जनताले चयन गरेका प्रतिनिधिहरूलाई शासन सत्ताको जिम्मेवारी दिने भन्ने हो । त्यही मर्मअनुसार संविधानमा सांसदहरूलाई नै मन्त्री बनाउने परिकल्पना छ । गैरसांसद व्यक्ति छ महिनासम्म मन्त्री हुनसक्छन् ।
अत्यावश्यक अवस्थामा मात्र कोही व्यक्ति, विशेषज्ञलाई मन्त्री बनाउनुपर्दा यो प्रावधान आकर्षित गर्न सकिन्छ । तर देउवाले संविधानको यही छिद्र प्रयोग गरेर गैरसांसदलाई सगौरव मन्त्रिपरिषद्मा सामेल गराएका छन् । जसले संविधानको मर्म र भावनामाथि घात गरेको छ । गैरसांसद रहेका हमाललाई अहिले मन्त्री नबनाई नहुने के कारण थियो ? अहिले उनी मन्त्री नहुँदा के बिग्रिन्थ्यो ?
२०५८ मा प्रधानमन्त्री भएका बेला देउवाले माओवादी विद्रोहलाई देखाउँदै संकटकाल लगाए । त्यही संकटकाल लम्बाउने विषयमा विवाद हुँदा संसद् नै विघटन गरिदिए । जननिर्वाचित संस्था भंग गर्ने उनको निर्णयको फाइदा राजालाई भयो । राजाले उनलाई हटाए । आन्दोलन चर्किइरहेका बेला फेरि देउवा प्रतिगमन सच्चिएको भन्दै राजाको ‘टिके प्रधानमन्त्री’ बने ।
फेरि उनलाई हटाएर राजाले निरंकुश शासन सुरु गरे । देउवा समेतको कारणबाट सिर्जित राजाको निरंकुशताविरुद्ध २०६२/०६३ सालमा जनताले ठूलो बलिदानी आन्दोलन गर्नुपर्यो । विगतमा अक्षमताको पर्याप्त पगरी गुथिसकेकाले यसपटक चाहिँ देउवा ‘सुध्रिए’ की भन्ने धेरैको बुझाइ थियो । तर ८७ दिनको उनको कार्यशैलीले पुष्टि गर्यो– देउवा अझै ‘देउवै’ छन् ।
२०७४ सालको चुनावको परिणामले प्रतिनिधि सभाको यही कार्यकालभित्र देउवा फेरि फर्किने कुनै सम्भावना थिएन । तर एमाले, माओवादी केन्द्रको शासकीय अक्षमता र कार्यशैलीले घुमिफिरी देउवा सत्तामा आए । देउवालाई सत्ता, शक्ति र आफ्नो स्वार्थ भए पुग्ने रहेछ, शुक्रबार हमालको नियुक्तिले त्यही पुष्टि गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको विरोधमा विपक्षी दलहरू मात्र थिएनन् । विधि र पद्धति पक्षधर र संविधानका मर्मबेत्ताहरू सबै यसको विरोध उत्रिए । दुईपटकसम्म सर्वोच्च अदालतमा ठूल्ठूला बहस भए ।
पूर्वप्रधानन्यायाधीशहरू समेत विधिको रक्षा गर्न भन्दै सडकमा आए । अदालतको मानहानीको आरोप खेप्दै विधि मिचिएको विरोधमा बोले । कुनै पनि शासकको स्वार्थमा जनप्रतिनिधिमूलक संस्थाको हत्या गर्न हुँदैन भन्ने मान्यताले सडकमा आवाज बुलन्द बनायो । पछि सर्वोच्च अदातलले पनि संविधानको बृहत् व्याख्या गर्दै जनप्रतिनिधिमूलक संस्थालाई जोगाइदियो । यो सब कुरा देउवाले बिर्सिए ।
जनप्रतिनिधमूलुक संस्थाको मान राख्नका लागि प्रतिनिधिसभा पुनःस्थापना भएको थियो । तर त्यही पुनर्स्थापित प्रतिनिधिसभाको जगमा प्रधानमन्त्री बनेका देउवाले गैरसांसदलाई मन्त्री बनाएर जनप्रतिनिधिमूलुक संस्था र जनप्रतिनिधिहरुको अपमान गरेका छन् । देउवाको यो अभ्यासले संसद् भित्र भएका विकल्पहरूको अवमूल्यन भएको छ ।
यस्तो निर्णय हुँदैछ भन्ने हल्ला गत सातादेखि नै राजनीतिक वृत्तमा चलिसकेको थियो । तर दुवै संसद्का कुनै पनि सांसद यसको विरोधमा उत्रिएनन् । यसले पार्टीहरूभित्र जनप्रतिनिधिहरूको हैसियत कति निरिह भन्ने पनि फेरि पुष्टि भएको छ ।
यो प्रकरणमा देउवा मूल पात्र हुन् त्यसैले धेरै प्रश्न उनीमाथि उठेका छन् । तर निमित्त पात्र पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवहरू पनि प्रश्नरहित छैनन् । किनकी देउवाको यो निर्णयलाई लाहाछाप लगाउने भूमिका उनीहरूको पनि छ । प्रतिनिधिसभाको पुनःस्थापनाको गुन तिर्नका लागि मन्त्रिपरिषद्मा अदालतका प्रतिनिधिलाई भित्र्याउने हदसम्मको विकृतिको औचित्य सत्ता गठबन्धनका नेताहरूले पुष्टि गर्न सक्छन् ?
स्रोतःकान्तिपुर
ताजा
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार





















