प्रदीप ज्ञवालीसँग अन्तर्वार्ताः पाँच पूर्वप्रधानमन्त्रीमध्ये केहीले खुफिया बाटो भएर कुनै देशसँग कागज गर्नुभएको छ

निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको कार्यकालमा भारत चीन दुवैसँगको सम्बन्धमा सन्तुलन आएको दाबी गर्दै आए नेपाल भारतबीचको सम्बन्ध राजनीतिक तबरमा विस्तार भइरहेका बखत गत वर्ष कात्तिकमा भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग बालुवाटारमा वार्ता गरेका थिए यसले भारतसँगको राजनीतिक स्तरकाे सम्बन्ध बनाउने काेसिसलाई असर गर्यो वा गरेन के नेपाल इन्डोप्यासिफिक रणनीति बीआरआईको स्याडो बक्सिङमा परेको हो ? राजनीतिक विषयहरू हाल धमाधम अदालतमार्फत छिनोफानो हुन थालका छन्, दलहरू आन्तरिक किचलोसमेत व्यवस्थापन गर्न नसक्ने गरी कमजोर भएका हुन् ? ज्ञवाली एमाले मिलाउन हुने गरेका घनीभूत संवादमा पनि सक्रिय छन्  एमालेको एकीकृत भविष्य कस्तो अवस्थामा सम्भव , कार्यक्रमघुम्ने मेचमाथि‘ शिलापत्रका प्रधान सम्पादक बसन्त बस्नेतले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंश :

राजनीतिक मुद्दा सबै अदालततर्फ केन्द्रित छन् राजनीतिक दलहरू आफैँले आन्तरिक विवाद समाधान गर्न नसकेको हो ?

– राजनीतिक मुद्दाको निरुपण राजनीतिक दल र जनताबाट हुनुपर्छ । उनीहरूका गतिविधि ठीक वा बेठीक भन्ने फैसला जनताले गर्ने हो । दलहरू संवैधानिक परिधिभन्दा बाहिर गए वा राजनीतिक दलसम्बन्धी कानुनको दायराभित्र बसेनन् भने मात्रै यस्ता विषयमा अदालत प्रवेश गर्नु जायज हुन्छ । राजनीतिमा अदालत वा अदालतमा राजनीतिक हस्तक्षेप दुवै स्वीकार्य हुँदैन । अहिले परिस्थिति कस्तो पैदा भयो भने को अल्पमत को बहुमतमा छ, महाधिवेशन आयोजक कमिटी बनाउन पाइन्छ कि पाइँदैन भन्ने विषय पनि अदालत प्रवेश गरिरहेको छ । यसले गम्भीर स्थितिको संकेत गर्छ । यस्ता विषयमा अदालत सक्रिय हुन थाल्यो भने उसको सर्वस्वीकार्यतामा ह्रास आउँछ ।

यो मोडमा राजनीति प्रवेश गर्नुमा तपाईँहरूचाहिँ कत्तिको कारक हुनुहुन्छ ?

– यसले लामै विश्लेषणको माग गर्ला । पहिलो प्रतिनिधिसभा विघटनपछि यो परिस्थितिको सिर्जना भएको हो । प्रतिनिधिसभा विघटनको राजनीतिक मुद्दा सर्वोच्चमा प्रवेश गर्‍यो । अदालतले ११ फागुनमा पुनर्स्थापनाको फैसला सुनायो । त्यसलाई हामीले सहर्ष स्वीकार गर्यौं । पुनर्स्थापित प्रतिनिधिसभाबाट समाधानका जे अपेक्षा थिए, ती पूरा हुन सकेनन् । प्रधानमन्त्रीले जनताको जनादेशअनुसार काम गर्न नसकेको भन्दै प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । उहाँले जनादेश प्राप्त भए फेरि सरकार चलाउने नभए प्रतिपक्षीमा बस्ने मनसायका साथ चुनावको मिति तोक्नुभएको थियो । राजनीतिमा जनताको सर्वोपरितालाई कमजोर बनाउँदै  अन्य दलहरूले सत्तामा जान जनादेश होइन, अरु नै खुट्किलो खोज्दा यो अवस्था आउनु स्वाभाविक हो । 

सत्तामा टिकिरहन तपाईंहरूले पो राष्ट्रपति अन्य संवैधानिक निकायलाई प्रयोग गर्नुभयो भन्ने आरोप ?

– प्रतिनिधिसभा विघटनका विपक्षमा अन्य दलले गरेका तर्कहरूलाई म सम्मान नै गर्छु । तर, उहाँहरूले लगाउनुभएको यो आरोपमा मेरो सहमति छैन । तथ्यहरूले पनि त्यसलाई प्रमाणित गर्दैनन् । प्रतिनिधिसभा एउटा जनादेशसहित स्थापित भएको थियो । सरकार पनि त्यही जनादेशअनुसार चल्नुपर्ने थियो । प्रधानमन्त्रीले जनादेशअनुसार सरकार चल्न नसकेको निष्कर्षमा पुगेर सदन विघटन गर्ने राजनीतिक निर्णय लिनुभयो । सदनलाई विपक्षीहरूले फरक अभीष्टका साथ चलाउन खोज्नुभयो । प्रतिनिधिसभा अप्ठ्यारोमा परेपछि उहाँले विघटन गर्नुभयो । त्यो निर्णय ठीक थियो वा बेठीक थियो भन्ने कुरा त जनतामाझ परीक्षण हुनुपर्थ्यो । साथीहरूले प्रधानमन्त्रीलाई सत्ताका लागि संवैधानिक संस्थाको दुरुपयोग गरेको आरोप लगाउनुभयो । जनताले अनुमोदन गरे सरकार चलाउने, नभए प्रतिपक्षमै बस्ने प्रधानमन्त्रीको अभिप्राय सत्तामै रहनका लागि थियो र ?

पहिलो संसद् विघटन सर्वोच्चले नै असंवैधानिक भनेको थियो दोस्रो पटक फेरि विघटन गर्नुपर्ने परिस्थिति किन आइपर्यो ?

– पहिलो पटक प्रतिनिधिसभाको निर्णयलाई सर्वोच्चले बदर गर्‍यो । २३ फागुनदेखि ८ जेठसम्म प्रतिनिधिसभालाई अकर्मण्य बनाउने काम दलहरूबाटै भयो । प्रतिनिधिसभाले न त प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्यो, न सरकार नै बनाउन सक्यो । यो अवस्थामा पुगिसकेपछि विघटनको निर्णय बाध्यात्मक हो ।

संविधानको धारा ७६ को अनुसार सरकार बनाउनका निम्ति तपाईंहरूले बहुमत परीक्षण गर्नै दिनुभएन भन्ने आरोप नि ?

– यो गुनासो निराधार छ । के हाम्रो संविधानले निर्दलीय व्यवस्थाको कल्पना गरेको छ र ? हाम्रो संविधानको प्रस्तावनामै बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र भनिएको छ । हाम्रा सांसदहरू दलले ह्वीप जारी नगरेको अवस्थामा मात्रै स्वतन्त्र हुनुहन्छ । बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रमा दलको विधि, अनुशासन र नीतिलाई मान्न सबै तयार हुनुपर्छ । हाम्रो चिन्ता के हो भने संवैधानिक प्रावधानको अपव्याख्या गरेर साथीहरूले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्दै हुनुहुन्छ । यो अभ्यासले एउटा सरकारलाई मात्रै होइन, समग्र प्रणालीलाई नै असर पुर्‍याउँछ । अर्को कुरा, प्रधानमन्त्रीको दाबीमा शेरबहादुर देउवाले तीनवटा पार्टीको दलीय समर्थन पाउनुभएको छ भने अरु दलका सांसदहरूका हस्ताक्षर अनधिकृत ढंगले बुझाउनुभएको छ । बहुदलका लागि तीनवटा क्रान्ति गरेको पार्टीको यस्तो क्रियाकलाप सुहाउँदिलो छ त ? यसकै लागि लड्नुभएको हो र उहाँहरू ?

मोदीको सन्देश लिएर गोयल्स प्रधानमन्त्री ओलीलाई भेट्न आउनुभयो कूटनीतिमा यस्ता कुरा जाजय नै हुन्छन् नाकाबन्दीका बेलामा वार्ताका लागि नेपालको तर्फबाट सेनाको उपस्थिति थियो राजनीतिक तबरमा हुनुपर्ने छलफलमा सेनाको उपस्थिति किन भन्दै भारतले प्रश्न उठायो ?

७६(५) (२) को  सरकार गठनका लागि दलीय समर्थन होइन, सांसदहरूको व्यक्तिगत समर्थन आवश्यक हुन्छ भन्ने उहाँहरूको तर्क छ । यसमा बुझ्नुपर्ने कुरा के हो भने ७६ (५) को प्रक्रियाअनुसार सकार गठन हुँदा प्रतिनिधिसभाको कुनै पनि सदस्यले दाबी गर्न पाउँछ । तर, समर्थन भने दलले नै गर्ने हो । विपक्षीको तर्कलाई मान्ने हो भने ७० वर्षदेखि लडेर ल्याएको बहुदलीय प्रणाली समाप्त हुन्छ । अहिले उहाँहरूको तर्क वैध ठहर भएमा एमालेको सरकार संकटमा पर्ला, भोलि उहाँहरूप्रति पनि यस्तै संकट आउन सक्छ । क्षणिक राजनीतिक स्वार्थका निम्ति राजनीतिक प्रणालीको जग नै भत्काउने काम नगरौँ ।

माधव नेपाल समूहमा रहेका तपाईंकै कतिपय सहकर्मी तथा सांसदहरूको पनि यस तर्कमा समर्थन उहाँहरूलाई कसरी सम्झाउँदै हुनुहुन्छ ?

– नेपालको पछिल्लो राजनीतिक पस्थितिले मलाई निराश मात्रै बनाउँछ । २०५० को दशकमा हामीले यस्तै विकृति देखेका थियौँ । यस्तै विकृतिले माओवादीले हिंसाको बाटो रोज्यो । राजतन्त्र निरंकुश बन्यो । संसदीय राजनीतिका विकृत क्रियाकलापले उग्रबामपन्थी र उग्रदक्षिणपन्थीलाई सघाउ पुर्‍यायो । अहिले त्योभन्दा पनि विकराल परिस्थिति बन्दै छ । एमालेका निर्वाचित अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने कदमलाई उहाँहरूले लोकतन्त्रको रक्षाको कदम भने पनि उहाँहरूको गतिविधि निर्दलीयतालाई प्रश्रय दिने किसिमको छ । 

उहाँहरूले अध्यक्ष ओलीको अत्याचार सहन नसकेपछि अस्तित्वका लागि चालिएको कदम भन्नुभएको नि ?

– विपक्षी दलको हातमा सत्ता सुम्पिने र चुनावसम्म गठबन्धन कायम गर्ने कुरा जायज होइन । पार्टीभित्र देखा परेका अन्तरविरोधको समाधान पार्टीभित्रैबाट गर्नुपर्छ । विद्रोहको नाममा बहुदलीय व्यवस्था मास्ने कदमलाई स्वीकार गर्न सकिँदैन । विपक्षी दलको हातमा सत्ता सुम्पिने र चुनावसम्म गठबन्धन गर्ने कुरामा कुनै प्रगति देखिँदैन । माछा देखे प्वालभित्र हात, सर्प देखे प्वालबाहिर हात, यो खालको अवसरवाद जायज हुँदैन । 

अन्तरविरोध समाधानका लागि कार्यदलमा पनि छलफल गर्दै हुनुहन्छ, के प्रगति भइरहेको ?

– एमालेको एकता चाहने साथीहरूबीच हाल संवाद भइरहेको छ । एमालेको विभाजनले पार्टीसँग मात्रै सरोकार राख्दैन,  नेपालको प्रजातान्त्रिम प्रणालीको रक्षाका निम्ति लडेका एमाले र कांग्रेस कमजोर हुँदा हाम्रा उपलब्धिसमेत धरापमा पर्न सक्छन् । त्यसैले पार्टीलाई कमजोर हुन नदिऊँ भन्ने मत पार्टीभित्र बलियो बन्दै गइरहेको छ । एकताकै निम्ति अध्यक्ष ओलीले २ जेठ २०७५ को अवस्थामा फर्किन तयार रहेको र कारबाहीसमेत फुकुवा गर्ने प्रस्ताव अघि सार्नुभएको छ । अध्यक्ष ओलीको अपिलको प्रत्युत्तर पनि हेर्नुभएकै होला । उहाँहरूको गतिविधि कस्तो रह्यो भने पहिला हात्ती मगाउने अनि थैली सिउन लगाउने, थैली सिलाएपछि हात्तीलाई थैलीभित्र हालिदेऊ भन्ने यो त कसरी सम्भव होला र ? अध्यक्षको प्रस्तावले पार्टीको अन्तरविरोधलाई घरभित्र ल्याएको छ । घरभित्रै रहेर अन्तरविरोध समाधानका निम्ति उहाँहरू तयार हुनुपर्छ ।

तपाईंले राजनीतिक दलहरूको हातबाट बाहिर जाने स्थितिको संकेत गर्नुभएको थियो, राजनीतिलाई दलहरूकै पकडमा राख्ने उपायचाहिँ के हो ?

– राजनीतिक संवैधानिक अंगको विषय बन्यो भने आफ्नो कमाण्ड गुमाउँछ । राजनीतिलाई आफ्नो कमाण्डमा फर्काउने बाटो भनेको ताजा जनादेश हो । हामीले त्यही भएर जनतामा जाने निर्णय गरेका हौँ । अहिले प्रत्यक्षतर्फ २३ सिट प्राप्त कांग्रेसको नेत्तृत्वमा हाल सरकार गठनको प्रयास भइरहेको छ । संसदीय अंकगणित र संसदीय लोकतन्त्रमा जसले बहुमत पुर्‍याउँछ, उसले सरकारको नेतृत्व गर्नु जायजै होला । तर के अहिलेको जनादेश त्यो थियो त । हामीले गल्ती गरेको अवस्थामा जनताले हामीलाई दण्डित गर्थे होलान्  । जनतामा जाने बाटो किन थुन्ने ?

विपक्षीको सरकार गठनको अभ्यासचाहिँ जायज नहुने, अनि बारम्बार संसद् विघटन गर्ने व्यक्ति सत्तामा रहिरहनुपर्ने हो ?

– प्रधानमन्त्रीले म पदमा अब बस्दिनँ, वैकल्पिक सरकार गठन गर्नुस् भनेर अवसर दिनुभएको होइन र ? सरकार गठनका विधि प्रक्रिया पूरा गरेर सत्तामा आउने ढोका त खुला छ त । अर्को सरकार नबनेसम्म लथालिङ्ग अवस्थामा छोडेर हिँड्ने कुरा त होइन होला । साथीहरूले प्रतिसोधलाई यो तहसम्म ल्याउनुभएन । कांग्रेस र एमालेले एकअर्कालाई सिध्याउन राप्रपालाई च्याप्दा मुलुकको प्रणालीले धेरै मूल्य चुकाउनुपर्‍यो । हाम्रो प्रतिशोधका कारणले प्रणालीलाई धक्का नपुगोस् ।

राजनीतिको फैसला अब कुनकुन ढोकाबाट कुर्नुपर्ला ?

– अदालत र न्यायमूर्तिप्रति मेरो सदैव सम्मान छ । तर, म के भन्न चाहन्छु भने अदालतलाई राजनीतिक विषयको भार परिरहेको छ । यसले उसको पवित्रतामा समेत प्रश्न उठाउँछ । केही कुराबाट अदालतले आफूलाई पृथक् नै राख्नुपर्छ । संवैधानिक इजलास गठनमा चर्को स्वरले प्रश्न उठाउँदा न्यायाधीश नै फेरिने नरम स्वरले प्रश्न गर्दा कारबाहीको धम्की दिने अवस्था देखियो ।

अदालतले न्याय दिन्छ, यसमा दुई मत नै छैन । न्याय दिएर मात्रै होला त ? न्याय पाएको अनुभूति पनि त हुनुपर्ला नि । राजनीतिलाई संवैधानिक संस्थाले गाइड गर्न नदिऔँ । पार्टीको समस्या महाधिवेशनबाट र सरकारको समस्या निर्वाचनबाट गरौँ । स–साना कुरामा अदालत गुहार्नुपर्नेै अवस्था आयो भने प्रणाली बलियो हुँदैन ।

तपाईं निवर्तमान पराष्ट्रमन्त्री भारत चीनसँगको सम्बन्धमा प्रस्टतामा लागेको दाबी गर्नुभएको त्यस्तो के काम गर्नुभयो ?

– दुवै छिमेकी मुलुकसँगको सम्बन्धमा उल्लेखनीय सुधार आएको छ । भारतसँगको सम्बन्धमा इतिहासले बोकाएको केही भारीलाई बिसाउन जरुरी छ । तर, दुई मुलुकबीचको सम्बन्ध राजनीतिक तबरमा लानु एउटा उपलब्धि हो । चीनसँगको सम्बन्धमा बीआरआईका परियोजना चयन हुनु अर्को उपलब्धि हो ।  

भारतीय गुप्तचर प्रमुख सामन्त गाेयलसँग बालुवाटारमा भएको गुप्त बैठकपछि राजनीतिको लाइन कट अफ भएन ?

– २०२० को मेमा नयाँ नक्सा प्रकाशित गर्दै संविधान संशोधनमार्फत निसान छापमा राखेपछि नेपाल र भारतबीच संवादहीनताको अवस्था बन्यो । त्यसलाई तोड्न जरुरी भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर उहाँ प्रधानमन्त्री ओलीलाई भेट्न आउनुभयो । कूटनीतिमा यस्ता कुरा जाजय नै हुन्छन् । नाकाबन्दीको समयमा वार्ताका लागि नेपालको तर्फबाट सेनाको उपस्थिति थियो । भारतले राजनीतिक तबरमा हुनुपर्ने छलफलमा सेनाको उपस्थिति किन भन्दै प्रश्न उठायो र ?

के नेपाल बीआरआई इन्डोप्यासिफिक रणनीतिको स्याडो बक्सिङमा परेको हो ?

– यो प्रश्नप्रति म सहमत छैन । यस्तो विषयमा तथ्यमा टिप्पणी गर्दा जायज होला । मंगोलियाले बीआरआई र एमसीसी दुवै परियोजनामा हस्ताक्षर गरेको छ ।  यसले के उसको राष्ट्रियतामा असर पुर्‍याएको छ त ? हामीलाई आर्थिक सहायता चाहिने हो वा होइन भन्ने विषयमा बहस गरौँ । हामीले त पूर्ववत् सरकारले हस्ताक्षर गरेको हुनाले नेपालको तर्फबाट त्यो परियोजना अघि बढाउन खोजेका हौँ ।

विद्रोहको नाममा बहुदलीय व्यवस्था मास्ने कदमलाई स्वीकार गर्न सकिँदैन विपक्षी दलको हातमा सत्ता सुम्पिने चुनावसम्म गठबन्धन गर्ने कुरामा कुनै प्रगति देखिँदैन माछा देखे प्वालभित्र हातसर्प देखे प्वालबाहिर हात, यो खालको अवसरवाद जायज हुँदैन

अमेरिका र चीनबीचको प्रतिस्पर्धा संसारभर छ । यो प्रतिस्पर्धाबाट नेपालले आफ्नो हितका लागि सहायता लिने हो । राष्ट्रिय हितविपरीतको सहायता प्रतिस्पर्धामा नभएका मुलुकबाट पनि लिनुहुँदैन । यो सहायता लिने वा नलिने भन्ने विषयमा सार्वभौम संसदले निर्णय गर्नुपर्छ भनेर हामीले प्रस्ताव सदनमा समेत लग्यौँ । यसको पक्ष वा विपक्षमा मतदानका लागि सांसदहरू स्वतन्त्र हुनेसमेत भन्यौँ । तर, सभामुखले त्यसलाई अघि बढाउनुभएन । आफ्नो आन्तरिक राजनीतिको सिकार यस्ता विषयलाई बनाउने हो भने मुलुकले अन्तर्राष्ट्रिय जगत्‌मा विश्वसनीयता गुमाउँछ ।

पाँच पूर्वप्रधानमन्त्रीले नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको भन्दै विज्ञप्ति निकाल्नुपर्ने परिस्थिति किन आयो, यो विज्ञप्तिप्रति तपाईंको भनाइ के ?

– पाँच पूर्वप्रधानमन्त्रीमध्ये केहीले खुफिया बाटो भएर कुनै एक देशसँग उसको स्वार्थमा असर पुग्ने गतिविधि नगर्ने भनेर कागज गर्नुभएको छ । उहाँहरूमध्ये एकले कम्फर्टेबल सरकारको कुरा पनि गर्नुभएको होइन र ? नेपालको आन्तरिक राजनीतिक मामिलामा अमुक देश किन चुप भनेर विज्ञप्ति पनि निकाल्नुभएको होइन र ? विदेशी हस्तक्षेपको कुरा आफूअनुकूल नगरौँ । सत्तामा आउने आफ्नो प्रयासमा केही बाधा पुग्नेबित्तिकै विदेशी हस्तक्षेप भन्दै कुनै पनि देशलाई विवादमा तान्ने काम अनुचित छ । यस्ता गतिविधि कसैले गर्नु हुँदैन ।

पुनर्गठित मन्त्रिपरिषद्का अनुहारहरूप्रति धेरै टिप्पणी भएका छन् तपाईंको धारणा के ?

– म मन्त्रिपरिषद्बाट स्वेच्छाले नै बिदा भएको हुँ । पार्टीको काममा सक्रिय हुनका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेरै बाहिरिएको हुँ । क्याबिनेट कस्तो बनाउने भन्ने विषय प्रधानमन्त्रीको अधिकार हो । मेरै विषयमा पनि विद्वान्‌हरूले ८ कक्षा पास गरेको परराष्ट्रमन्त्री भनेर टिप्पणी गर्नुभयो । मैले परीक्षित हुने मौका पाएँ । कसैको अनुहार मन नपर्दैमा निकृष्ट टिप्पणी गर्नुहुँदैन । उहाँहरूलाई परीक्षण गर्ने मौका दिनुपर्छ ।

तपाईंहरूको पार्टीको अन्तरविरोध कसरी हल हुन्छ त ? – अध्यक्ष ओलीले घरभित्रैबाट अन्तरविरोध समाधानका निम्ति अपिल गरिसक्नुभएको छ । अब मंसिरमा महाधिवेशन गरेर सबै कुरा समाधान गर्छौं । साथीहरूले यसमा पनि असहमति राख्नुभयो भने त अलग हुने सुविधा छँदै छ नि  । स्रोतः शिलापत्र

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal