राजनीतिमा युवा नेतृत्व खै ?
भुवन न्यौपाने
काठमाडौं, ११ माघ–दूरदर्शी युवा नेतृत्वले समग्र नागरिकको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन सक्छ ।
राजनीतिक परिदृश्यमा देखिएको पछिल्लो अवस्था र प्रतिनिधिसभाको विघटनपश्चात् फेरि नेपालमा राजनीतिक अस्थिरता देखिएको छ। लामो संघर्षबाट प्राप्त संविधान र त्यसले व्यवस्था गरेका उपलब्धि जोगाउन र आगामी दिनमा विधिको शासन सञ्चालनमा धेरै समस्या आउन सक्ने संकेत देखिन्छ। संविधानले व्यवस्था गरेको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरे पनि शासन पद्धति र शासकको नागरिकप्रति दायित्वबोध र जवाफदेहिता कम देखिएको परिस्थितिमा आजका युवाहरूको चाहनाबमोजिमको नेतृत्व राजनीतिक वृत्तमा कहिले आउँछ भन्ने सान्दर्भिक जनचासो हो।
युवाहरू युग परिवर्तनका संवाहक हुन्। सक्षम युवाको नेतृत्व र सहभागिताले सकारात्मक रूपान्तरण र दिगो विकासतर्फका गुणात्मक संकेत देखिन्छ। युवाले उद्यमशीलता, आर्थिक–सामाजिक रूपान्तरण, दिगो विकास र सुशासनसहितको भ्रष्टाचाररहित सभ्य सुसंस्कृत समाज निर्माण गर्न हरेक पक्षमा सक्षम युवाको भूमिका महत्त्वपूर्ण छ। बेलाबेलामा भएका आन्दोलनमा युवा नेतृत्व र सहभागिताले प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्रसम्मको व्यापक परिवर्तन आएका बारेमा व्यापक छलफल र बहस पनि हुन्छन्।
नेपालमा पनि विकास र योजना निर्माणमा युवालक्षित धेरै कार्यक्रम र योजना पनि क्रमिक रूपमा बढिरहेका छन्। तर नेपालको राजनीतिक नेतृत्वमा युवाहरूको पहुँच भने नगण्य रूपमै छ। नेपालको पछिल्लो जनसंख्याको तथ्यांकअनुसार देशको ७० प्रतिशतभन्दा धेरै जनसंख्या ४० वर्षभन्दा कम उमेर समूहमा पर्छ। देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपले समुन्नत र समृद्ध बनाउन योभन्दा राम्रो अवसर के पो होला र रु यो अवसर पूरा गर्न राजनीतिमा युवा नेतृत्व भए अन्य क्षेत्रमा जस्तै राजनीतिक अवस्थामा पनि सकारात्मक परिवर्तन हुनेछ भन्ने आमविश्वास छ।
पछिल्लो राजनीतिक परिवेशले सिर्जना गरेको सत्तारूढ नेकपामा देखिएको आरोप–प्रत्यारोप र प्रमुख प्रतिपक्षी दलहरूको महाधिवेशन र आगामी नेतृत्वको चर्चा चलिरहेका बेला नेतृत्वमा पुस्तान्तरणका लागि हरेक कोणबाट बहस पनि सुरु भएका छन्। आज हुँदै गरेका यस्ता बहस पूरा हुन सके भने युवाले प्राप्त गरेका जिम्मेवारीलाई मुलुकको आमूल रूपान्तरणमा प्रयोग गरी अवश्य सार्थकता दिनेछन्। समग्र क्षेत्रको आमूल परिवर्तनमा राजनीति र युवाको महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि नेपालको राजनीतिमा युवा नेतृत्व खै रु यो आजको सर्वाधिक चासो र खोजनीय विषय बनेको छ।
राजनीति र युवा नेतृत्व
लोकतान्त्रिक व्यवस्थासहितको राजनीतिमा सत्तापक्षको नेतृत्व होस् अथवा प्रतिपक्षको सदैव समग्र राजनीतिक व्यवस्था र प्रक्रियालाई प्रभाव पारेकै हुन्छ। राजनीतिलगायत अन्य हरेक क्षेत्रमा कुशल नेतृत्व र उसले निर्माण गरेको समूहले नै समग्र पक्षहरूको रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ। राजनीतिले देशलाई कुन दिशातर्फ लैजाने, कसरी मुलुक र नागरिकको समग्र विकास र आर्थिक, सामाजिक रूपान्तरण हुन सक्छ भन्ने बहुआयामिक पक्षसँग प्रत्यक्ष सरोकार राखेको हुन्छ।
नागरिकमा खुसी, सुशासन कायम, कानुनी राज्य निर्माण र विधिको शासन सञ्चालन गर्न असल राजनीति र कुशल नेतृत्वका हातमा रहन्छ। समसामयिक यस्ता एजेन्डा आजका युवाका प्राथमिकतामा छन्। तिनलाई पूरा गर्ने जिम्मेवारी पनि युवाकै हातमा हुनुपर्छ। राजनीतिमा दूरदर्शी युवा नेतृत्वले समग्र नागरिकको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन प्रमुख भूमिका निर्वाह गर्न सक्छ।
समकालीन समयमा मानव विकासका अधिकांश विषयमा राजनीतिले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ। सिद्धान्त र व्यावहारिक रूपमै राजनीतिक सक्रियता, समय–सान्दर्भिक विज्ञता र नागरिकरसामाजिक सेवाको भावनाले चलेको पाइन्छ। तर नेपालमा प्रमुख राजनीतिक दलहरूमा सबैजसो नेतृत्व भने उमेरको उत्तरार्ध ९६०ं० भन्दा माथि उमेरको हुँदा ती पदको कार्यकौशल घट्दै गएको समय–सान्दर्भिक रूपमा विकसित हुन नसकेका धेरै कारण राजनीतिक परिदृश्यमा नकारात्मक संकेत देखिएका प्रशस्त उदाहरण पनि छन्।
उत्तरार्धको प्रभाव
नेपालमा सक्रिय राजनीतिक दलका नेतृत्वमा अधिकांश नेतागण आफ्नो उमेरको उत्तरार्धमा हुनुहुन्छ। अझै पनि नेतृत्वको होडबाजीमा राजनीतिक दलभित्र गुट–उपगुट बनाउने र नेतृत्व हस्तान्तरणमा अनेच्छा देखाएर युवाको भविष्यलाई थप अस्थिरतातिर धकेल्दै हुनुहुन्छ। नेतृत्व र जीवनको उत्तरार्धको प्रभाव महामारी न्यूनीकरण, विकास निर्माण र सुशासन कायम गर्न नेतृत्वको ज्यादै कम सक्रियता देखिएको छ।
अग्रज राजनीतिक नेतृत्वले सिकेका र आर्जन गरेका अनुभव र विज्ञता युवामा हस्तान्तरण गरी दिगो आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि बेलैमा सकारात्मक उत्प्रेरणासहितको पहल गर्ने उपयुत्त समय आएको छ।
पछिल्लो समय जापानका पूर्वप्रधानमन्त्री सिन्जु आबे नागरिकप्रतिको इमानदारी र उत्तरदायित्व राजनीतिज्ञको उत्तम चरित्र देखाएको भन्दै विश्वभरका नेताहरूले प्रशंसा गरे। उमेरको उत्तरार्धको राजनीतिक पदीय जिम्मेवारीले सही निर्णय र कार्यान्वयनमा प्रभाव पार्छ भन्ने उनको राजीनामाको कारण थियो। तर नेपालमा भने यस्ता ज्वलन्त प्रभावका विषयमा भने कहींकतै पनि बहस हुँदैनन्। अहिलेको समस्या र महामारीका समयमा नेतृत्वको निष्क्रियताले नागरिकमा कस्तो असर परेको छ भन्ने विषय गौण नै छ।
कुनै दलमा सरकार सञ्चालन र पार्टी नेतृत्वको होडबाजी त कुनैमा महाधिवेशनबाट फेरि पनि नेतृत्व लिने रस्साकस्सी अझै पनि उनै रिटायर्ड लिडरको चल्दै आएको छ। तर पनि नयाँ सक्रिय पुस्तालाई नेतृत्व हस्तान्तरण गरी देशलाई अझै विकास, सुशासन र समृद्धितर्फ अगाडि बढाउन अहिलेका राजनीतिक नेतृत्वमा अनिच्छुकता किन देखिएको हो रु अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि उमेरको हदबन्दी जीवनको उत्तरार्धमा समेत यति जगडिएर रहनुको तात्पर्य के हुन सक्छ ?
युवामैत्री लहर
विश्वको पछिल्लो राजनीतिक परिदृश्य हेर्ने हो भने सन् २०१९ को अन्त्यतिर फिनल्यान्डको प्रधानमन्त्रीमा सबैभन्दा कान्छी सान्ना मरिन ३३ वर्षको उमेरमा पहिलो महिला र देशको छयालीसौं प्रधानमन्त्री भएर विश्व जगत्मै एउटा सकारात्मक ऊर्जा थपिन्। न्युजिल्यान्डमा ३९ वर्षको उमेरमा जेसिन्डा अर्डेनले दोस्रोपटक पनि प्रधानमन्त्री पद सम्हालेर देशलाई एउटा सुशासन, खुसी र सुरक्षित देशका रूपमा विश्वको पहिलो नम्बरमा ल्याउन सफल छन्। साउथ अफ्रिकाको संसद्मा आधाजसो प्रतिनिधि महिला निर्वाचित भए।
विश्वव्यापी रूपमा उदयमान भएको युवामैत्री लहरले नेपालमा पनि बेलाबेलामा वैकल्पिक शक्तिका रूपमा विभिन्न क्षेत्रका युवाहरूलाई एकताबद्ध गरिरहेको पछिल्ला केही उदाहरण पनि छन्। सुशासन र लोककल्याणकारी राज्य निर्माणका लागि साझा विवेकशीलजस्ता युवामैत्री नेतृत्व र सक्रिय युवाहरू पनि दैनिकजसो अनियमितताका बारेमा खबरदारी गरिरहेका छन्।
नेपालकै शीर्ष राजनीतिक दलहरूका युवाहरूमा पनि नेतृत्व गर्न सक्ने क्षमता भएका युवाहरू पनि सक्रिय नै छन्। अहिलेको प्रमुख राजनीतिक दलका भ्रातृ संगठनलगायत विभिन्न पदीय जिम्मेवारीमा रहेर आफ्नो कौशल देखाएका आशालाग्दा युवा नेतृत्व र उनीहरूका विज्ञ समूह पनि सक्रिय नै छन्। अन्य विभिन्न क्षेत्रमा समेत दक्ष, शिक्षित र अनुभवको विज्ञता हासिल गरेका युवा छन् र उनीहरूको राजनीतिमा आकर्षण बढ्दै गएको छ। आफ्नो युवा पुस्ताका लागि आफैं युवाले सभ्य र सुसंस्कृत राजनीतिक संस्कार सिकाउन उनीहरू नै बढी उद्यत् हुनुपर्छ र अग्रजले सही मार्गनिर्देश र उत्प्रेरणा सिर्जना गरिदिनुपर्ने दुवैको जिम्मेवारी होइन र ?
पुस्ता पुस्तान्तरण
नयाँ पुस्तालाई नेतृत्व पुस्तान्तरण गरी आफ्नो विज्ञता र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नुको सट्टा अझै पनि गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि लागिरहनु अग्रज र पाका नेतागणको क्रियाकलाप नागरिकलाई उचित लागिरहेको छैन। यो समय युवा पुस्ताको समय, अवसर र जिम्मेवारी हो भन्ने नारा सबैतिर सुनिन्छ तर ती भनाइ व्यावहारिक रूपमा लागू गरी आफ्नो भविष्य निर्माण गर्न उनीहरूलाई नै विश्वास र अवसर सिर्जना किन गरिँदैन ?
अर्कातर्फ, युवाहरू आफैंमा पनि परिपक्वता र नयाँ परिवेशको जस्तो रूपान्तरणको पनि उत्तिकै संकट देखिन्छ। युवा नेतृत्वका लागि राजनीति र समाजको पछिल्लो परिवेश र परिर्वतनलाई आत्मसात, मूल्यांकन र विज्ञता हासिल गर्नेतर्फ पनि अग्रसर हुनुपर्ने देखिन्छ। नागरिकले युवा पुस्ताबाट आशा गरेका विषयमा युवाको चरित्र र कार्यशैली नागरिकमैत्री हुन जरुरी पनि छ। परम्परावादी शैलीमा आएका पाका पुस्ताकै पछाडि परेर उनीहरूका सेवामा मात्र लागिपर्नु र नेतृत्वका आशा पनि गरिरहने द्वैध चरित्रले झन् बढी अस्थिरता सिर्जना गर्नेमा शंका छैन। त्यसैले नेतृत्व कसैले सहजरूपमा हस्तान्तरण गर्लाभन्दा पनि म कसरी नेतृत्व लिन योग्य छु भन्ने कौशल युवा जगत्ले देखाउनुपर्ला कि ?
विभिन्न समयमा आन्दोलनका अग्रणी मोर्चामा रहेर अनियमितता र नागरिक अधिकारको प्रत्याभूति गराउन, भ्रष्टाचाररहित समाज निर्माण, सदाचार र सुशासनका निमित्त युवा शक्ति निरन्तर लागिरहेको देखिन्छ। एउटा कुशल नेतृत्वको जिम्मेवारी र गुण भन्नु नै इमानदारपूर्वक आफ्नो जिम्मेवारी पूरा गरी समयसान्दर्भिक भावी पुस्ताको नेतृत्व सिर्जना गरी आगामी पुस्ताको भविष्यको मार्गनिर्देश गर्नु पनि हो।
यसर्थ अग्रज राजनीतिक नेतृत्वले आफ्नो जीवनकालमा सिकेका र आर्जन गरेका अनुभव र विज्ञता आफ्ना अनुजहरू युवासमक्ष हस्तान्तरण गरी दिगो आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि बेलैमा युवामा सकारात्मक उत्प्रेरणासहितको पहल गर्नु उपयुक्त समय हो। यस्तो कदमले भोलिका दिनमा केही सकारात्मक परिर्वतनसहितको दिगो जनमुखी कार्य, नीति निर्माण र कार्यान्वयनमा जनताका अपेक्षाहरूको सम्बोधन हुने देखिन्छ । स्रोत अन्नपूर्ण पोष्ट
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















