कोरोनाको प्रभाव : ढिकीजाँतो र हाते मुसलको आवाज गुञ्जिन थाल्यो
दुल्लु,३० जेठ– नारायण नगरपालिका २ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो ढिकीको हो भन्ने थाहा थियो बाँकी कसैलाई पत्तो थिएन । उहाँहरु बाहेकलाई काम नलाग्ने ढुङ्गा नै लाग्थ्यो । आजभोलि त्यो काम नलाग्ने ढुङ्गा नै घरको भान्सा तयार गर्ने पीठो, चामल र दाल तयार गर्ने मेसिन भएको छ ।
आजभोलि प्रत्येक दिन पिसानी कुटानीमा प्रयोगमा आएको छ । जीर्ण बनिसकेको ओखललाई पुनर्निर्माण गरी ढिकीमा परिणत गरी कुटानी पिसानी गर्न थालिएको छ । आफ्नो पालाको ढिकी फेरि छोराले बनाएर कुट्ने पिस्ने काममा ल्याउँदा उहाँका बुबा ९० वर्षीय भीमबहादुर थापा पनि हर्षित हुनुहुन्छ । आफू तत्कालीन समयमा भारतीय सेनामा कार्यरत भएको पहिलो छुट्टीमा आउँदा २०३० सालमा ढिकी घरमा हालेको सम्झना गर्नुहुन्छ ।
उहाँ धेरै वर्ष यो ढिकीमै कुट्ने पिस्ने गरियो यी सबै केटाकेटी नै त्यही ढिकीको भात र रोटी खाएर हुर्केको बताउनुहुन्छ । २०४३ सालमा पानी मिल र घट्ट पनि बन्यो अनि बल्ल त्यहाँ जान थालेको उहाँको अनुभव छ । २०५२ सालमा गाउँमै टुकटुके मिल बनेपछि यो ढिकीको प्रयोग हुन छोड्यो छोराबुहारीलाई नि सजिलो भयो सबै मिलमा जान थाले त्यसपछि यो ढिकी भत्केको हो यो ओखलमात्र थियो फेरि पुरानै ढिकी ठडियो । उहाँले भन्नुभयो, “आफ्ना त हातखुट्टा आउँदैन अहिले सबै मिलमा जान्छन् तर यो कोरोनाले फेरि ढिकी घरमा छोराले बनायो, अब यी सबै रोगभोग हेर्दा पुरानै जमाना आउन लागेको छ । ”
विसं २०५२ मा ढलेको ढिकी थापाको आगनमा फेरि जस्ताको उस्तै बनेको छ । अहिले प्रत्येक दिन थापाको घरमा ढिकीको आवाज सुनिन्छ त्यसैको कुटानी पिसानीबाट भान्सा तयार हुन्छ । भुलिसकेको ढिकीजाँतो फेरि कोरोनाले बनाएर कुट्ने पिस्ने बनाएको जगत थापाले बताउनुभयो । गाउँका मिल सबै बन्द छन् त्यसमा नि कोरोना सर्ला भन्ने डर अहिले आफूलाई न कुट्ने पिस्नेको चिन्ता न कोरोना सर्ने डर घरमा सबै मिलेर काम गर्दा सहज अनि मिलमा जाने पैसाको नि बचत भाको उहाँको भनाइ छ । अहिले उहाँको मात्र होइन प्रायः जीर्ण र भत्काइसकेका ढिकीजाँतो र हाते मुसल घरघरमा निर्माण गरिएका छन् ।
भैरबी–३ का सर्बराज थापाको घरमा पनि अहिले जाँतो र ढिकी छ । उहाँ अहिले कुटानी पिसानी ढिकीजाँतोबाटै गर्ने गरेको बताउनुहुन्छ । मिलमा पिसेको– कुटेकोभन्दा स्वाद पनि मीठो भएको र त्यहाँ जाने पैसा नि बचत भएको अनि मिलबाट रोग सर्ने खतरा पनि आफूहरुलाई नभएको उहाँले जानकारी दिनुभयो । आजभोलि गाउँघरमा बिहानबेलुकी ढिकीजाँतोको आवाज आउन थालेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारी बताउनुहुन्छ । आधुनिक मिल र पानीघट्टले लोभ नै हुन थालेका यी हाम्रा परम्परागत कुटानी–पिसानीका साधन कोरोनाका कारण मिल बन्द हुँदा पुन निर्माण अनि पुनः प्रयोगमा आएकामा आफू खुशी भएको उहाँको भनाइ छ ।
“हाम्रो मौलिकता हराइसकेको थियो भने अग्र्यानिक खाना खान छोड्दा अनेकौँ रोगको सिकार नि भएका थियाँै । कम्तीमा आत्मनिर्भर र अग्र्यानिक खाना त खान पाउने भए अर्को नयाँ पुस्ताका लागि यी सामग्रीका बारेमा बुझ्ने मौका मिल्यो । ” उहाँले भन्नुभयो । आधुनिक मिल र पानीघट्टको प्रयोगले लोभ हुनै थालिसकेको ढिकीजाँतो र हाते मुसलको पुनः प्रयोग हुन थालेको छ । कोरोनाका कारण प्रशासनले लगाएको निषेधाज्ञा र आफूलाई नि कोरोना सर्ने डरले सञ्चालकहरुले मिल र घट्ट बन्द गरिदिँदा ढिकीजाँतो र हाते मुसलको प्रयोग गर्नेको सङ्ख्या बढेको हो । अहिले अधिकांश गाउँमा कुटानी–पिसानी कार्यमा यी पुराना साधनको प्रयोग हुन थालेको हो ।
मिल र पानीघट्ट सञ्चालकले बन्द गर्दा यी पुराना परम्परागत साधनको पुनर्निर्माण र पुनः प्रयोग गर्न बाध्य भएको स्थानीयवासीले बताउनुहुन्छ । लकडाउनदेखि आफूले मिल बन्द गरेको थापा कुटानी–पिसानीका सञ्चालक हस्तबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब त गाउँमा कोरोनाको जोखिम छ भन्ने सुनिन्छ कति त मिलमा आउँछन् । आफैँले नचलाउने भनी फर्काउने गरेको छु । ” पैसाको लोभले मिलमा आएकाबाट कोरोना गाउँमा फैलिने हुँदा आफूले सबैलाई बरु ढिकीजाँतोबाटै कुटानी–पिसानी गर्न सल्लाह दिएको उहाँ बताउनुभयो । अहिले गाउँमा सबैले ढिकीजाँतो प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।
लोप नै भइसकेका ढिकीजाँतो र हाते मुसल पुनः प्रयोगमा आउँदा अग्र्यानिक खाना पनि खान पाउने परम्परागत संस्कृति पनि जोगिने अवसर आएको शिक्षक पार्वती पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थीलाई ढिकीजाँतोका बारेमा पढाउँदा के हो यो कस्तो हुन्छ भन्ने प्रश्न गर्थे अब उनीहरुका लागि नि प्रयोगात्मक शिक्षा हुने उहाँको तर्क छ ।
अहिले सबै गाउँमा ढिकीजाँतोको र हाते मुसलको आवाज फेरि गुञ्जिन थालेका छन् । गाउँहरु पुरानै मौलिकता फर्किएको भान भएको रमेश खड्का बताउनुहुन्छ । करीब २० वर्षपछि पहिलेकै गाउँमा बसेको अनुभव भएको पुरानो गाउँको कुनै अनुभव हुन्थेन सबै आधुनिक जीवनशैलीको रहनसहनमा थिए । बल्ल ढिकीजाँतोको आवाजले उस्तै अनुभव भएको उहाँले बताउनुभयो । रासस
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
























