अन्तर्मनको आनन्दका लागि परोपकार

शम्भु अर्याल


अर्काको हित गर्नु, भलाई गर्नु, असक्त असाहाय, वृद्ध रोगिको हेरचाह र समाजको सेवा गर्नु परोपकार हो । हरेक काम आनन्दको लागि गरिन्छ । परोपकार हृदयको आनन्द हो । उपलब्धिमा अन्तरहृदय पुलकित हुन्छ । यो समुद्री छालजस्तो हृदयमै लहराउँछ, खिलखिलाउँछ । चङ्गाजस्तो हलुङ्गो हुन्छ जो मनुष्यभित्रको इश्वर हो । धरति, जल, आकाश र अन्तरिक्षमा उडिदिन्छ । कुरौटे कुरा उसको कानले सुन्दैन । धर्तीलाई परिवार मान्छ । छुद्र र सङ्कृर्ण हृदयबाट दुर रहन्छ र परोपकारमा उदार मस्तिष्कमात्र सफल रहन्छ । यो विनलादिन र हिटलर साम्राज्यलाई छि ! छि ! र दुर्दुर गर्छ । मदरटेरेसा र नेल्सन मण्डेलनाको समीप रहन्छ । अन्तर्मनको आनन्दका लागि परोपकार तिमी अन्तर्मनको बुद्ध बनीराख !


के मनुष्य हितमात्र परोपकार हो ? यसको शब्दकोष कत्रो हुन्छ ? लागिरहेको छ यो मनुष्यमात्रमा सङ्कृर्ण रहँदैन । खगोलका सम्पूर्ण जीवात्माको भलाइमा रमाउदै घातप्रतिघात, छलकपट, यातना, धोखाधज्जी, रमिता उसको शब्दकोषमा हुँदैन । नजरमा यसको जगत एक हो । जीवनको एकीकरणमा मान्छेलाई पशु हुनबाट बँचाउने मुलमन्त्र तिमी सँधै जपिराख । जसको हृदय द्रवित भई नै रहन्छ कन्दराको तप्केनी जस्तो । लोभलालचको क्षितिज ! कहिल्यै भेटाउन नसकुँ तिमीलाई । कदापि कठोर हुन सक्दैनौ तिमी । हृदयको मैन तिमी सेवा नै कर्म मान्छौ । सेवा नै धर्म मान्छौ । ममतालाई आफ्नो मर्म मान्छौ । ह्रास हुँदै गएको सद्भाव, दया र मायाममता तिम्रो जस्तै मन र मस्तिष्कले अलिकति भएपनि टिकिराखेको त छ यस धरतिमा ।
“मै खाउँ मै लाउँ सुखसयल या मोज म गरूँ” को कटु आलोचक बन्छ अन्तर्मनको आनन्दका लागि परोपकार । सहयोग र सद्भावनाको गरूङ्गो भारी बोक्दै हतारमा कुँदीरहन्छ । स्वयं भलो भन्दा स्वस्फूर्त अरूको भलाइको नाङ्लो बोक्दै अन्तरर्मनमा दौडिरहन्छौ तिमी । त्यही तिम्रो बिजय हो । के गरुङ्गोपना मात्र भारी हो ? अन्तर्मनको हलुङ्गोे आनन्द । यमनको पहाड बोक्दै सिमल भुवाजस्तो कोमल र हलुङ्गो मन लिएर सेवामा तलिन छ त ! मात्र काँध थाप । गरूङ्गो भारिमा हातमात्र कति हलुङ्गो हुन्छ थाहा छ तिमीलाई ? हातमा हात मिलाउनेहरूको कमी हुनेछैन तिमीलाई ।


वर्तमानमा रातदिन रूपैयाँले टोक्ने मौलाउँदै गईरहेको उपियाँ भक्तहरूको पनि अन्तर्मनले सेवा गरोस् । परोपकार उसको केन्द्र हो । धड्कन उसको मुटु हो । सञ्चार उसको रगत हो । स्वयंभलो र आर्जनमा मात्र जीवन देख्ने विस्वजन्य जटिल परिस्थितिबाट परोपकारी मन टढा रहन्छ । महात्मा गान्धीको यथार्थ तस्विर । तिमी भित्तामा सँधै मुर्त बनिराख । फ्लोरेन्स नाइटिङ्गेल तिमी बत्ती लिई नै राख । मजदुरले जस्तो पसिना बगाइ नै राख । ढाबिलो ढाबमा आँफु भासिन सकौला तर भासिएकाहरूको उद्धारकर्ता जिन्दगीभरिको एउटा पुर्णपाठ । तिमी पढिईरहने छौ । पढिनुपर्छ । लेखिईरहने नै छौ । लेखिनुपर्छ ।
मायाप्रणय र प्रेमको स्नेहले मनको रिक्तता भर्छ । सद्भावले अघाउछ । भोको बनिदिन्छ सेवाको खातिर । सेवा नै उसको भोक हो । सेवा नै उसको भोजन । भगवान उसको खोज हो । आयाम उसको ब्रह्माण्ड हो । प्रमाणित उसको ज्ञान । सेवा उसको श्वासप्रश्वास हो । सेवा नै उसको धड्कन र ज्ञान । परोपकारमै मन आनन्द बन्छ । दिर्घायुको दिर्घब्याम निरन्तर लागिरहनु । कपट, रिस द्वेष, छक्कापञ्जाबाट टाढा भागिदिन्छ । सेवालाई अमृत मान्छ, धोका र लोभको धज्जी उडाउँदै परोपकारले माझ्दै मनलाई हिउँजस्तै कञ्चन बनाउछ । विचारलाई आकासजस्तै विशाल बनाउँछ । कदलाई सगरमाथाजस्तै उँचो बनाउँछ ।
परोपकार मेरो जात तेरो जात, मेरो धर्म, तेरो धर्म, मेरो घर तेरो घर, तेरो देश मेरो देश जस्तो विभाजनको रेखा कहिल्यै कोर्दैन । उ आनन्द रहन्छ संपुर्ण जिवात्माको सेवाका खातिर । वृहत् अर्थ र परिभाषा खोज्दा सजिवमा मात्र होइन निर्जीव वस्तुमासमेत उसले प्रेमभाव राख्छ । प्रकृति प्रेममा समेत यसले अन्तर्दृष्टि राख्छ । प्रकृति विकासमा यसले दखल राख्छ । प्रकृति प्रेममा अन्तर्दृष्टि र प्रदुषणमा दुःखी हुनु उसको हृदयको स्वभाव हो । प्राकृतिक स्वच्छ विकासमा उ खिलखिलाउँछ । विनासमा उसको चित्त दुख्छ त्यसैले त आमा बेलाबखतमा तिमीले आफ्नो तराजुको सन्तुलन आफै गरिराख्छ्यौ ।
जसरी हरेक बस्तुमा सुन्दरता हुन्छ त्यसरी प्राकृतिक सुन्दरता अनुपम हुन्छ । कुरूप कुनै पदार्थ हुदैन । त्यो त केवल हेर्ने दृष्टिको भेद हो । नजरको अन्तर हो । हरेक वस्तु सुन्दर हुन्छ । पदार्थ धरतिकै उपज हो । पदार्थको उच्च कलात्मकता नै सबैभन्दा सुन्दर वस्तु हो । सुन्दर–कुरूप सजिवमा छन् । निर्जीवमा छन् । मनुष्यमा छ । जीवात्मा र प्रकृतिमा छ । तसर्थ यो कलाको उच्चतम साधनामा विश्वास राख्छ । मनुष्यमा यो दया, माया, प्रेम, सद्भाव र सहकार्य हो । प्रकृतिमा यो संरक्षण र उच्च कलात्मक विकास हो ।


जीवात्मामा उ प्रेमिल रहन्छ । किन्चित बुचर बन्न सक्दैन । कोमलता उसको पर्यवाची हो र यसैमा सगौरव विजय घोषणा गर्छ । हृदयको द्विप तिमी आँफु जल्छौ । अरुलाई प्रकाश छरिदिन्छौ । कति गार्हाे हुन्छ देख्न ? आँध्यारोमा प्रकाश दिन मैन पैला आँफु स्वयं जल्नुपर्छ । अन्तर्मनको आनन्दको लागि परोपकार । गहन छ । गम्भीर छ । मनभित्र रहेको मन नै अन्तर्मन हो । मन सबैको हुन्छ । परोपकारी मन तिमी कहिल्यै निष्ठुर हुनसक्दैनौ । क्रुर हुनसक्दैनौ । सेवा तिम्रो आनन्द हो । कलुषित मन अर्काको यातना, दुःख, टस, ठेस, इष्र्या औडाहा र कपटले प्रेरित हुन्छ । परोपकारी धोका को सट्टा सहयोग । परत्वको सट्टा अपनत्व बेइमानको सट्टा इमान, उसको शुत्र हुन्छ । सम्पूर्ण जगतको सेवा र परोपकारमै परमआनन्द मान्छ ।
मन आनन्द पार्न मनुष्य अनेक तरिकाको अनुसरण गर्छन् । मान्छे हरेक गतिबिधि मनले गर्छ र आनन्दकै लागि गरिन्छ । होला अन्तर्मनको आनन्दका लागि कोही मर्निङ वाक गर्लान् । कोही साहित्यसृजना गर्दै होलान् । पढाउँदै होलान् गुरूहरू, पढ्दै होलान् विद्यार्थीहरू, खेल्दै होलान् केटाकेटीहरू, कमाउँदै होलान् व्यापारीहरू । चीन कृतिम चन्द्रमा बनाउँदैछ । युएई आईसबर्ग प्रोजेक्टमा काम गर्दैछ । सृष्टिका गतिविधि सुविधाको लागि गरिएता पनि सुविधा आनन्द प्राप्तिका लागि हो । के अर्थोपार्जन मात्र आनन्द हो ? के घुम्नु मात्र आनन्द हो ? के घुम्नु मात्रले हृदय पुलकित हुनसक्छ ? स्वयंभलो र व्यक्तिगत लाभमामात्र आनन्द देख्ने हृदय पनि संसारमा प्रशस्तै देखिन्छन् । तर फरक अन्तर्मनको आनन्दकालागि गरिने परोपकार सामाजिक यथार्थमा समाहित छ । उ आनन्दले गदगद त हुन्छ नै तर उ केवल परिवारभित्र मात्र सिमित रहँदैन । बनिदिन्छ समाजको स्तम्भ । सिङ्गो देशको उचाइलाई आरोहण गर्दै संसारमै फैलीईदिन्छ । बगिदिन्छ जसरी बग्छ खोला, जसरी बहन्छ हावा, फैलिन्छ बादल । उसको शरीर लोप होला जगतबाट उसको नाम कालजयी रहिरहने निश्चित छ । उसको मुहार नचिन्ला दुनियाले उसको नाम कण्ठस्थ रहन्छ । दुनियाँको होष्टेहैसेमा उ छायाँ होला । होलान् प्रतिस्पर्धामा ओझेल । अनुकृति खलनायकहरू । निर्णयमा उ सँधै नायक बनिदिन्छ र बसिदिन्छ दीन दुःखीहरूको मनमुटुमा । परोपकारी मन ब्रह्माण्डको तारो बनिदिन्छ आयतन अरुले नै नापीदिन्छन् । सूक्ष्म बनिदिन्छ अरूका खातीर अरू नै उसको आँखो बनिदिन्छन् । वर्तमानमा उ सङ्कीर्ण रहला भविष्यमा उसको आयतन अवश्य विशाल रहन्छ । विद्यार्थीका लागि उ खोज हो त विज्ञका लागि ज्ञान । मृत्युपर्यन्त पनि उ चीर रहिरहन्छ । यो सृष्टिको अनन्तसम्म कालजयी रहिरहनेछ । आम मान्छेहरू एक जीवन बाँच्छन् त परोपकारी अजम्बरी जीवन बाँच्छ ।
के सन्तती जन्माउनु मात्र उर्वरता हो ? वर्तमानमा उसको कदर नहोला तर पक्का–पक्का दिवङ्गगत पश्चात परोपकारी मन पूर्वीय दर्शनको श्रीकृष्ण हो त पश्चिमी दर्शनको सुकरात जो स्वयंमा अर्जुनदृष्टि राख्छ । वर्तमानमा उसलाई हेमलक नै किन पिउन नपरोस् भविष्यमा ऊ शाश्वत सत्य हो । वर्तमानमा उ बोक्रा होला भविष्यको अग्राख हो ।

यसो प्रकृति नियाल्छु । फूल फूलिरहेको छ । मूल फुटिरहेको छ । खोला बगिरहेको छ । अनाज पाकीरहेको छ । घाम उदाउँछ । अस्ताउँछ । समुद्र लहरिइरहेको छ । हिमाल चम्किइरहेको छ । दिन हुन्छ । रात हुन्छ । सृष्टि माटोमै हुन्छ । विसर्जन माटोमै हुन्छ । लाग्छ यी प्रकृतिका कृयाकलापहरू परोपकार कै लागि चलिरहेको छ । सोच्छु यस प्रकृतिको सबैभन्दा चेतनशील प्राणी मान्छे पनि प्रकृतिकै देन हो । यसै प्रकृतिका गुण मान्छेमा निहित छ । अमृत माटोमै छ । बिष माटोमै छ । एकै ठाउँमा उम्रिएको अम्बा टर्रो हुन्छ । अमिलो चुक हुन्छ । मेवा गुलियो छ । करेला तितो छ । यहीँ श्रीखण्ड छ । यहीँ छ काउछो पनि । यस्तैयस्तै गुण समाहित छन् प्रकृतिको सन्तति मान्छेमा पनि । परोपकारी मन श्रीखण्ड हो त निष्ठुर निर्दयी मन काउछो हो । परोपकारी मन अमृत हो त निष्ठुर मन बिष हो ।
मान्छेहरू सुखः खोज्दाखोज्दै विलासितामा विलिन हुनपुग्छन् । सोँचिरहन्छु आज बिकासको चरम युगमा चिन्तन गर्दा–गर्दा मान्छे–मान्छे बिचको सौहार्दता ह्रास हुँदै गइरहेको त छैन ? कैयौँ मान्छेले गर्नुपर्ने काम रोबोटले गर्छ । सोफिया भाषण गर्छे । सोफिया मान्छे चिन्छे । सोफिया प्रतिउत्तर दिन्छे । भोलिका दिनमा हिड्ने बाटाहरूमा रोबोट र मान्छे आआफ्नो काममा सँगसगै हिँड्लान् ।

अनुसन्धानको लागि मान्छेले सोच्नैनपर्ने होला । कुनै सिस्टमले नै अनुसन्धान गर्ला । गर्नुपर्ने काम रोबोटले गर्ला । भेट्नुपर्ने मान्छे फेसबुकले भेटाईदिन्छ । मान्छेले गर्नुपर्ने कामहरू मसिनले गरिरहेको बेला हामी विकासको रफ्तारमा दौडिरहँदा उद्देश्य के लिनु परोपकार ?


मान्छेको चाहना एउटा पुरा हुननपाउँदै अर्को जन्मिइहाल्छ । यसरी नै चाहनाको पछाडि भाग्दाभाग्दै मान्छेको इहलीला समाप्त हुन्छ । यस धर्तीमा मनुष्यको रूपमा जन्मिएपछि मनुष्यको सार्थकता र मृत्युपर्यन्त पनि उसको केही न केही किर्ति रहीरहोस् । जसले सोँच्छ उसको सदा रहोस साधना अन्तर्मनको आनन्दका लागि परोपकार । परोपकारी मनुष्यको उद्येश्य परोपकार, लक्ष्य परोपकार, दैनिकी परोपकार, मनमुटु सोँच परोपकार, उ परोपकारमै रमाउँछ । परोपकारमै आनन्द रहन्छ सुख परोपकारमै खोज्छ । सम्झिन्छु लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताको उद्धरण । “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाइ अरुलाइ दिनु छ ।”

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal