मिर्गौला दोस्रो प्रत्यारोपणको एक वर्ष ः सक्रियताले चिकित्सक चकित


दिनेश गौतम÷ सुरेन्द्र काफ्ले
काठमाडौं,२१ फागुन– ‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन । त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न । भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔं । म पुनः आग्रह गर्छु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क हुनुहोस् ।’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिनुभएको थियो ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय ओली झन् सक्रिय देखिनुभएको छ । स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउनुभएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन् ।
सामान्यतयाः मानिसको शरीरमा एउटा वा दुईवटा मिर्गौला हुन्छ । तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन् । ती मिर्गौलामध्ये एउटा मिर्गौलाले मज्जासँग काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उहाँ सक्रिय हुनुहुन्छ । रोग र राजनीतिक संघर्ष झेल्दै आउनुभएका उहाँ फुर्तिलो देखिनुहुन्छ ।
एक वर्षअघि आजकै दिन (फागुन २१) उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । उहाँको शरीरमा गरिएको यो दोस्रो प्रत्यारोपण हो । त्यसको १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि ओलीले नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।
मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति हुनुहन्थ्यो । ‘उहाँको अनुहारमा कान्ति फर्किएको छ । मनोबल उच्च देखिन्छ । ऊर्जा झन् बढेको छ’, मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्नुहुन्छ, ‘उहाँको स्वस्थता देखेर सन्तुष्ट छु । उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ ।’
नियमित औषधि सेवन, सामान्य व्यायाम दिनहुँ गर्ने र स्वस्थकर खानपानमा ध्यान दिएका कारण सक्रिय जीवन बिताउन सफल भएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह बताउनुहुन्छ ।
२०३२ सालतिर जेलमा पर्दा उहाँ अल्सरले थलिनुभएको थियो । ४ फागुन २०७६ मा गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभएको थियो, ‘मेरो पेट चार पटक चिरिएको छ । केही अंग काटिएको, फालिएको र फेरिएको छ ।’
रोेगसँग लड्दै आएका उहाँलाई प्रत्यारोपण गर्नुअघि अचानक एपेन्डिसाइटिस फुट्यो । त्यो शरीरमा फैलिएको थियो । उहाँ भेन्टिलेटरमा हुनुहन्थ्यो । चिकित्सकहरूका अनुसार उहाँ बल्लबल्ल बाँचनुभएको थियो । ‘एपेन्डिसाइटिस फुटेर गरिएको शल्यक्रिया रिकभर भएलगत्तै मिर्गौला प्रत्यारोपण गर्नुपर्यो । विभिन्न खालका स्वास्थ्य चुनौती झेलेर आउनुभएको छ’, प्राडा शर्माले भन्नुभयो, ‘मिर्गौला प्रत्यारोपणका लागि विदेश जान सक्नुहुन्थ्यो । तर, हामी (नेपाली चिकित्सक र स्वदेशको अस्पताल) माथि विश्वास गरेर शिक्षण अस्पतालमा प्रत्यारोपण गर्नुभयो । स्वास्थ्यकर्मीलाई उत्साहित गराउनुभयो । स्वदेशमै प्रत्यारोपण गरेर उदाहरण प्रस्तुत गर्नुभयो ।’
सानोतिनो स्वास्थ्य समस्या आउनेबित्तिकै विदेश कुदिहाल्ने प्रवृत्ति रहेकामा प्रधानमन्त्री ओलीले स्वदेशमै प्रत्यारोपण गर्दा सकारात्मक सन्देश प्रवाह भएको डा. शर्माले बताउनुभयो ।
दैनिक गतिविधि नियालिरहेकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा शाह भन्नुहुन्छ, ‘बिहानपख सामान्य हिँडडुल गर्नुहुन्छ । मिर्गौला प्रत्यारोपणपछि उहाँको स्वास्थ्य अवस्था ठीक छ ।’ प्रत्यारोपित मिर्गौलाका लागि उहाँले नियमित औषधि सेवन गर्नुहुन्छ । त्यसले राम्रोसँग काम गरिरहेको र कुनै संक्रमण नभएको प्राडा शर्मा बताउनुहुन्छ ।

मिर्गौला फेल हुँदा रक्तचापको समस्या देखापर्ने चिकित्सकहरू बताउँछन् । ओलीलाई अहिले उच्च रक्तचाप (ब्लड प्रेसर) को समस्यासमेत नरहेको डा. शाहले जानकारी दिनुभयो । ‘अहिले रक्तचापको औषधि पनि सेवन गर्नुपरेको छैन’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न छाड्दै गएपछि दुई विकल्प मात्र बाँकी थिए । डायलाइसिस वा प्रत्यारोपण । ‘डायलाइसिसले विकार वस्तुलाई मात्र बाहिर निकाल्छ’, डा. शाहले भन्नुभयो, ‘प्रत्यारोपणमा प्राकृतिक मिर्गौला नै राखिने भएकाले काम गर्न सहज हुन्छ । मिर्गौलाले शरीरको विकार तत्व फाल्ने मात्र होइन । रगत बनाउने काम पनि गर्छ । रातो रक्तकणहरू बनाउन पनि मद्दत गर्छ ।’
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शाहले सुझाव दिँदै भन्नुभयो, ‘सतर्कता अपनाउनुपर्छ । आराम पनि गर्नुपर्छ ।’
सक्रियता झन् बढ्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले महिनाअघि खेदो खन्नेलाई पेल्ने गरी भन्नुभएको थियो, ‘मिर्गौला प्रत्यारोपणपछि मेरा त जुँगा पनि काला हुँदै गएका छन् ।’ अर्थात्, आशय थियो, ‘थला पर्छ भन्ने सोच्नुभएको छ भने, नसोच्नुस् ।’
बाह्र वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले क्रमशः काम गर्न छाड्दै थियो । स्वास्थ्यमा घच्याकघुचुक समस्या बढिरहेको थियो । त्यही अनुपातमा ओली प्रथम अध्यक्ष रहेको नेकपामा कचरपचर बढ्दो थियो ।
दलभित्र राजनीतिक घेराबन्दीमा पारिएकै बेला ठीक एक वर्षअघि अर्थात् ०७६ फागुन २१ गते प्रधानमन्त्री ओलीले स्वदेशमै हिम्मतसाथ मिर्गौलाको दोस्रो पत्यारोपण गराउनुभयो । नेपालमै दोस्रो प्रत्यारोपण हुनेमा धेरैलाई विश्वास थिएन । तर, प्रधानमन्त्रीले स्वदेशी अस्पताल र नेपाली डाक्टरमाथि ठूलो भरोसा गर्नुभएको थियो ।
‘अरू बिरामीलाई डाक्टरले मनोबल बढाउन काउन्सिलिङ गर्नुपर्छ’, प्रत्यारोपण टोलीमा सरिक एक चिकित्सक सम्झन्छन्, ‘प्रधानमन्त्रीज्यू त हामी डाक्टरलाई पो नडराउनुहोस्, मलाई केही हुँदैन भनेर काउन्सिलिङ गर्नुहुन्थ्यो ।’
प्रत्यारोपणसँगै उहाँको स्वास्थ्य अवस्थामा अद्भूत परिवर्तन भयो । राजनीतिमा सक्रिय हुन सक्नुहुन्न भन्ने आम सोच उल्टो सावित भयो । उहाँको राजनीतिक सक्रियता मात्र बढेन, धपेडीसमेत बढ्यो । उहाँको स्वास्थ्य अवस्थामा आएको परिवर्तनसँगै देशको राजनीतिक कोर्समा समेत प्रभाव पर्यो ।
त्यसो त एमालेको अघिल्लो महाधिवेशनताका उहाँ केही शिथिल र गलनुभएको थियो । ‘बिरामीलाई अध्यक्ष बनाउन हुँदैन’ भन्ने प्रचारबाजी निकै भयो । त्यही अवस्थामा ओलीले अध्यक्ष जित्नुभयो । त्यसपछि उहाँकै नेतृत्वमा स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र कांग्रेस मिल्दा पनि एमाले पहिलो पार्टी भएको थियो । संसदीय निर्वाचनमा भने माओवादी केन्द्रसँग सहकार्य र पछि एकीकरणसमेत भयो । ओलीको नेतृत्वमा करिब दुई तिहाइको सरकार बन्यो ।
बिरामी छु भनेर ओली कहिल्यै झोक्राउनुभएन । बरु झन् सक्रियता बढाउँदै लानुभयो । दोस्रो मिर्गौला प्रत्यारोपणसँगै सुगौली सन्धिको २ सय ४ वर्षमा पहिलो पटक लिम्पियाधुरासहितको नक्सा जारी भयो । यसमा सबै राजनीतिक दल, आम नागरिकको अद्भूतपूर्ण ऐक्यबद्धता रह्यो । यही कारण भारतसँग संवादहीनताको अवस्था आयो । पार्टीमा उहाँको राजीनामा मागियो । दुवै विषयको ओलीले कडा मुकाबिला गर्नुभयो ।
दोस्रो मिर्गौला प्रत्यारोपणले उहाँलाई थप ऊर्जा प्रदान गर्यो । उहाँको सक्रियता र प्रभाव बढ्न थालेपछि आलोचना उत्तिकै हुन थाल्यो । पार्टीमा उहाँविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले आरोपपत्र ल्याउनुभयो । ओली यति शक्तिशाली भएर अघि बढ्नुभयो कि, कतिपयले तानाशाही बनेको आरोप लगाए । पार्टीमा खिचातानी बढ्दै गएपछि पुस ५ मा उहाँले संसद् भंग गर्नुभयो । त्यसपछि पार्टीका दुवै खेमाबीच राजनीतिक शक्ति प्रदर्शनको होड चल्यो । ओली देश दौडाहामा दैनिकजसो निस्किनुभयो ।
पछिल्लो दुई महिना उहाँको सक्रियता स्वस्थ व्यक्तिको भन्दा बढी देखिएको छ । पूर्वाधार, पुल, सडक, औद्योगिक क्षेत्रको उद्घाटन, शिलान्यासमा पनि ओली आफैँ पुग्नुभएको छ । उहाँको देश दौहाडा अहिले भ्याइनभ्याइ छ । उहाँले आराम गरेको पटक्कै देखिँदैन ।
यसबीच उहाँको स्वास्थ्य अवस्थामा कुनै समस्या आएको सुनिएको छैन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरिदिए पनि अलिकति पनि कमजोर प्रस्तुति गरेको देखिएको छैन । आत्मविश्वासकै कारण ओली रोगलाई जितेर यति धेरै क्रियाशील भएको पाइन्छ ।
त्यसमाथि अर्को ऐतिहासिक काम भएको छ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दललाई शान्ति प्रक्रियामा ल्याई मूलधारमा समाहित गराउने । बिरामी छु भनेर बसेको भए यी कुनै सम्भव हुँदैन थिए । स्रोत अन्नपूर्ण पोष्ट

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal