के राजनीति ‘ज्यूँदै मर्याकाहरू’ ले मात्रै रजगज गर्ने थलो हो ?
नेताले उद्योग व्यवसायमा लगानी गर्न हुने, व्यवसायीले राजनीति गर्न नहुने ?
नकुल अर्याल
जबजब पत्रकार महासंघको निर्वाचन आउँछ, सामाजिक सञ्जालमा बहस चल्छ । पत्रकार भएर पनि राजनीति गर्ने ?
उद्योग वाणिज्य महासंघको चुनावका बेला तिनै पत्रकार उद्योगी व्यवसायीलाई सोध्छन् – व्यवसायी भएर पनि राजनीति गर्ने ?
नेपाल बार एसोसियसनको चुनावताका देशभरका कानून व्यवसायी चुनावी दौडधुपमा हुन्छन् । त्यति नै बेला प्रश्न उठ्छ – कालाकोटेले पनि राजनीति गर्ने ?
चिकित्सको संघको चुनावका बेला यस्तै प्रश्न दोहोरिन्छ- एप्रोन लाएर राजनीति गर्ने ?
पत्रकार, व्यापारी, वकिल, डाक्टर वा जुनसुकै पेशाका मान्छेलाई पनि राजनीतिसँगको आवद्धतालाई लिएर यस्ता प्रश्न सोधिएकै हुन्छ । यस्तो प्रश्न गर्नेहरु को हुन् ? कहाँबाट आउँछन् उनीहरू ? उनीहरु के चाहन्छन् ?
यही समाजका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरूले नगरेर राजनीति गर्ने प्राणी कुन लोकबाट झर्नुपर्छ भन्ठान्छन् उनीहरू ?
०००
आज विश्वभर प्रजातन्त्र र समृद्धिको अग्रणी मानिने संयुक्त राज्य अमेरिका स्थापनाको बेला आलोचकहरूको चेतावनी थियो-यस्तो संविधानबाट व्यापारीहरूको सरकार बन्नेछ । उनीहरूलाई आम मानिसप्रति जन्मजात नै कुनै सहानुभूति हुँदैन, बरु उदासीनता र अवहेलना हुनेछ ।
यस्तो चेतावनीबारे अमेरिकाका संस्थापकमध्येका मानिने अलेक्जेण्डर हेमिल्टनले सरल उत्तर दिए । उनले भने- हो अमेरिकामा ‘व्हाईट कलर’ हरूको सरकार बन्न सक्छ तर यसले आर्थिक नीति र समृद्धिबारे अमेरिकी जनताको आधारभूत मान्यतालाई असर गर्न सक्दैन । यदि हामी सबै विकास र समृद्धि चाहन्छौ भने केही उच्च वर्गका मान्छेलाई निर्णायक स्थानमा पुर्याउँदा के नै हानी हुन्छ र ?
२ सय ३२ वर्षअघि नै अमेरिकामा अलेक्जेण्डर हेमिल्टनले दिइसकेको उत्तरको प्रश्न बोकेर आज नेपाली समाज हिँडिरहेको छ । आजको अमेरिका आलोचकहरूको प्रश्नको भन्दा हेमिल्टनको जवाफको परिणाम हो, कि आज पनि अमेरिका संसारको सफल एवं समृद्ध लोकतान्त्रिक मुलुक हो ।
०००
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिए । कोरोनाको कहरबाट देश र जनतालाई जोगाउँदै देउवाको ‘खोप, खोप र खोप’अभियानलाई सफल बनाउन उनले निर्धारण गरेको प्राथमिकतामाथि प्रश्न उठाउन सकिन्छ ।
यद्यपि यहाँ त पात्रमाथि प्रश्न उठाएर तेजोबोध गरिँदैछ, जस्तो कि उमेश श्रेष्ठ कुनै व्यापार गर्दागर्दै फ्याट्टै मन्त्री बनाइएका हुन् । राज्यमन्त्री श्रेष्ठसँग पंक्तिकारको हालसम्म एकपटक भेट भएको छ र सामान्य परिचयमात्रै भएको छ । यसर्थ राज्यमन्त्रीको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सँग पंक्तिकारको पनि कुनै ‘स्वार्थको द्वन्द्व’ छैन ।
श्रेष्ठको नियुक्तिको अन्तर्य प्रधानमन्त्री देउवालाई नै बढी थाहा होला । संसदीय शासन व्यवस्थाका कार्यकारी प्रधानमन्त्रीका रूपमा संविधानबमोजिम नै उनले आफ्नो ‘सारथी’ छानेका हुन् । जहाँसम्म सामाजिक सञ्जाल र सडकमा व्यापारीलाई मन्त्री बनाएको भनेर गरिएका आलोचना छन् ती सुझावका रुपमा ग्राह्य छन्, दबाबका रूपमा होइन ।
०००
नेपाली कांग्रेस एक प्रजातान्त्रिक समाजवादी पार्टी हो । कांग्रेससंग जोडिएको समाजवादी पहिचानको निर्माण २०१२ सालमा सम्पन्न वीरगञ्ज महाधिवेशनले गरेको थियो । सो महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका सुवर्ण शमशेरको तस्बिर आज पनि वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै जोडिएको हुन्छ । जसप्रति आम कांग्रेसजनको आस्था छ ।
आफ्नो सम्पत्ति राष्ट्रियकरण गरेर समाजवादी नीतिलाई मलजल गर्ने सुवर्णशमशेरको पहिचान एक ‘दाता’ का रूपमा पनि रहेको छ । जसले वीपी कोइरालाको नेतृत्वमा भएको क्रान्तिलाई ‘आर्थिक सहयोग’ मात्रै गरेनन्, शासनमा छँदा जनपक्षीय बजेट ल्याएर आजसम्म स्मरणीय छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकै नेतृत्वमा कुनैबेला कांग्रेसले प्रजातन्त्रका निम्ति क्रान्ति गरेको थियो । उनै मातृकाको भनाइ छ- वीपी र सुवर्णजीलाई इतिहासले अभिन्न व्यक्तित्वका रूपमा हेरेको छ । उनीहरूबीचको समझदारी, समन्वय र सामञ्जस्यता अद्भूत थियो । यो पनि सही हो कि म त क्रान्तिको डिक्टेटर मात्रै थिए तर धन परिचालनमा सुवर्णजी र जनपरिचालनमा वीपी नै निर्णायक थिए । धनमात्र भनिदियो भने अर्थ विकृत हुनसक्छ, सुवर्णजीमा दानशीलताको प्रचुरता थियो ।
राजनीतिक दलका लागि परिचालन महत्वपूर्ण पाटो हो । यसका लागि आर्थिक पक्ष बलियो हुन जरुरी छ । राजनीतिक आन्दोलन र क्रान्ति ‘रित्तो पोल्टा’बाट सम्भव हुँदैन । त्यसका लागि योजनाबद्ध कार्यक्रमहरू कार्यान्वयन हुनुपर्छ । जसका लागि विचार र व्यक्तिमात्रै होइन व्यवस्थापन पनि जरुरी हुन्छ । व्यवस्थापनको त्यो पाटो पैसाबिना सम्भव छैन । आफ्नै आत्मकथामा वीपीको भनाइ छ- क्रान्तिकारीले क्रान्ति गर्ने हो भने सबैको सहयोग लिनुपर्छ । कसैसँग पैसा लिए पनि हुन्छ, त्यसमा कुनै सर्त हुनुभएन ।
जब पार्टी र क्रान्ति हाँक्न शुभेच्छुकको सहयोग लिने कुरा वीपीका लागि सामान्य थियो भने अहिले झन् त्यसको आवश्यकता नहुने कुरै भएन । नेपालका हरेक राजनीतिक दल समाजका हरेक पेशा र वर्गमा आफ्नो प्रभाव बढाउन चाहन्छन् । स्वभाविक हो हरेक क्षेत्रका व्यक्तिहरु राजनीतिक र वैचारिक निकटताका कारण आफूले विश्वास गरेको पार्टीलाई ‘सकेको योगदान’ गर्न तत्पर रहन्छन् । यो अन्यथा होइन । यसको पारदर्शीतामाथि बहस हुनसक्छ तर औचित्यमाथि होइन ।
०००
भोजपुरबाट झरेका उमेश श्रेष्ठ नेपाली नीजि क्षेत्रका सफल उद्यमी हुन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा उनले सिर्जना गरेको रोजगारी प्रशंसनीय छ । सफल उद्यमी बन्ने कुरा त्यति चानचुने होइन । उद्यमशीलतामा पाएको सफलता अन्यत्र खोज्नु अन्यथा होइन । जसरी आमरूपमा ‘आफ्नै खुट्टामा उभिएको स्वाभिमानी नेता’ हामी खोज्छौँ, त्यो को हो ?
पार्टीका स-साना कार्यक्रम देखि ठूला आन्दोलनका लागि समेत व्यापारीकहाँ चन्दा माग्न पुग्ने नै ‘स्वाभिमानी नेता’ हो र ? अथवा ‘राजनीतिलाई नै पेशा’ बनाएर देखिने इलमबिना हैसियत वृद्धि गरिरहेकाहरू ‘स्वाभिमानी नेता’ हुन् ?
राजनीति गर्नेसँग उद्यमशीलता भएन भने उसको ‘स्वाभिमान’ चन्दाको चेक बुझेकै दिन गर्ल्याम्म ढल्छ । त्यसैले हरेक राजनीतिज्ञको देखिने पेशा वा व्यवसाय जरुरी हुन्छ । जसबारे आम नागरिकले थाहा पाउने मात्रै होइन प्रश्न गर्नेसम्म स्थिति रहोस् ।
आज चप्पल पड्काउँदै सिंहदरबार छिरेका नेता ‘करोडौंको गाडीमा’ सवार हुँदा प्रश्न उठ्दैन तर सयौंलाई ‘करोडौंको गाडी’ चढ्ने हैसियतमा पुर्याएका उद्यमीले राजनीतिमा अपमानित हुनुपरेको छ । आफ्नै बुतामा सफल कहिलएका उद्यमीलाई राजनीतिबाटै किनारा लगाउने अभियानको अगुवाइ कसले गर्दैछ ? उनीहरु के चाहन्छन् ? आदिकवि भानुभक्तको एउटा कविता छ- ‘ज्यूँदै मर्याको भनी नाम कस्को, उद्यमबिना वित्दछ काल जसको । के नेपालको राजनीति ‘जिउँदै मरेका’ हरूको रजगजको केन्द्र बन्नुपर्ने हो ?’
०००
योग्य व्यक्ति ठाउँमा पुगेन भन्ने गुनासो नेपालमा भइरहन्छ । विज्ञताका आधारमा अवसर दिइनुपर्छ भन्ने आवाज पनि उठ्छ । राजनीतिबाट प्रभावित नहुने कुनै क्षेत्र छैन । उद्यम, व्यापार वा सेवाको क्षेत्रमा लामो समयको अनुभव भएका व्यक्तिहरू राजनीतिमा लाग्नु लोकतन्त्रको हितमा हुन्छ ।
प्रजातन्त्रकै लागि लडाइँ गर्नुपर्ने, जेलनेल र निवार्सनबाट मात्रै राजनीतिक व्यक्तित्व निर्माण हुने र संघर्षको ब्याजबाटै आजीवन अवसर असुल्ने युगबाट नेपाल उम्कनैपर्छ । राजनीति कुनै पेशा होइन ।
राजनीतिलाई पेशासरह मान्नेहरूको भीडबाट अब मुलुकले सही नेतृत्व पाउन पनि सक्दैन । किनकी आजको नेपाललाई सक्षम नेता चाहिएको छ, सिर्फ नेता मात्रै होइन । त्यो सक्षमताको पहिचान हरेक नेताले आफ्नो क्षेत्रमा प्रमाणित गरेको हुनुपर्छ । राजनीतिलाई हरेक पेशा र क्षेत्रका अब्बलहरूको ‘अड्डा’ बनाइनुपर्छ न की इलमबिनाका गफाडीहरूको ‘अखडा’ ।
नेपाल हरेक व्यापारीहरू कुनै न कुनै दलसँग निकट छन् । व्यापारीमात्रै किन समाजको हरेक पेशा र वर्ग राजनीतिक रूपमा विभाजित छ । बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था भएको हाम्रो जस्तो मुलुकमा ‘दलीय झुकाव’ हुनु अन्यथा होइन, बरु त्यस्तो झुकावको अभाव हुनु चै समस्या हो ।
यद्यपि कोही आफूलाई ‘स्वतन्त्र’ भन्न रुचाउँछ भने उसको स्थानपनि यही सुन्दर व्यवस्थाभित्र छ । राजनीतिमा लागेकाहरुले उद्यमका कुरा गर्न छाडेका छैनन् । कहलिएका युवादेखि पाका नेतासम्मले होटल, पर्यटन, कृषि, उद्योग, निर्माण व्यवसायदेखि रियल स्टेट र खुद्रा व्यापारसम्म हात हालेका प्रशस्त उदाहरण छ । जब राजनीतिज्ञ कहलिएको व्यक्तिले व्यापार गर्न हुन्छ भने व्यापारी कहलिएको व्यक्तिले राजनीति गर्न किन नहुने ? के व्यक्तिको एउटै आयाम हुन्छ र ?
नेपालमा आफ्नो स्वार्थको घडा भर्न मन्त्री बनिरहनु पर्दैन । राजनीतिको कुनै पदमा आसीन नभएका गुमनामहरू पनि चर्चित भ्रष्टाचार मुद्दामा जोडिएका धेरै उदाहरण छन् । व्यापारीले आफ्नो मात्रै स्वार्थ पूरा गर्न चाहने हो भने हाम्रो राजनीति र प्रशासन क्षेत्रका धेरै ‘लुप होल’ हरू उपयोगी हुन्छन् ।
बदमासी गर्न बन्द कोठा काफी छ । कसैले खुल्ला मैदानमा खेल्न खोजेको छ भने विषय प्रष्ट छ की ऊ ‘फेयर प्ले’ का लागि तयार छ । आज मैदानमा उमेश श्रेष्ठहरूले गरेको ‘फउल’ मा सिट्टी बजाउन ‘नेपाली जनता’ तयार हुनुपर्छ । मैदानमै नछिर्दै ‘रातो कार्ड’ देखाउने प्रयत्नले राजनीतिलाई होइन मुलुकलाई नै घाटा हुनसक्छ ।
राजनीतिमा लागेका उद्यमी व्यवसायीको सार्वजनिक रूपमा तेजोबध गर्ने काम निन्दनीय छ । राजनीतिमा ‘संघर्षबाट खारिएका’लाई मात्रै नेता देख्ने दृष्टि सच्याउन जरुरी छ, अब ‘सफलताबाट खारिएका’ हरूलाई पनि बाटो छोडिनुपर्छ । अमेरिकी राजनीतिशास्त्री निकोलास कान्सको बुझाइमा अमेरिकाका करोडपतिहरू मात्रै मिलेर पार्टी खोले भने मुलुकको ३ प्रतिशत हिस्सामा उनीहरुको संगठन पुग्नेछ । यद्यपि संसदमा बहुमतसहित ह्वाइटहाउसमा उनीहरुकै नेतृत्व स्थापित हुनेछ । यदि श्रमजीवी, मजदुर र मध्यमवर्गका मान्छेहरु एउटै पार्टीमा भए भने अमेरिकाको आधा हिस्सा उनीहरूसँग संगठित हुनेछ तर सदनमा उनीहरूको प्रतिनिधित्व २ वा ३ प्रतिशत मात्रै हुनेछ । यसको अर्थ मतदाताको मनोविज्ञानसँग मात्रै जोडिएको छैन, अमेरिकाका करोडपतिहरूको ‘ब्रेन’ संग पनि सम्बन्धित छ । विभिन्न क्षेत्रमा सफल कहलिएकाहरूको ‘ब्रेन’ नेपालको राजनीतिलाई कसरी अनुपयुक्त होला ?
कांग्रेस नेता एवं चिन्तक प्रदीप गिरी नै राजनीतिमा पुँजीपति वर्गको भूमिकालाई अवमूल्यन गर्न नहुने बताउँछन् । केही समयअघि गिरीले पंक्तिकारसँग भनेका थिए- उद्यम गर्ने , व्यवसाय गर्ने र देशको कानून अनुसार काम गरेर आर्जन गर्नेहरू देशलाई आवश्यक पर्दछन् । समय, काल र परिस्थिति अनुसार लोककल्याणकारी राज्य निर्माणमा समाजका सबै क्षेत्रका व्यक्तिहरुको सहयोग लिनुपर्छ ।
विदेशी सामान आयात गर्ने र बेचेर पैसा मात्रै आर्जन गर्ने व्यापारीलाई कम्युनिष्टहरू दलाल पुँजीपति भन्छन् । कांग्रेसको भाषामा तिनीहरु भुइँफुट्टा हुन् । त्यस्ता भुइँफुट्टा वर्ग होइन की उत्पादन र रोजगार दिनसक्ने जोकोहीलाई कांग्रेसले भूमिका दिनुपर्छ । त्यस्तो भूमिका कांग्रेसको विधान र कार्यकर्ताको मतबाट अनुमोदित हुनुपर्छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















