वालिङ नगरपालिका द्वारा वैकल्पिक सिकाईका लागि निशुल्क सिमकार्ड वितरण


वालिङ,१३ साउन– वालिङ नगरपालिकाले वैकल्पिक सिकाईका लागि निशुल्क सिमकार्ड वितरण गरेको छ । नगरपालिकाले वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरेको हो ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिका भीत्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी ७ हजार ५सय जनालाई नेपाल टेलिकम तथा एनसेलले ईन्टरनेट प्याकेजसहितको सिमकार्ड निशुल्क उपलब्ध गराएको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । “विश्वब्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ को कारण विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन हुने स्थिति रहेन” शाखा प्रमुख सापकोटाले भन्नुभयो, “सबै विद्यार्थीको पहुँचमा ईन्टरनेटको सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षक सिकाई क्रियाकलाप प्रभावकारी हुन नसकेकाले टेलिकम र एनसेलको सहयोगमा ईन्टरनेट प्याकेजसहितको सिमकार्ड निशुल्क उपलब्ध गराएका हौं ।

नगरभित्रका १४ वटा वडाका ७२ सामुदायिक विद्यालयहरुका ४ सय ५० जना शिक्षकसहित ७ हजार ५सय विद्यार्थीलाई उनीहरुको ठाउँमा जुन÷जुन कम्पनीको सेवा राम्रो छ सोही अनुसारका सिम उपलब्ध गराईएको शाखा प्रमुख सापकोटाले बताउनुभयो । सामुदायिकतर्फ ५६ वटा आधारभूत विद्यालय र १६ वटा माध्यमिक विद्यालय रहेको वालिङ नगरभित्र ५ हजार नेपाल टेलिकमका सिमकार्ड र २ हजार ५सय एनसेलका सिमकार्ड निशुल्क वितरण गरिएको हो ।
नेपाल टेलिकमको सिमकार्डमा ईन्टरनेट प्याकेजका लागि रु. ३ सय २१ र एनसेलको सिमकार्डमा रु. ३ सय १० ले एकमहिनासम्म ईन्टरनेट चलाउन सकिने छ । त्यसपछि शिक्षक÷विद्यार्थी आँफैले रिचार्ज गर्नुपर्ने छ । “वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै वालिङ नगरपालिकाले सञ्चालन गरेको यो अभियान पहिलो र नयाँ हो” शाखा प्रमुख सापकोटाले भन्नुभयो, “सबै विद्यार्थी तथा शिक्षकको हात हातमा ईन्टरनेटको प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुने विश्वास लिएका छौं ।”

नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकहरुलाई आईसिटीमा आधारित आधारभूत शिक्षण विधिलाई सहयोग पुग्नेगरी अनलाइनसम्बन्धी ज्ञान दिईसकिएको सूचना प्रविधि शाखाका प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले बताउनुभयो । १६ वटा माध्यमिक विद्यालयहरुमा कम्प्युटर, प्रिन्टरहरु वितरण गरिएको छ भने ईन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरी ईन्टरनेटको सेवा विस्तार गरिएको अर्यालले बताउनुभयो । कोभिड १९ को महामारीका कारण प्रभावित बनेको शिक्षण सिकाई क्रियाकलापलाई ब्यवस्थित, प्रभावकारी र उपयोगी बनाउनका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउनुहुन्छ ।

ईन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाई प्रभावकारी हुन नसकिरहेको भन्ने गुनासो आईरहँदा यसको समाधानका लागि ईन्टरनेट प्याकेजसहितको सिमकार्ड वितरण गरिएको प्रमुख प्रशासकीय भट्टराईले बताउनुभयो । “सिमकार्डको प्रयोग भए नभएको साथै पठन पाठन भए नभएको निरन्तररुपमा अनुगमन तथा मूल्यांकन गरिने ब्यवस्था मिलाईएको छ” उहाँले भन्नुभयो, “राज्यले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल आउने गरी र वालिङलाई स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढाउन लाग्नुपर्ने बेला आएको छ ।”

स्मार्ट सिटी घोषणा भई कार्यान्वयनका क्रममा रहेकाले शिक्षाका क्षेत्रमा निर्धारण गरिएका लक्ष्य भेटाउनका लागि आईसिटीको विशेष टिम बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ । कोभिडको महामारीका समयमा विद्यार्थीमाझ पुग्न कठिन भईरहेका बेला यो विधि महत्वपूर्ण र उपयोगी हुने जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगालेले बताउनुभयो । वैकल्पिक सिकाईका लागि गरिएको लगानीको सही सदुपयोग गरी सार्थकता हासिल गर्नतर्फ लाग्नुपर्नेमा उहाँको जोड थियो ।

कोभिड १९ का कारण भौतिकरुपमा विद्यालयमा उपस्थित हुन सक्ने अवस्था नभएकाले वैकल्पिक सिकाई क्रियाकलापका लागि नेपाल टेलिकम र एनसेलको सहयोगमा निशुल्क सिमकार्डको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । वैकल्पिक कक्षा सञ्चालनका क्रममा आउन सक्ने संभावित अप्ठयाराहरुलाई सम्बोधन गर्दै विभिन्न विकल्पहरुको खोजी गर्ने क्रममा यो विधि अपनाईएको उहाँको भनाई थियो । शिक्षासँगै बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभई लगानी भएको र यसले भोलिका दिनमा उपलब्धी देखिंदै जाने उहाँको भनाई थियो । “नगरभित्रका माध्यमिक विद्यालयहरुमा ईन्टरनेटको पहुँच पुगेको छ” उहाँले भन्नुभयो, “अब आधारभूत तहका विद्यालयमा पनि ईन्टरनेटको पहुँच विस्तारका लागि सम्झौता भई काम भईरहेको छ ।” नगरभित्रका १४ वटै वडाका ३ सय १० वटा गाउँहरुमा ईन्टरनेटको पहुँच विस्तार गर्नका लागि सेवा प्रदायकहरुसँग सम्झौता भई काम अगाडि बढीसकेको नगर प्रमुख खाँणले बताउनुभयो ।

गाउँ गाउँमा ईन्टरनेटको सहज पहुँच नपुग्दासम्मका लागि शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्डको ब्यवस्था मिलाईएको नगर प्रमुख खाँणको भनाई थियो । नगरभित्रका सबै विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापमा आधुनिक प्रविधिहरुको प्रयोग गर्ने तरिका तथा विधिहरुकाबारेमा यसअघि ज्ञान दिईसकिएको नगर प्रमुख खाँणले बताउनुभयो । “नगरभित्रका सबै विद्यालयबाट प्रतिनिधिकोरुपमा दुई जनालाई तालीम दिईएको र उहाँहरुले आ–आफ्नो विद्यालयमा अन्य शिक्षकहरुलाई सिकाउनुहुने छ” प्रमुख खाँणले भन्नुभयो, “शिक्षकहरुको क्षमता विकास तथा आवश्यक सामग्रीहरु (ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, ईन्टरनेट) को ब्यवस्था मिलाउने र त्यसको प्रयोगमा जोड दिंदै नगरलाई आईसिटीकोरुपमा विकास गर्दै लगिने छ ।”

माध्यमिक तहका १६ विद्यालयलाई कम्युटर, ल्यापटप, स्क्यानर, प्रिन्टर उपलब्ध गराईसकेको छ भने आधारभूत तहका ५६ विद्यालयमध्ये पहिलो चरणमा २४ वटा विद्यालयलाई कम्युटर र प्रिन्टर उपलब्ध गराएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को शिक्षा क्षेत्रको स्वीकृत कार्यक्रम तथा बजेट अन्तर्गत विद्यालयमा कम्प्युटर तथा अनलाइन सफ्टवेयर ब्यवस्थापनका लागि रु. बीस लाख विनियोजन गरेको थियो । बाँकी रहेका ३२ वटा विद्यालयलाई यही साउन महिनाभित्रै टेण्डर गरी उपलब्ध गराउने तयारी भएको नगरपालिकाले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal